गठबन्धनविरूद्ध सिन्धुपाल्चोक–१ मा भरत पराजुली बलिया दाबेदार

बिएल संवाददाता

सिन्धुपाल्चोक
BreaknLinks
BreaknLinks

मंसिर चार गते हुने आमनिर्वाचनका लागि प्रत्यक्षतर्फ दुई साताभित्रै उम्मेदवार मनोनयन गर्नुपर्ने छ। यतिबेला दलहरू उम्मेदवार छनोटको रस्साकस्सी छन्। चुनावी मोर्चाबन्दी पनि गरेको पाँच दलीय सत्तारूढ गठबन्धन सीट भागवण्डाको अन्तिम कसरतमा छ। एमालेले पनि स्थानीय कमिटी हुँदै सिफारिस भएको नाममा छलफल गरिरहेको छ। उम्मेदवारको अन्तिम छनोट चाहिँ पार्टी सचिवालयले गर्ने भनिएको छ। साना दल पनि सामथ्र्यअनुसार चुनावको तयारीमा जुटेका छन्। 

देशैभरझैं सिन्धुपाल्चोक–१ का लागि उम्मेदवार छनोटको विषय सत्ता गठबन्धन र नेकपा एमाले दुवैका लागि सकसपूर्ण बनेको छ। सत्ता गठबन्धनले सिन्धुपाल्चोक–१ मा कुन दलको उम्मेदवार हुने भन्ने अन्तिम निर्णय गरिसकेको छैन। दल टुंगिएपछि मात्रै उम्मेदवारमा छलफल सुरू हुनेछ। सैद्धान्तिक रूपमा माओवादी केन्द्रको सुरक्षित रहेको क्षेत्रमा कांग्रेसको दाबी कायमै छ। 

त्यस्तै, एमालेमा नेताद्वय अरूण नेपाल र सरेश नेपालसँगै भरत पराजुली पनि चर्चामा छन्। जलविद्युतलगायत विभिन्न व्यवसायमा संलग्न पराजुली आर्थिकरूपमा बलिया मानिन्छन्।

सिन्धुपाल्चोक–१ मा यसकारण दाबी 

स्कूल र कलेज पढ्दा अनेरास्ववियुमा संगठित र सक्रिय थिएँ। कलेज हुँदा अखिलले गरेका राष्ट्र, राष्ट्रियता र जनजीविका तथा शिक्षासम्बन्धि अभियान, आन्दोलनमा अग्रमोर्चामै थिएँ। विद्यार्थी कालमा नै पार्टी सदस्य भएँ। सम्पर्क मञ्चका अभियानमा जोडिएर पार्टीकै पक्षमा काम गरेको छु। लामो समय सिन्धुपाल्चोकलाई नै आधार बनाएर सामाजिक क्षेत्रमा काम गरे। त्यहाँका दर्जनौं गाउँमा खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्यको योजना लगेको छु। जनसम्बन्ध गाँसेको छु। सम्भव भए जतिलाई सकेको सहयोग पनि गरेको छु। अधिकांशले प्रत्यक्ष नै चिन्नुहुन्छ। 

कमिटीगत जिम्मेवारीमा नहुँदा चाहेर पनि प्रत्यक्षरूपमा पार्टीमा सक्रिय हुन सकिनँ। यसको अर्थ पार्टी, मोर्चा, अभियान र आन्दोलनमा सक्रिय छैन भन्ने होइन। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको छु। कसैले नभने पनि स्वयविवेकले पार्टीलाई हित हुने अभियानमै थिएँ, छु। अहिलेसम्म पार्टी र सदस्यले आलोचना गर्नुपर्ने काम गरेको छैन। 

प्रदेश र संघीय निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताले उम्मेदवारका लागि अन्यसहित मलाई पनि सिफारिस गर्नुभएको हो। जिल्लाले प्रदेश र प्रदेशले केन्द्रलाई सिफारिस गरेको छ। पार्टी र कार्यकर्ताले नपत्याएको भए त सिफारिस नै हुँदैन्थ्यो नि, होइन ?

