दाङ निर्वाचन : पुरुष भर्सेस महिला, हेभिवेटलाई कति सहज ?

दाङमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। जसमा ठूला दल भनिने ४ वटा दललाई हेर्ने हो भने यस पटक पुरुष भर्सेस महिला देखिन्छ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका यी तीन निर्वाचन क्षेत्रमा हेभिवेटका नेताहरुले महिला उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्।

क्षेत्र नम्बर १ मा सहरी विकास मन्त्रीसमेत रहेका नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरी र एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीबीच प्रतिस्पर्धा हुँदैछ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेका महसचिव शंकर पोखरेल र माओवादीकी केन्द्रीय सदस्य रेखा शर्माका बीचमा प्रतिस्पर्धा हुँदा क्षेत्र नम्बर ३ मा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरी र एमालेकी केन्द्रीय सदस्य कोमल वलीका बीचमा तीब्र प्रतिस्पर्धा हुने देखिन्छ।

यसअघि २०७४ को निर्वाचनमा एमालेबाट मेटमणि चौधरी काँग्रेसकी सुशीला चौधरीलाई १४ हजार मत अन्तरले हराउँदै विजयी भएका थिए। शंकर पोखरेल काँग्रेसका कमल किशोर घिमिरेलाई ९ हजार मत अन्तरले हराउँदै २ (१)बाट निर्वाचित हुँदा काँग्रेसका दिपक गिरी भने एमालेबाट उम्मेदवार भएका हिराचन्द्र केसीसँग ६ हजार मत अन्तरले पराजित भएका थिए। हेभिवेटका यी तीन नेताहरुको आउने मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिस्पर्धीका रुपमा तीन जना महिलाहरु रहेका छन्।

कति सहज हेभिवेटलाई?

हेभिवेटका रुपमा चिनिने दिपक गिरी, शंकर पोखरेल र मेटमणि चौधरीसँग मंसिर ४ मा यस अघि जनताबाट परीक्षण नभएका तीन महिलाहरु प्रतिस्पर्धाका रुपमा रहेका छन्। यद्यपि शंकरकाे प्रतिस्पर्धीका रुपमा रहेकी रेखा शर्मा भने २०७० को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाटै काँग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन्।

त्यसअघि २०६४ मा रेखाले समानुपातिकबाट संसदको यात्रा तय गरेकी थिइन्।  २०७४ मा पनि उनी समानुपातिकबाटै सांसद भएकी थिइन्। अहिले फेरि शर्मा क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार हुँदै शंकरसँग प्रतिस्पर्धा गर्दै छिन्। शर्मा विगतमा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेकी नेता हुन्।

पोखरेल ०५१ सालमा पहिलो पटक संसद यात्रा तय गरेका नेता हुन्। उनी ०५१ सालमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचन जितेर पहिलो पटक सांसद भएका थिए। ०५६ सालमा उनी क्षेत्र २ बाट कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित हुँदा ०६४ सालमा संविधानसभा निर्वाचनमा उनी समानुपातिकबाट सांसद बने।

त्यसपछि ०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भए। ०७४ को निर्वाचनमा भने उनी प्रदेश क्षेत्र नम्बर २ (१)बाट निर्वाचित हुँदै मुख्यमन्त्रीसमेत भए।

संस्थानीय तहको निर्वाचन हेर्ने हो भने क्षेत्र नम्बर २ मा शंकरलाई चुनाव जित्न सहज देखिन्छ। उनको निर्वाचन क्षेत्र अन्तरगत बंगलाचुली गाउँपालिकाबाहेक घोराही र तुलसीपुर उपमहानगरपालिकामा एमालेले जितेको छ। तर गठबन्धनबाट उम्मेदवार भएकी शर्मा पनि कमजोर भने देखिँदैनन्।

स्थानीय तहको निर्वाचनमा बंगलाचुली गाउँपालिकामा माओवादीले जितेको क्षेत्र हो। साथै गठबन्धन भएकाले अन्तरघात भएन भने उनको पनि जित हुने देखिन्छ।

क्षेत्र नम्बर ३ मा काँग्रेसका दिपक गिरी र एमालेकी कोमल वलीबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ। गिरी यसअघि मन्त्रीसमेत भइसकेका नेता हुन भने वली राष्ट्रियसभा सदस्य हुन्। वली यसअघि संसदको यात्रामा थिइनन्।

गिरी भने चौथो पटक संसद यात्राका लागि प्रतिस्पर्धा गर्दैछन्। उनी यसअघि ०७४ मा एमालेका हिराचन्द्र केसीसँग पारजित भएका थिए। ०७० मा निर्वाचित हुँदै सिंचाइ मन्त्री बनेका गिरी ०६४ मा क्षेत्र नम्बर ५ बाट पराजित भएका थिए।

