फरक

अच्युत ढकाल

बेल्जियम

मात्र यति फरक छ तिमी र मबीचको
तिमी जन्मिदा तिम्रो घरमा खुसियाली 
छाएको थियो रमिता मनाएका थिए
म जन्मिँदा मेरी आमा अस्पतालमा 
ठाउँ नपाएर सुत्केरीमै देह उडेको 
शरीर जलेको थियो
यति फरक छ तिमी र मबीचको
तिमीलाई सबैले चिरञ्जीवी भएस् भनेर 
आशीर्वाद खुसीले दिइरहेका थिए
त्यतिबेलै म अबोधलाई सबैले आमा टोकुवाको 
उपमा दिँदै थिए।

यति फरक छ तिमी र मबीचको
तिम्रो नाम चिना पात्र हेरेर पण्डितले राखेका थिए  
मलाई दुनियाँले अनेकौं अशिस्ट नामले पुकार्थे
यति फरक छ तिमी र म बीचको
तिमी महलमा बसेर संसार हेर्थ्यौ
मेरो सडकको बास भयो 
अनि पापी पेट शान्त पार्नका 
लागि फोहोरका डङ्गुर चाहार्छु।
खातेको उपमा प्राप्त गर्दै।

यति फरक छ तिमी र मबीचको
तिम्रा लागि पढ्न उत्कृष्ट ए लेभलका स्कुल छन्
मेरो लागि पढ्न संसारभरि 
संयोगको लागि फोटो पठाइन्छ निशुल्क पढाइन याचना गरिन्छ 
यति फरक छ तिमी र मबीचको
तिमी संसार घुम्छौ सोखमा 
म हजार गाउँ डुल्छु जीवनयापनमा

यति फरक छ तिमी र मबीचको
तिमी मर्दा आँसु बगाउने धेरै छन् जलाउने 
आफ्ना छन् पशुपति आर्यघाट छ 
म मर्दा लावारिस हुन्छु
हामी एकै मानव हुँ र पनि 
यति धेरै फरक किन, यति धेरै विभेद किन
यति धेरै अन्याय किन मेरो प्रश्न छ 
हे भगवान एक चोटी हामीलाई 
समान गराइदिन सक्दैनौ? 
साच्चै तिमी भगवान हौ सबैबाट पुजिन्छौ 
म एउटा सबैबाट तिरस्कृत मान्छे हुँ त्यसैले त तिमीले पनि सुन्दैनौ
हो भगवान यति फरक छ तिमी र ममा पनि

प्रकाशित मिति: : 2022-09-17 12:09:00

प्रतिकृया दिनुहोस्