महत्वकाक्षा हो कि आवश्यकता 

पार्टी पद्धतिमा व्यक्तिगत चाहनाले भन्दा आवश्यकताले जिम्मेवारी निर्धारण गर्छ। पार्टीको आवश्यकता र व्यक्तिको चाहना एकैपटक नमिल्न पनि सक्छ। अर्को कुरा, पार्टीले यसअघि संसदीय मोर्चामा अगाडि नसारेकाले नै जनप्रतिनिधि नभएको हुँ। चाहना, योग्यता र क्षमता नै नभएर होइन। पार्टी सदस्य र शुभेच्छुकले आग्रह गर्दागर्दै पनि आफूले भन्दा अरूले नै त्यो जिम्मेवारीमा बढि न्याय गर्लान् भनेर यसअघि अगाडि नसरेको हुँ। यसपटक पार्टीका कमिटी, कार्यकर्ता, शुभेच्छुक र मतदाताले समेत अगाडि बढ्न आग्रह गर्नुभयो। र, दाबी गरेको हुँ। यसमा व्यक्तिगत महत्वकांक्षाको कुरै हुँदैन र छैन पनि। त्यस्तो महत्वकांक्षा हुँदो हो त अघिल्ला निर्वाचनमै दाबी गर्थे होला।  

सम्भावित अबसर निरन्तर अरूका लागि छोड्दै आउँदा एकैपटक सांसदमै दाबी गर्नुपर्ने परिस्थिति बन्दो रहेछ। यसमा कसैले पनि अन्यथा लिनु जरूरी छैन। म हरेक कोणबाट त्यसका लागि सक्षम छु। अर्को कुरा, मैले सार्वजनिकरूपमा होइन पार्टी पद्दतिअनुसार नै दाबी गरेको हुँ। मापदण्ड पुगेका हरेक नेता–कार्यकर्ताले दाबी गर्न सक्छन्। 

टिकट पाउनुपर्ने आधार 

हो, मलाई राजनीतिमा अगाडि बढाउनु हुने, मेरा सामाजिक अभियानमा निरन्तर भरथेग गर्नुहुने, सधैं सत्कर्मका लागि प्रेरित गरिरहने र मैले सधैं अगाध सम्मान र स्नेह गर्ने नेताद्वय अरूण नेपाल र सरेश नेपाल त्यही क्षेत्रमा हुनुहुन्छ। र, दुबै जना उम्मेदवार सिफारिस पनि हुनुभएको छ। उहाँहरूले सिन्धुपाल्चोकको कम्युनिष्ट आन्दोलनमा, एमालेको हुकाई र बढाइमा मात्रै होइन त्यहाँको राजनीतिक तथा आर्थिक–सामाजिक रूपान्तरणमा सदा स्मरणीय योगदान गर्नुभएको छ। जसको म बिगतदेखि भविष्यसम्मको उच्च प्रशंसक हुँ। पार्टी संगठन, कार्यकर्ताले गर्ने सम्मान, विभिन्न आन्दोलन र अभियानको अगुवाई, जनसम्बन्ध हरेक दृष्टिले उहाँहरू सदा सम्मानयोग्य हुनुहुन्छ। योगदानका हिसाबले न हिजो असान्दर्भिक हुनुहुनथ्यो र भोलि हुनुहुनेछ। 

उहाँहरू अयोग्य र असान्दर्भिक हुनु भयो भनेर मैले उम्मेदवार दाबी गरेकै होइन। कसैलाई भ्रम नपरोस्। मेरोभन्दा पहुँच पनि उहाँहरूकै बढि छ। किनकि, पार्टीगत योगदानका हिसावले मभन्दा उहाँहरू अग्रज हुनुहुन्छ। 

अर्को कुरा, कार्यकर्ताको सद्भाव र उहाँहरूको पनि समर्थनमा मेरो नाम तल्लो कमिटीबाट सिफारिस भएको हो। माथिल्ला कमिटीमा पनि उहाहरूकै पहुँच छ। तर, त्यहाँबाट पनि मेरो नाम अगाडि बढ्नु भनेको उहाँहरूकै सहयोग रहनु होइन र ?   

