मर्स्याङ्दीमा खादा प्रयाेगमा राेक, फूलकाे माला प्रयाेगमा जाेड

लमजुङकाे मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाकाे प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।

३ असाेजमा बसेकाे गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

स्थानीय उत्पादित बस्तु तथा सेवाकाे प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाभित्र खादाकाे प्रयाेगमा प्रतिबन्ध लगाईएकाे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए। तर, अति आवस्यक धार्मिक कार्यक्रममा भने प्रयाेगमा छुट दिईने उनले बताए।

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलकाे प्रयाेग गरि यसकाे बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जन बृद्वी र स्थानीय उत्पादनमा प्राेत्साहन गर्ने निर्णयसमेत गरेकाे छ।

पालिका अध्यक्ष गुरूङले असाेज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यन्वयन गर्न सराेकारवाला सबैमा अपिल गरेका छन्।

गाउँपालिकाकाे यस्ताे निर्णयले फूल ब्यवसायमा लागेका कृषकहरू खुसी भएका छन्। पालिकाकाे वडा नम्बर ९ स्थित भालमचाैर मृचे नमुना कृषि फार्ममा १० राेपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ राेपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएकाे छ।

साे फार्मका प्रवर्द्धक नवीनराज कुईकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेति गरिएकाे बताए।

गत वर्षबाट सुरू गरिएकाे फूल खेतिले राम्राे बजार लिएकाे र माग पनि बढेकाे साे फार्मले बताएकाे छ। फार्मबाट यसवर्ष फूल तथा माला विक्री सुरू भैसकेकाे छ।

स्थानीय फूल र माला प्रयाेग गरि खादाकाे आयात राेक्न सकेमा स्थानीय पुँजीकाे संचिति हुनुकाे साथै आयआर्जनमा टेवा पुग्ने विस्वास लिएकाे गाउँपालिका अध्यक्ष गुरूङले बताए।

प्रकाशित मिति: : 2022-09-26 08:01:00

प्रतिकृया दिनुहोस्