उर्लाबारीमा छुरा प्रहार गरी १४ वर्षीय किशोरको हत्या

तेजन खड्का

उर्लाबारी
मृतक श्रेष्ठ।
मृतक श्रेष्ठ।

मोरङको उर्लाबारीस्थित मावा खोलामा आयोजित छठ पर्वमा छुरा प्रहारबाट एक किशाेरकाे हत्या भएकाे छ। झापा दमक- १० नलबारीका १४ वर्षीय दिउस श्रेष्ठको छुरा प्रहारबाट आइतबार राती  ज्यान गएको हो।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो। गोदाबरी हस्पिटलबाट रेफर भइ झापाको बिएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको मृतकका वुवा धनबहादुर श्रेष्ठले बताए।

छुरा प्रहार गर्नेहरुको पहिचान हुन सकेको छैन। ‘छोरालाई छुरा प्रहार गरिएको रहेछ, गोदाबरी हस्पिटल उर्लाबारीबाट फोन आएपछि थाहा पायौँ, त्यहाँ पुगेर हेर्दा रगताम्य थियो,’ मृतकका बुवा श्रेष्ठले भने।

उनले प्रहरीमा जानकारी गराएर हस्पिटलबाट शव उर्लाबारी  ल्याउने तयारी भइरहेको जानकारी दिए।

छुरा प्रहारबाट घाइते भई बेहोस् बनेर लडिरहेका श्रेष्ठलाई उनका एक जना साथीले उद्दार गरी उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका लागि भर्ना  गरेपछि प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ थापाले बताए। 

प्रहरीका अनुसार पूजा समारोहमा झैँझगडा परेको कुनै पनि जानकारी प्रहरीलाई नआएका कारण छुरा प्रहारमा संलग्नहरुको पहिचान हुन नसकेको बताए। हाल हत्यामा संलग्नहरुको खोजी भइरहेको थापाले बताए।

प्रकाशित मिति: : 2022-10-31 06:22:00

प्रतिकृया दिनुहोस्