ताप्लेजुङमा योगेशको मुख ताक्दै पर्ख र हेरको स्थितिमा सत्ता गठबन्धन

योगेशले टिकट पाए माओवादीलाई दिने, नपाए कांग्रेसले लिने

प्रवेश बिष्ट

विराटनगर 
BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको प्रभावशाली नेताको क्षेत्रमा सत्ता गठबन्धन पर्ख र हेरको स्थितिमा छ। सत्ता गठबन्धनका दलले केही निर्वाचन क्षेत्रमा सम्भावित सिट बाँडफाँट टुंग्याएको छ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृह जिल्ला ताप्लेजुङमा कांग्रेस र माओवादीले एमालेको उम्मेदवार टुंगो लगाएपछि मात्र उम्मेदवा टुंग्याउने दाउमा छ।

२०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई फराकिलो मतले पराजित गर्दै विजय भएका योगेश भट्टराई यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्। उनलाई जिल्लाबाट उम्मेदवारमा सिफारिस गरिएको छ।

उम्मेदवार टुंगो लगाउने विषयमा एमालेको बेन्द्रमा सचिवालय बैठक बस्दै छ। बैठकपछि मात्र एमालेले उम्मेदवार टुंगो लगाउने एमालेका एक नेताले बताए।

एमालेले उम्मेदवारको टुंगो नलगाउँदा ताप्लेजुङमा गठबन्धन अलमतमा परेका छ। एमालेले उम्मेदवार टुंगो नलगाउँदा गठबन्धनका दल पनि कसले भाग लिने भन्ने दोधारमा छन्। एमालेको उम्मेदवार हेरेर मात्र आफूहरुले निर्णय गर्ने कांग्रेस स्रोतले बताएको छ।

ताप्लेजुङ एमालेको राम्रो पकड भएको जिल्ला हो। गत स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेको एमालेले सम्मानजनक मत ल्याएको थियो। स्थानीय तहमा वडाध्यक्षमा एमालेले २४ हजार २९५ मत ल्याएको छ। कांग्रेसले १८ हजार २८४ मत ल्याउँदा माओवादीले ४ हजार ४९७ नेकपा एकीकृत समाजवादीले १३०८ र जसपाले ९२३ मत ल्याएका छन्।

६१ वडा रहेको ताप्लेजुङमा एमाले एक्लैले २९ वडामा अध्यक्ष जितेको छ। कांग्रेसले १५, माओवादीले १०, नेकपा एसले २ वडामा वडाध्यक्ष जितेको छ। ताप्लेजुङमा स्वतन्त्रले ४ वडामा अध्यक्ष जितेको छ।

ताप्लेजुङमा एमालेबाट योगेशले टिकट नपाए मात्रै आफ्नो उम्मेदवारलाई टिकट दिने नेपाली कांग्रेसले सोच बनाएको छ। योगेशले पाएको खण्डका आफूले नलिएर माओवादीलाई टिकट दिने कांग्रेसको तयारी रहेको कांग्रेस निकट स्रोतले जनाएको छ।

जिल्लामा योगेशको राम्रो पकड भएकाले कांग्रेसले हराउन आफ्नो उम्मेदवार नउठाउने कांग्रेसका एक केन्द्रीय नेताले बताए। ‘योगेशले टिकट पाए जित्छन्। यो अवस्थामा कांग्रेसले हराउन आफ्नो उम्मेदवार उठाउँदैन,’ ती नेताले भने, ‘योगेशले टिकट पाए माओवादीलाई छाड्छौँ। यदि टिकट पाएनन् भने मात्रै आफ्नो उम्मेदवार खडा गछौँ।’

ताप्लेजुङ आफ्नो भागमा पर्नुपर्ने माओवादीको अडान छ। माओवादीका जिल्ला स्तरिय नेताहरु जुनै अवस्थामा भए पनि आफूहरूले टिकट पाउनुपर्ने ढिटमा देखिन्छन्।

गठबन्धनभित्रको खटपटले ताप्लेजुङमा एमालेलाई सहज हुने देखिन्छ। तर, निर्णय कांग्रेसको हातमा भएकाले ताप्लेजुङको सन्दर्भमा गठबनधन अहिले पर्ख र हेरको अवस्थामा रहेको छ।

काठमाडौँबाट चुनाव लड्दै आएका भट्टराई २०७४ को निर्वाचनमा ताप्लेजुङ आएका थिए। एमाले–माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका भट्टराईले कांग्रेसका केशव दाहाललाई फराकिलो मतान्तरले पराजित गरेका थिए। भट्टराईले दाहालको भन्दा १२ हजार ६०१ मत बढी ल्याएका थिए।

भट्टराईले २९ हजार ४७९ मत ल्याउँदा उनका प्रतिद्वन्दी कांग्रेसका दाहालले १६ हजार ८८८ मत मात्र प्राप्त गरेका थिए।

प्रकाशित मिति: : 2022-09-18 16:16:00

प्रतिकृया दिनुहोस्