विराटनगर सुनसान, जोगवनीमा भीड (फोटो फिचर)

BreaknLinks
BreaknLinks

व्यापारीहरुका लागि दसैँ तिहारलगायतका चाडपर्व सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ। योबेला अत्यधिक सामान बिक्री हुने समय हो। तर, नेपालीहरुको महान पर्व नजिकिएसँगै प्रदेश १ को मुख्य व्यापारीक केन्द्रसमेत रहेको प्रदेशको राजधानी विराटनगर सुनसान बनेको छ।

चाडपर्व नजिकिएसँगै नेपालीहरु सामान किन्न भारतको जोगवनी पुग्ने गर्छन्। विराटनगरभन्दा जोगवनीमा सामान सस्तो पाइने भएकाले नेपाली उपभोक्ताहरुको आकर्षण बढ्दो छ। नेपालमा भन्दा भारतमा सामानको मूल्य सस्तो पर्ने भएकाले नेपालीहरु जोगवनी धाउने गर्छन्।

बजार क्षेत्रमा ग्राहकको चहलपहल नभएपछि विराटनगरका व्यापारीहरुमा निराशा छाएको छ। उता जोगवनीमा भने दैनिक हजारौँ नेपाली उपभोक्ताहरुको घुँइचो लाग्न थालेको छ।

खुल्ला सीमा नाका भएका कारण र नेपालभन्दा सामानको मूल्य सस्तो पर्ने भएकाले दैनिक नेपालीहरु जोगवनी जाने गरेका छन्।

विराटनगर महानगरपालिका–३ का शेखर घिमिरे बुधबार आफ्ना छिमेकीसँग दसैँका लागि सामान किन्न जोगवनी पुगे। विराटनगरमा भन्दा जोगवनीमा सामान सस्तो पाउने भएकाले आफू जोगवनी आएको उनले सुनाए।

‘दसैँ नजिकै आइसकेको छ, जोगवनी पुगेर आफूलाई चाहिनेजति सामान किनेर ल्याएँ,’ घिमिरेले भने, ‘दसैँमा धेरै सामान किन्नुपर्छ, विराटनगरमा अलि महंगो पर्ने भएकाले भारतीय बजार आएँ।’

‘नेपाली बजारमा भन्दा सस्तो पाइन्छ भनेर हामी दसैँका लागि सामान खरिद गर्न सधैँ भारतीय बजार जाने गर्छौँ,’ रतुवामाईका कल्पना कार्कीले भनिन्, ‘घरका सबै जनालाई लुगाफाटो किन्नुपर्छ, अन्य खाद्यान्न पनि किन्नुपर्ने भएकाले भारतीय बजार आउने गर्छौँ।’

भारतीय सीमा क्षेत्रका प्रायः सबैजसो नेपाली अहिले दसैँको सामान किन्न भारतीय बजार जाने गरेका छन्। चिनी, दाल, तेल, लत्ताकपडालगायत सामान भारतीय बजारमा सस्तो पाइने भएकाले भारतीय बजार जाने नेपालीको संख्या बढ्दो छ।

नेपाली बजारमा लत्ताकपडालगायत दैनिक उपभोग्य सामानको मूल्य बढेकाले कम आम्दानी भएका नेपाली उपभोक्ताको राेजाइमा जोगवनी पर्ने गरेको जानकारहरु बताउँछन्।

 

प्रकाशित मिति: : 2022-09-28 14:01:00

प्रतिकृया दिनुहोस्