दाेर्जेकाे ‘पर्खाइ’ : छाेरी जन्माउँदा अपमान गर्ने समाजलाई फूलकाे थुङ्गाे

काठमाडौँको हात्तीगौडास्थित ताज पार्टी प्यालेसको आँगन सोमबार दिउँसो सधैंझै पाहुनाले भरिभराउ थियो। सर्वसाधारणदेखि देशका प्रतिष्ठित व्यक्तित्वहरु आँगनको छेउछाउतिर गफिदै थिए। त्यत्तिकैमा ६ बहिनी छोरीको साथमा एक दम्पतीको आगमन भयो।

ती ६ बहिनी छोरीहरुको मुहारमा मुस्कान थियो। बिचमा रहेका दम्पतीहरु हर्षले गदगद थिए। सबैले ताली बजाएर स्वागत रे...।

६ बहिनी छोरीको बिचमा सुशोभित भएर आएका व्यक्ति थिए, करिब ६ दशकअघि काभ्रेको तेमालबाट बाहिष्कृत भएर काठमाडौँमा भागेका अमृत दोर्जे (कान्छा लामा) र कान्छी लामा।

लगातार ६ बहिनी छोरी जन्माएको भनेर समाजले तिरस्कार गरेपछि देशको राजधानी काठमाडौँमा आएर आफ्नो जीवन बिताइरहेका उनै अमृत दोर्जेद्वारा लिखित आत्मकथा ‘पर्खाइ’को विमोचनको लागि समारोहको आयोजना गरिएको थियो।

समारोहमा नेपाल सरकारका पूर्व उप–प्रधानमन्त्री एवम् नेकपा (एमाले) नेता ईश्वर पोख्रेल, एमाले अध्यक्ष केपी शर्मा ओलीपत्नी राधिका शाक्य, बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठारामा अधिकारी, बूढानीलकण्ठका सबै वटाका जनप्रतिनिधिलगायतको सहभागीता थियो। त्यही समारोहबीच ‘पर्खाइ’को विमोचन गरियाे।

‘दुई छाक खान, एक धरो लगाउन सक्ने अवस्थामा आउन मलाई १७ वर्ष पर्खिनु पर्‍यो। मेरो पनि घर छ भन्ने अवस्थामा आउन ४१ वर्ष लाग्यो। आखिर जिन्दगी पर्खाइमै जाने रहिछ,’ दोर्जेले यही मर्मस्पर्शी वाक्यले पूरै किताबको अर्थ बुझाएका छन्।

राजधानीको नजिकै जन्मिएर पनि पाउनु परेको दुःख, ६ वटी छोरी मात्रै जन्माएको भन्दै समाजले गरेको तिरस्कारकै बिच राजधानीमा आएर बडो संघर्ष, मिहेनत र धैर्यता गरेर ६ वटै छोरीलाई पढाएर/लेखाएर देशका विभिन्न प्रतिष्ठित पदसम्म पुर्‍याउन सफल भएको आफ्नो कथा दोर्जेले यसमा बुनेका छन्।

छोरी मात्रै जमिँदैमा कोही आमा–बुबाले दुःख पाउँदैनन्, काम, काम र कामले नै जीवन श्रृङ्गार्न सकिन्छ भन्ने कुरा दोर्जेले सो पुस्तकमा देखाउन खोजेका छन्। भने, किताबमा तत्कालीन काभ्रे जिल्लालगायत काँठ क्षेत्रको जनजीवन, काठमाडौँबाट नजिक हुँदा पनि नेपालीहरुले पाउनु परेको दुःखको कथालाई ‘पर्खाइ’मा कोरिएको कुरा कार्यक्रम सञ्चालक दोर्जे लामाकी छोरी तथा बूढानीकण्ठकी उपमेयर अनिता लामाले बताइन्।

त्यसपछि पुस्तक विमोचन गरिएको थियो। पुस्तक विमोचनपछि दोर्जेका ६ बहिनी छोरीले किताबसँग जोडिएका अनुभवहरु सुनाएका थिए। भने, नेता ईश्वर पोख्रेलले पनि दोर्जे लामाको संघर्षको कथालाई मुक्तकण्ठले प्रशंसा गरे।

छोरी एवम् बागमती प्रदेश सांसद सीता लामाले पनि आफ्नो परिवारको संघर्षबारे बताइन्। ‘छोरा नजन्माएको भनेर बुबालाई अपमान गरियो। र, त्यस्तो बेलामा पनि हामीलाई शिक्ष, दीक्ष दिएर समाजलाई मेरा छोरी छोराभन्दा कम छैनन् भन्ने हामीलाई बनाउनु भयो। म मेरा बुबा–आमाप्रति कृज्ञता व्यक्त गर्छु,’ उनले भनिन्।

त्यस्तै कार्यक्रममा सहभागी कवि स्नेह सायमिले पनि अमृत दोर्जे सिंगो पुस्तक र छोरीहरु त्यसका पाना भएको बताउँदै किताब पढेर आफूलाई लागेका कुराहरु सुनाएका थिए।

‘छोरा–छोरी बीचको विभेद अन्त्य गर्ने एउटा सशक्त कथा हो, पर्खाइ। यसमा काभ्रेको तत्कालीन आर्थिक अवस्था र काभ्रेबाट काठमाडौँ आएर एउटा युवाले गरेको संघर्षको सफल कथा यसमा समेटिएका छ,’ सायमिले भने।

सायमिको वर्णनसँगै कार्यक्रमको समापन गर्दै बोलेका लेखक दोर्जेले आफ्ना अनुभव सुनाउनुका साथै जीवन कुनै छोरा नभए पनि छोरीबाट आफूले कुनै कुराको कमी महशुस नगरेको बताउँदै सबै सहभागीलाई धन्यावद दिए। औपचारिकतामा कार्यक्रम एउटा किताब विमाेचन समाराेह मात्रै भएपनि त्यहाँका दृश्यहरू कुनै चलचित्रकाे प्रेरक सिनभन्दा कम थिएन।

वि.सं. २००५ मा काभ्रेकाे तेमाल गाउँमा जन्मिएर १६ वर्षकाे उमेरमा काठमाडाैँ आएर विभिन्न गलैंचा कारखाना र पेट्राेल पम्पहरूमा काम गरेर सबै छाेरीहरूलाई मास्टर डिग्री गराई देशका माथिल्ला तहहरूमा पुर्‍याएरपछि दाेर्जेले मुस्कुराउनकाे लागि पर्खिएकाे क्षण थियाे, समाराेह।

प्रकाशित मिति: : 2022-11-08 05:43:00

प्रतिकृया दिनुहोस्