तेस्रो कुरा, दुबै जनाले यसपटक नयाँ अनुहारका साथ जाने कि, लौ आन्तरिक तयारी पनि गर्दै गर्नुस् भनेकैले अगाडि सरेको हुँ। तर, यहाँ केही सीमित व्यक्तिले म उहाँहरू विरूद्ध उभिए जसरी अफवाह फैलाइरहेका छन्। जुन सत्य होइन। 

चौथो कुरा, मतदाताको चाहना, कार्यकर्ताको समर्थन, नेताहरूको सहयोग र सद्भाव भएपछि टिकट नपाउनु पर्ने अन्य कारण हुन्छ र रू एमालेको मूल नेतृत्वले उपयुक्त बेलामा सबैलाई अबसर दिँदै आएको छ। फेरि पनि दिन्छ नै। यसअघि कस–कसले अबसर पाए, कस–कसलाई न्याय र अन्याय भयो त्यता फर्किन चाहान्न्। र, यो त्यो समीक्षा गर्ने बेला पनि होइन्। यसपटक चाहिँ मैले अबसर पाउनुपर्छ भनेर दाबी गरेको हुँ। र, मेरो दाबी कोही नेता विशेषविरूद्ध होइन। मतदाता र कार्यकर्ताको पक्षमा तथा नयाँ अनुहार खोज्ने जनचाहना सम्बोधनका लागि पनि हो। 

टिकट र अरू नेताको सहयोग 

पहिलो कुरा त उहाँहरू पारिवारिक सम्बन्ध छ। पारिवारिक सम्बन्ध सुमधुर र हार्दिक हुन्छ नै। मेरो पनि उहाँहरू दुबैसँग अत्यन्तै हार्दिक सम्बन्ध छ, दाजु–भाइको जस्तो। उहाँहरू दुबैको र उहाँहरू सँग मेरो सम्बन्ध स्नेहपूर्ण हुँदा–हुँदै पनि प्रचार चाहिँ गलतरूपमा गरिएको हो। योग्य र सक्षम भएकाले दुबै जनाले उम्मेदवारी दाबी गर्नुभएको हो। पार्टीले तोकेको मापदण्डभित्र रहेर दाबी गर्नुलाई नै मारामार भन्नु हुँदैन। कसका लागि खाली गर्ने–नगर्ने त्यो उहाँहरूको निर्णय हो। अझ कसका लागि कसले त्याग गर्ने भन्ने निर्णय त पार्टी नेतृत्वले नै गर्छ। उहाँहरूले नै अगाडि बढ भनेकाले नै मैले दाबी गरेको हुँ। त्यसैले उहाँहरूकै सहयोग हुन्न् कि भन्ने शंका नै गलत छ। पार्टीले यसपटक नयाँ अनुहारका साथ प्रतिस्पर्धा गरौं वा पुरानै नेतालाई प्रतिस्पर्धी बनाऔं भन्यो पनि सबै नेता–कार्यकर्ता एकढिक्का भएर चुनावी मोर्चामा खट्छन्। त्यसमा पनि शंका मान्नु पर्छ र रू व्यक्तिभन्दा पार्टीको मोर्चा हो चुनाव। 

टिकट पाए जित्ने नपाए जिताउने 
 
सशक्त दाबी पेश गरेको छु। र, निर्णय नहुँदासम्म गरिरहन्छु। तर, पार्टीको निर्णय मेरो पक्षमा भएन भने पनि मोर्चाबाट भाग्दिन। जो उम्मेदवार हुनुहुन्छ उहाँको पक्षमा मन, बचन र कर्मले लाग्छु। निर्णय नहुँदासम्म आफ्ना कुरा राख्ने र निर्णय भएपछि स्वीकार्ने पार्टीको पद्दती र अनुशासन हो। जसमा सबै रहनुपर्छ। म पनि रहन्छु। यसअघिका चुनावमा पनि उम्मेदवार भएको थिइन। तर, भएका उम्मेदवारलाई जिताउन सकेजति सहयोग गरेकै हुँ। यसपटक टिकट पाइन भने पनि अबसर फेरि आउँछ भनेर पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन मरिमेटेर लाग्छु। 

मोहन बस्नेत र अग्निभन्दा यसकारण शसक्त 

सत्तारूढ गठबन्धनका तर्फबाट को उम्मेदवार हुनुहुन्छ टुंगो भइसकेको छैन। अघिल्लोपटक माओवादी केन्द्रले जितेका कारण सोही दलबाटै उम्मेदवार हुने संभावना बढि छ। तर, माओवादीको पनि उम्मेदवार को हो स्पष्ट भइसकेको छैन। चर्चा चाहिँ अग्नि सापकोटाकै छ। कांग्रेस वा माओवादी जुन दलबाट जो उम्मेदवार भएपनि प्रतिस्पर्धा हुने उस्तै हो। 

