नेपाल आउँदै शबाना आजमी

File photo
File photo

भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन्। काठमाडौंमा आगामी ९ मंसिरबाट सुरु हुन लागेको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रूपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन्।

आयोजक मण्डला थिएटरले शबानालाई नेपाल आउने निम्तो दिएको हो। सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यो महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरूलाई ‘मास्टर क्लास’ पनि दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताइन्।

मास्टर क्लास महोत्सवको दोस्रो दिन १० मंसिर साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ। साथै, अभिनेत्री शबानाले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन्।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरूमध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन्। विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो।

मण्डला थिएटरमा १७ मंसिरसम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन्। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।

प्रकाशित मिति: : 2022-11-13 16:45:00

प्रतिकृया दिनुहोस्