मोरङका तीन क्षेत्रमा पुरानै प्रतिस्पर्धी, दुई उम्मेदवार नयाँ

BreaknLinks
BreaknLinks

आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा दलका उम्मेदवाहरुले आइतबार उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्तापछि मोरङका ६ क्षेत्रमा सत्ता गठबन्धन र एमाले जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रमुख दलबाट अघिल्लो निर्वाचनमै उम्मेदवार बनेकाहरुले उम्मेदवारी दर्ता गरेका छन्।

मोरङ तीन निर्वाचन क्षेत्रमा २०७४ को निर्वाचनका प्रतिस्पर्धीहरु पुनः चुनावी मैदानमा छन्। नयाँ देखिएका उम्मेदवारले पनि पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्। 

अघिल्लो निर्वाचन र अहिलेको निर्वाचनको समिकरण फेरिएको छ। देशभर बाम गठबन्धन गरेर चुनावमा होमिएका माओवादी र एमाले अलग भएका छन्। माओवादी कांग्रेससँगको गठबन्धनमा यो पटक चुनावमा जाँदै छ। 

मोरङ–१ डिगबहादुर लिम्बू र घनश्याम खतिवडा

नेकपा एमालेका घनश्याम खतिवडा र कांग्रेसका डिगबहादुर लिम्बू पुनः चुनावी मैदानमा छन्। यी दुवैले आइतबार प्रतिनिधिसभा सदस्यका लागि मोरङ–१ बाट उम्मेदवारी दर्ता गराएका छन्। खतिवडा र लिम्बू तेस्रो पटक चुनावी मैदानमा आमनेसामने हुँदैछन्।

२०७४ को निर्वाचनमा मोरङ–१ मा घनश्याम खतिवडा विजयी भए। उनले लिम्बुलाई ६ हजार ८८ मतको फराकिलो मतान्तरले पराजित गरेका थिए। खतिवडाले ३७ हजार ५ सय २४ मत प्राप्त गर्दा लिम्बुले ३१ हजार ४ सय ३६ मत मात्र प्राप्त गरेका थिए। लिम्बू हाल नेपाली कांग्रेसको जिल्ला सभापति छन्।

२०७० को निर्वाचनमा भने तीनै लिम्बूले खतिवडालाई पराजित गरेका थिए। ०७४ को निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धनको फाइदा लिँदै खतिवडाले लिम्बूसँग बदला लिएका थिए।

मोरङ–२ ऋषिकेश पोखरेल र सुजता कोइराला

मोरङ–२ का लागि सुजता कोइराला नयाँ अनुहार हो। कोइराला पक्षधार मिनेन्द्र रिजाललाई पन्छाउँदै देउवाले काइरालालाई टिकट दिएका हुन्। यो क्षेत्र सुजताका पिता गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्र पनि हो। आफ्ना स्वर्गीय पिता निर्वाचित हुँदै आएको क्षेत्र भएकाले उनको पहिल्यैदेखि दाबी गर्दै आएकी थिइन्।

सुजताको प्रतिस्पर्धा एमालेका ऋषिकेश पोखरेलसँग हुँदैछ। मोरङ २ का लागि सुजता नयाँ अनुहार भए पनि पोखरेल परिचित नाम हो। २०७० को संविधानसभा निर्वाचनमा पाखेरलले यही क्षेत्रबाट कांग्रेसका प्रभावशाली नेता आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए।

एमालेको मोरङ जिल्ला अध्यक्षसमेत रहेका पोखरेल २०७४ को निर्वाचनमा भने पराजित भएका थिए। उनी कांग्रेसका मिनेन्द्र रिजालसँग हारेका थिए। देशभर बाम गठबन्धनको लहर चल्दा मोरङ २ मा चुनाव जितेर मोरङमा कांग्रेसलाई ‘निल’ हुन बाट उनै रिजालले जोगाएका थिए।

मोरङ–३ भानुभक्त ढकाल र सुनिल शर्मा

मोरङ क्षेत्र नम्बर ३ मा अघिल्लो निर्वाचनका प्रतिस्पर्धीहरु उम्मेदवार बनेका छन्। एमाले र कांग्रेस दुवै दलका पुरानै अनुहार चुनावी मैदानमा छन्। एमालेले भानुभक्त ढकाललाई उम्मेदवार बनाएको छ।

कांग्रेसले २०७४ को निर्वाचनमा ढकालसँग पराजित भएका सुनिल शर्मालाई टिकट दिएको छ। शर्मा शेखर कोइराला पक्षका नेता हुन्।

अघिल्लो निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए। ढकाल र शर्मा दोस्रो पटक चुनावी मैदानमा छन्।

मेडिकल व्यवसायीसमेत रहेका शर्मा जनताको सेवकका रुपमा आफू  फेरि जनतामाझ आएको बताउँछन्। यता, ढकाल आफ्ना कार्यकालमा भएका अधुरा काम पुरा गर्न पुनः उम्मेदवारी दिएको बताउँछन्।

मोरङ–४ विनोद ढकाल र अमनलाल मोदी

नेकपा एमालेबाट विनोद ढकाल र सत्ता गठबन्धनका तर्फबाट माओवादीका अमनलाल मोदीले मोरङ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गरेका छन्।

अघिल्लो निर्वाचनमा एमालेको सहयोगमा उम्मेदवार बनेका मोदीले कांग्रेसका ‘हेभिवेट’ नेता महेश आचार्यलाई पराजित गरेका थिए। मोदीले ३३ हजार ४२९ मत ल्याउँदा आचार्यले २६ हजार ८०० मत मात्रै पाएका थिए। यसपटक मोदीको भिडन्त एमालेका ढकालसँग हुँदैछ।

ढकाल त्यही व्यक्ति हुन्, जो २०७४ मा एमाले माओवादीको बाम गठबन्धनबाट उम्मेदवार बनेका मोदीलाई जिताउन खटिएका थिए।

मोरङ–५ शिवकुमार मण्डल र राजकुमार यादव

मोरङ क्षेत्र नम्बर ५ मा एमालेसँगको गठबन्धनबाट जसपाका राजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्।

यता, सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले मनोनयन दर्ता गरेका छन्। गठबन्धनबाट प्रतिनिधिसभामा दावी गरिरहेका कांग्रेसका अमृत आर्याल प्रदेशसभाको उम्मेदवार बनेपछि मण्डलले टिकट पाएका हुन्।

२०७४ को निर्वाचनमा मण्डलले अर्याललाई पराजित गरेका थिए। एमालेबाट उम्मेदवार बन्ने आशमा रहेका जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डलले मोरङ ५ पार्टीले जसपालाई छाडेपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मोरङ–५ लालबाबु पण्डित र शेखर कोइराला

दुई ‘हेभिवेट’ नेता लालबाबु पण्डित र शेखर कोइराला पुनः चुनावी प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा यी दुईको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको थियो। पण्डितसँग कोइराला झिनो मतले पराजित भएका थिए।

यी दुवै नेताले आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: : 2022-10-10 22:00:00

प्रतिकृया दिनुहोस्