अर्को कुरा, उहाँहरू दुबै जनाको राजनीतिक विरासत र योगदानप्रति मेरो उच्च सम्मान छ। पटक–पटक सांसद र मन्त्री हुनुलाई नै योग्यता मान्ने हो भने मसँग त्यो छैन। मसँग त जनप्रतिनिधि भएकै योग्यता छैन। यो भनेको मान्छेलाई हियाउने, खिसिट्यूरी गर्ने कुरा भयो। मसँग स्पष्ट दृष्टिकोण, नीति, योजना र कार्यक्रम छन्। समाज बुझेको छु। समाजको आवश्यकता बुझेर नीति र योजना बनाउन सक्छु। नीति–निर्माण तहसम्म हल्का–फुल्का पहुँच पनि छ। सबैभन्दा ठूलो कुरा इमान छ। र, सिन्धुपाल्चोकको पक्षमा फरक गर्ने हुटहुटी छ। सिन्धुपाल्चोकका समस्या उजागर गर्ने मात्र होइन, समाधान गर्ने ल्याकत पनि राख्छु भन्ने आत्मविश्वास छ। 

स्रोत–साधन भएरै प्रतिस्पर्धाका लागि दाबेदारी गरेको हुँ। गुलेली लिएर बाघ मार्न कोही पनि हिंड्दैन। थप स्रोत–साधनको जोहो गर्न पार्टी छ। हजारौं कार्यकर्ताको पंक्ति छ। शुभेच्छुक, समर्थक छन्। एमाले देशको पहिलो पार्टी हो। जसले जोसँग पनि प्रतिस्पर्धा गर्ने ल्याकत राख्छ। उम्मेदवार को हो भन्ने कुराले खासै अर्थ राख्दैन। 

गठबन्धनविरूद्धको उपयुक्त पात्र 

पहिलो कुरा त, स्थानीय तहको मत देखाएर हामी बलियो छौं भनेर कोही पनि गम्किनु हुँदैन। सात महिनामा स्थानीय तहको कामको प्रारम्भिक लेखाजोखा भइसक्छ। स्थानीय तहको नेतृत्वले उत्साहका साथ जनभावना सम्बोधन गर्नुपथ्र्यो। गरेनन्। त्यसको प्रभाव मंसिर ४ गतेको मतदानमा पर्ने छ। सिन्धुपाल्चोक–१ मा सुनकोशीबाहेकमा सत्तारूढ गठबन्धनको नेतृत्व छ। 

दोस्रो, संघीय चुनावमा बढि राष्ट्रिय मुद्दाले प्राथमिकता पाउँछ। गठबन्धन सरकारले गरेका विकृति–विसंगतिमा मतदाता सचेत छन्। उनीहरूले विवेक पुर्याउँछन् नै। 

तेस्रो, एमालेको गौरवशाली विरासत। उसले राष्ट्र, राष्ट्रियता र जनजिवीका, पूर्वाधार र सामाजिक विकास तथा मुर्छित सपनाको पुनःजागरणमा खेलेको योगदान। समुद्ध नेपाल र सुखी नेपालीप्रतिको जनचाहना र एमालेले सुरूआत गरेका योजना र कार्यक्रम। यी कारणले पनि मतदाताले एमालेलाई न्याय गर्नेछन् भन्नेमा विश्वस्त छौं।

सिन्धुपाल्चोक–१ मा कुन दलको कति मत छ भन्ने तथ्य मंसिर पहिलो साता आइहाल्छ। अहिले नै यति छ भनेर उफ्रिन जरूरी छैन। ठ्याक्कै मतसंख्या नै त भन्न सक्दिन। तर, सिन्धुपाल्चोक–१ मा एमालेले सानदार जीत दर्ता गर्छ। एमालेले जित्छ मैले एमालेको कुन उम्मेदवारले जित्छ भनेको छैन है। दाबीका बेला म हुनुपर्छ भन्नु स्वभाविक हो। उम्मेदवार नै छनोट भएपछि एकढिक्का भएर एमाले मित्रवत प्रतिस्पर्धाका लागि गठबन्धनविरूद्ध उत्रिन्छ।

प्रकाशित मिति: : 2022-10-01 07:03:00

प्रतिकृया दिनुहोस्