पाल्पा-१ को पहिचानका लागि मेरो उम्मेदवारी : स्वतन्त्र उम्मेदवार कंडेल

प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा स्वतन्त्रबाट उम्मेदवार घोषणा गरेका इन्जिनियर बिपिन कंडेलले याे क्षेत्रको पहिचानका लागि निर्वाचनमा होमिएको बताएका छन्।

बुधबार रामपुरमा पत्रकार भेटघाटमार्फत उम्मेदवारीको औपचारिक घोषणा एवं एजेण्डा सार्वजनिक गर्दै क्षेत्र नं. १ को पहिचान केन्द्रसम्म स्थापित गर्न स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेको बताएका हुन्।

आफू व्यक्ति नभइ सबैको प्रतिनिधि भएको बताउँदै उनले भने, 'पाल्पा भन्ने बित्तिकै तानसेन र पश्चिम क्षेत्रलाई मात्र चिन्ने गरेको पाइयो, जसका कारण हाम्रो रामपुर, मित्याललगायतका पूर्वी क्षेत्र ओझेलमै रह्यो। संसदबाटै यहाँका समस्या र सम्भावनालाई उजागर गरी पहिचान गराउने उम्मेदवारी दिएको हुँ।'

बेझाँड नहर अफिस बगैँचामा भएको भेटघाटमा कंडेलले स्थानीय स्थानीय स्तरका मुद्दाहरुमा पर्यकटीय सहरका रूपमा रहेको पोखरासंग जोडिने सडक स्तरोन्नति,यहाँको ऐतिहासिक तथा धार्मिक सम्पदाको उत्थान, मगर तथा विभिन्न जातजातिको संस्कृति संरक्षण गर्ने, पर्यटकीय सम्भावना बोकेका स्थलको विकास गर्ने, कालीगण्डकी सडकसंग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने योजना अघि सारेको बताए।

त्यस्तै सबै गाउँ बस्तीमा बिजुली पुर्याउने, शिक्षा, स्वास्थ्य क्षेत्रको उत्थान गर्ने, गाउँघरमा उत्पादन हुने कृषि उपजलाई अन्यत्र बजारमा पठाउनेलगायतका संविधानले प्रत्यभुत गरेको आधारभूत आवश्यकता परिपूर्तिका लागि अघि सर्नेलगायतका योजना सुनाएका छन्।

यस्तै गरी कालीगण्डकी ड्राइभर्सनको विरुद्ध आवाज उठाउनेलगायतका प्रतिवद्धता जनाए। बुवाआमालाई वृद्ध भत्ता दिएर छोराछोरीलाई विदेश पठाउनुपर्ने स्थिति सिर्जना भएको भन्दै त्यसको विरुद्ध अब जिम्मेवार युवाहरु राजनीतिमा आउनुको विकल्प नभएको बताए। त्यसकारण सक्षम र दुरदर्शी युवाबाट देशको नेतृत्व आवश्यक रहेको, कार्यदक्षतामा आधारित सरकारको नेतृत्व, विज्ञबाट राज्य सञ्चालन, नागरिकलाई आर्थिक रूपमा सम्पन्न बनाउन वित्तीय साक्षरतालाई राष्ट्रिय तहका मुद्दाका रुपमा अघि सारेका छन्।

कुनै पनि राजनैतिक दल नराम्रो नभए पनि दलका केही व्यक्तिले गर्ने कार्यशैलीले देशमा राजनैतिक दलप्रति वितृष्णा रहेकाले देश परिवर्तनको लागि स्वतन्त्र रूपमा आफूले उम्मेदवारी रहेको बताए।

माटर्स मेकानिकल इन्जिनियरअन्तर्गत इनर्जी सिष्टममा सकाएर हाईड्रो पावर कम्पनी, इन्जिनियर कन्सल्टेन्सी, कन्ट्रक्सन, रेष्टुरेन्ट सञ्चालन हुँदै हाल शेयर शिक्षा प्रदानमा सक्रिय रहेका कंडेलले नेपाली झण्डा मुनी बसेर अघि बढेको बताए।

३० वर्षीय कंडेलले समाजको परिवर्तनका लागि आफू राजनीतिमा आएको उल्लेख गर्दै निर्वाचनमा जिते पनि नजिते पनि यस क्षेत्रका विकास र समाज परिवर्तनको मुद्दामा सक्रिय भएर लाग्ने समेत प्रण गरे।

कार्यक्रममा स्याङ्जा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वातावरण विद् सागर ढकालले गाउँ र देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

उनले कालिगण्डकिको सभ्यता बचाउने, कालीगण्डकी नदी वारिपारिको रहनसहन सबै जोड्न र यहाँका मुद्दालाई राष्ट्रिय स्तरमा लैजान आफू उम्मेदवार बनेको बताए।

प्रकाशित मिति: : 2022-09-15 10:53:00

प्रतिकृया दिनुहोस्