प्रदेश १ : एमाले, कांग्रेस र माओवादीबाट ३५ जनाको एकल नाम सिफारिस 

BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम सिफारिस गरेका छन्।

२८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा एमाले, कांग्रेस, माओवादीले २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरिसकेका छन्। प्रदेश १ बाट २२१ जना उम्मेदवार सिफारिस भएका छन्। तीमध्ये ३५ जनाको मात्र एकल नाम सिफारिस भएको छ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास चन्द्र नेम्वाङहित १४ जनाको एकल नाम सिफारिस गरेको छ। कांग्रेसले १० र माओवादीले ११ जनाको एकल नाम सिफारिस गरेको छ।

एमालेबाट को कहाँ सिफारिस?

एमालेले पार्टी अध्यक्ष केपी ओलीको झापा–५ बाट एकल नाम सिफारिस गरेको छ। ओली २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।

ओलीले ०७४ मा नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८८२ को फराकिलो मतान्तरले पराजित गरेका थिए। ओलीले ५७ हजार १३९ मत ल्याउँदा अधिकारीले २८ हजार २५७ मत मात्र ल्याएका थिए।

इलाम २ बाट सुवासचन्द्र नेम्वाङ र १ बाट महेश बस्नेतको एकल नाम सिफारसि भएको छ। २०५६ सालदेखि इलामबाट लगातार चुनाव जितेका एमाले उपाध्यक्ष नेम्वाङ इलाम २ बाट सर्वसम्मत सिफारिस भएका छन्।

नेम्वाङ दुई पटक राष्ट्रियसभाको अध्यक्ष र दुई पटक नै संविधानसभाको अध्यक्ष भइसकेका छन्। २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए। नेम्वाङले नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए। उनले ३६ हजार ५१७ मत ल्याउँदा थापाले २६ हजार ८६५ मत ल्याएका थिए।

इलाम–१ बाट महेश बस्नेतलाई उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गरेको छ। बस्नेत हाल एमालेको इलाम जिल्ला अध्यक्ष छन्।

मोरङ क्षेत्र नम्बर–३ बाट भानुभक्त ढकाललाई एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए।

मोरङ क्षेत्र नम्बर–६ बाट लालबाबु पण्डित, २ बाट ऋषिकेश पोखरेल र ४ बाट विनोद ढकालको एकल नाम सिफारिस गरेका छन्। पण्डित २०७४ मा विजयी संसद हुन् भने पोखरेल पराजित भएका थिए।

पाँचथरबाट एमालेले वसन्तकुमार नेम्वाङको एकल नाम सिफारिस गरेको छ। २०७४ को निर्वाचनमा नेम्वाङले ३८ हजार ६४२ मत पाएका थिए भने कांग्रेसका आङ्देम्वेले २८ हजार ५ मत ल्याएका थिए।

सुनसरी–३ बाट भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत सिफारिस भएकी छिन्। उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग झिनो मतको अन्तरले पराजित भएकी थिइन्। उनले ३८ हजार ६५१ मत प्राप्त गर्दा गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी बनेका थिए।

सुनसरी क्षेत्र नम्बर–१ बाट जयकुमार राईको नाम सर्वसम्मत सिफारिस भएको छ। उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। यस्तै सुनसरी क्षेत्र नम्बर–४ बाट जगदिश कुसियतको एकल नाम सिफारिस भएको छ। झापा–१ बाट रविन कोइराला, धनकुटाबाट राजेन्द्र कुमार राई र सोलुखुम्बुबाट मानवीर राई सिफारिस भएका छन्। 

कांग्रेसबाट को-को ?

प्रदेश १ मा नेपाली कांग्रेसबाट १० जना उम्मेदवारको एकल नाम सिफारिस भएको छ। कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्देम्वेसहित १० जना सिफारिस भएका हुन्।

विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला र देउमान थेबे झापाबाट सर्वसम्मत सिफारिस भएका छन्। शर्मा झापा १, सिटौला झापा ३ र थेबे झापा ४ बाट सिफारिस भएका छन्। तीनै जना २०७४ को निर्वाचनमा पराजित भएका थिए।

कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्वे पाचँथरबाट सिफारिस भएका छन्। पार्टीको १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा विजयी भएका आङ्देम्वे २०७४ को निर्वाचनमा पराजित भएका थिए।

धनकुटाबाट सुनिल थापाको एकल नाम सिफारिस हुँदा सोलुखुम्बुबाट आङ्गेलु शेर्पा र मोरङ-३ बाट सुनिल शर्मा सिफारिस भएका छन्।

उदयपुर १ बाट डा. नारायण खड्काको एकल नाम सिफारिस भएको छ। २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी संसद हुन्। खड्का हाल परराष्ट्रमन्त्री छन्।

यस्तै सुनसरीबाट दुई जनाको एकल नाम सिफारिस भएको छ। सुनसरी ३ बाट विजयकुमार गच्छदार र ४ बाट ज्ञानेन्द्रबहादुर कार्कीको नाम सिफारिस भएको हो। अघिल्लो निर्वाचनमा यी दुवै सोही क्षेत्रबाट निर्वाचित भएका थिए। कार्की हाल सूचना तथा सञ्चारमन्त्री छन्।

माओवादीबाट को-को ?

माओवादीबाट ११ जनाको एकल नाम सिफारिस भएको छ। माओवादी केन्द्रबाट पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो), झापा–१ बाट राम कार्की, झापा–२ बाट राजु आचार्य, झापा–४ बाट झलकसिंह दर्लामी, तेह्रथुमबाट इन्द्रबहादुर इम्सोङ लिम्बू, धनकुटाबाट हेमराज भण्डारी, मोरङ–१ बाट प्रेम मिभक लिम्बू, मोरङ–२ बाट गणेश उप्रेती सुशील, मोरङ–४ बाट अमनलाल मोदी, मोरङ–५ बाट शिवकुमार मण्डल र ओखलढुंगाबाट राम कार्कीको नाम एकल सिफारिस भएको छ।

प्रकाशित मिति: : 2022-09-13 15:22:00

प्रतिकृया दिनुहोस्