क्षेत्र नम्बर ३ अन्तरगत स्थानीय तहको निर्वाचनमा तुलसीपुरमा एमालेले जितेको छ भने शान्तिनगर, बबई र दंगीरण गाउँपालिकामा काँग्रेसले जितेको छ। ३ वटा पालिकामा काँग्रेसले जितको कारण दिपक चुनाव जित्नेमा ढुक्क जस्तै देखिन्छन्।

तर वली पनि चुनाव जित्नेमा ढुक्कै जस्तै छिन्। उनी तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन हुँदा पनि स्थानीय तहको निर्वाचनमा एमालेले जितेकोमा अझ चुनाव जित्नेमा ढुक्क जस्तो देखिन्छिन्। साथै वली उम्मेदवार मध्येमा चर्चित अनुहार भएकाले उनलाई चुनाव जित्न सहज हुने राजनीतिक वृत्तमा चर्चा हुने गर्छ।

यस्तै क्षेत्र नम्बर १ मा नेकपा एसबाट मेटमणि चौधरी र एमालेबाट शान्त चौधरीबीचमा तीब्र प्रतिस्पर्धा हुने देखिन्छ। शान्ता दुई पटक समानुपातिकबाट सांसद भइसकेकी छन् भने महिलो पटक प्रतिस्पर्धाका लागि उनी जनतामाझ जाँदै छिन्। मेटमणि भने २०७४ मा काँग्रेसको गढ भत्काउँदै पहिलो पटक क्षेत्र नम्बर १ बाट संसद बनेका थिए। जसबेला उनलाई माओवादीको साथ थियो।

अहिले गठबन्धनबाट उम्मेदवार भएका मेटमणिलाई काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चालगायत दलहरुको साथ रहेको छ। मेटमणि हालका सहरी विकास मन्त्रीसमेत हुन्। उनी पनि हेभिवेटका नेताका रुपमा हेरिन्छ।

क्षेत्र नम्बर १ अन्तर्गत नेकपा एसले जितेको पालिका नभए पनि काँग्रेस र माओवादीले ४ वटै पालिका जितेका छन्। विशेषतः काँग्रेस र माओवादीको साथले चुनाव जित्नेमा मेटमणि ढुक्क देखिन्छन्।

यसैबीच के हेभिवेटलाई चुनाव जित्न सहज हुन्छ? भन्ने प्रश्नमा राजनीतिक विश्लेषक हेभिवेटले मात्र चुनाव जितिहाल्ने भन्ने नहुने बताउँछन्। राजनीतिक विश्लेषक सर्जन गौतम हेभिवेटभन्दा पनि उनीहरुले गरिरहेको गतिविधि कस्तो छ भन्ने कुरा मतदाता हेर्ने दाबी गर्छन्।

उनले हेभिवेटको नेताहरु हारेको धेरै उदाहरण रहेको भन्दै मतदाताले कसलाई कसरी हेर्ने हुन् उनीहरुको कामले निर्धारण गर्ने बताए।

एउटै पार्टीका ३ नेताहरुबीच प्रतिस्पर्धा

दाङ क्षेत्र नम्बर १ मा एउटै पार्टीमा रहेर काम गरेका तीन नेताहरुबीच प्रतिस्पर्धा हुँदैछ। विगतमा नेकपा एमालेमा रहेका मेटमणि चौधरी, शान्ता चौरधी र गंगा चौधरी (सत्गौवा)बीचमा मंसिर ४ मा प्रतिस्पर्धा हुन लागेको छ। यी तीनै जनाले तीन फरक पार्टीबाट आइतबार उम्मेदवार मनोनय दर्ता गराएका छन्।

मेटमणि केपी ओलीले संसद भंग गर्दा एमालेमा विद्रोह गर्दै नेकपा एस पार्टी खोलेर पहिले नै छुट्टिसकेका नेता हुन्। उनी चुनावमा उठ्ने पहिले नै पक्कापक्की भएको थियो। उनीसँग एमालेकी शान्ता र गंगामा कसले चुनावी टिकट पाउनेमा प्रतिस्पर्धाका बीचमा शान्ताले टिकट पाएपछि गंगाले बागी उम्मेदवारी दिएकी हुन्।

गंगाले जसरी पनि टिकट पाउनु पर्ने दाबी गर्दै आएकोमा एमालेले उनलाई टिकट नदिएपछि उनले हाम्रो नेपाली पार्टीबाट शान्तका विरुद्धमा बागी उम्मेदवारी दिएकी छन्। गंगा यसअघि समानुपातिकबाट सांसद भइसकेकी छिन्। साथै तीन नै जना थारु समुदायबाट प्रतिनिधित्व गर्ने हुँदा यस पटक ३ जनाको रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

प्रकाशित मिति: : 2022-10-10 22:10:00

प्रतिकृया दिनुहोस्