कांग्रेसका प्रभावशाली पुरुषलाई टक्कर दिँदै एमालेका यी दुई महिला उम्मेदवार

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले प्रदेश १ बाट दुई महिलालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ।

दुवै क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली पुरुष नेतासँग उनीहरुको प्रतिस्पर्धा हुँदै छ। एमालेले देशभर ११ जना महिला उम्मेदवारलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।

एमालेले उदयपुर क्षेत्र नम्बर १ बाट मञ्जु चौधरी र सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीलाई उम्मेदवार बनाएको छ। दुवै जना चौधरी उम्मेदवारको प्रतिस्पर्धा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने र निरन्तर चुनाव जित्दै आएका पुरुष उम्मेदवारसँग हुने छ।

उदयपुर क्षेत्र नम्बर १ बाट कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खड्का र एमालेकी मञ्जु चौधरी चुनावी मैदानमा छन्। यो क्षेत्रमा १६ जनाले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराए पनि खड्का र चौधरीबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ।

२०७४ को निर्वाचनमा देशभर एमाले-माओवादीको वाम गठबन्धनको लहर चलेको बेला खड्कासँग चौधरी पराजित भएकी थिइन्। उनी झिनो मतान्तरले पराजित भइन्। खड्काले ३३ हजार १४२ मत ल्याउँदा उनका चौधरीले ३२ हजार ५९४ मत ल्याएकी थिइन्।

२०५६ यता निरन्तर चुनाव लड्दै आएका खड्का ०५६ को उपनिर्वाचनमा पराजित हुँदा २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा उदयपुर १ बाट निर्वाचित भएका थिए। २०७० को निर्वाचनमा साविकको क्षेत्र नम्बर २ बाट चौधरी विजयी भएकी थिइन्।

कांग्रेसभित्रको अन्तरद्वन्दले चौधरीलाई फाइदा हुने एमालेको विश्वास छ। खड्का र प्रदेश (ख) बाट उम्मेदवार बनेका जिल्ला सभापति हिमाल कार्की देउवा निकट हुन्। प्रदेश (क) मा गठबन्धनबाट माओवादीका राजन किराँती उम्मेदवार छन्। प्रतिनिधिसभामा दावी गरिरहेका शेखर कोइराला समूहका पूर्व जिल्ला सभापति विदुर बस्नेतको समूहले नै जिल्लामा टिकट पाएको छैन।

यता २०७४ को निर्वाचनमा खड्कासँग पराजित भएपछि जिल्लामा राम्रो संगठन बनाएकी चौधरी जित निकाल्न कम्मर कसेर लागेकी छन्। जित निकाल्न त्यति सजिलो नभए पनि कांग्रेसभित्रको विवादबाट फाइदा लिने एमालेको दाउ छ। एमालेले प्रतिनिधिसभामा खड्का, प्रदेश (क) मा कुशलबाबु बस्नते र (ख) मा इश्वरमणी राउतलाई उम्मेदवार बनाएको छ।

यस्तै, सुनसरी-३ मा तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन्, विजयकुमार गच्छदार र भगवती चौधरी। २०७० र २०७४ को निर्वाचनमा सुनसरी-३ बाट चौधरीलाई गच्छदारले पराजित गर्दै सांसद बने।

०७० को संविधान सभाको निर्वाचनमा १७ हजार ५२४ मत ल्याएर गच्छदार विजयी हुँदा चौधरीले १७ हजार १ सय ६२ मत ल्याएर पराजित भइन्। ०७४ मा माओवादीको सहयोगमा उम्मेदवार बनेकी उनै भगवतीलाई ३२१ को झिनो मतान्तरले हराए। गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन्।

२०४८ सालबाट चुनावमा भाग लिएका गच्छदार अपराजित नेता हुन्। पार्टी बदले पनि उनले हरेक चुनावमा जित्दै आएका छन्। २०४८, २०५१, २०५६ र २०७४ का चुनावमा गच्छदार कांग्रेसबाट विजयी भए। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट र ०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उनी विजयी भएका थिए।

गच्छदार बालुवाटारस्थित ललिता निवासकाे जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका आरोपित हुन्। दुई पटकको हारको बदला लिन कसरत गरिरहेकी चौधरीलाई गच्छदारलाई लागेको भ्रष्टाचारको आरोपले फाइदा पुग्ने सक्ने एमालेजनको विश्वास छ।

प्रकाशित मिति: : 2022-10-13 14:01:00

प्रतिकृया दिनुहोस्