लुम्बिनीमा निर्वाचन बहिष्कार गर्ने दलहरुको चुनौती कति ?

प्रहरी भन्छ– शंकास्पद लागे पक्राउ गरिन्छ

BreaknLinks
BreaknLinks

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउनुभन्दा पाँच दिनअघि कार्तिक ३० गते बाँकेमा प्रेसर कुकर बम विस्फोट हुँदा दुई जना गम्भीर घाइते भए। घाइते हुने दुबै जनाको अहिले पनि आइसियूमा राखेर उपचार भइरहेको छ।

उक्त बम कुनै सार्वजनिक स्थानमा विस्फोट नभएर घरमा भएको हुँदा थप क्षति हुन पाएन। उक्त बम नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले बनाउँदै गर्दा विस्फोट भएको प्रहरीको अनुमान छ।

विस्फोटमा परी विप्लव समूहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर नगरपालिका–२ का २७ वर्षीय डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलालीको घोडागोडी नगरपालिका-१ का ३३ वर्षीय धर्मराज सुनार घाइते भए।

विप्लव नेतृत्वको नेकपासहित नेकपा मशाल, नेकपा बहुमत, नेकपा (माओवादी क्रान्तिकारी) लगायत दलहरुले निर्वाचन बहिस्कार गरेका छन्। बहिस्कार गरेका यी दलहरुले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने मतदातालाई त्रसित पार्न विस्फोटका घटना पनि गराइरहेका छन्।

बाँकेमा पनि सोही प्रयोजनका लागि बम बनाउँदै गर्दा उक्त घटना घटेको हो। दाङ घोराही उपमहानगरपालिका-१४ निवासी विकिरण गौतम निर्वाचनमा सुरक्षा चुनौती रहेको बताउँछन्।

उनले उम्मेदवारको घरमा कालो झण्डा टाँग्ने, ब्यानर टाँस्नेलगायतको गतिविधि हुने गरेको भन्दै प्रहरी प्रशासनले मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए।

‘निर्वाचनमा सुरक्षा चुनौती छ। उम्मेदवारको घरमा कालो झण्डा टाँगिएको छ। यो समान्य घटना भनेर प्रहरी प्रशासनलाई सामान्य लाग्न सक्छ,’ उनले भने, ‘तर यस्ता घटनाले मतदातालाई भयवित पार्छ। प्रहरी प्रशासन मतदातलाई सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ।’

मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले यस पटकको निर्वाचनमा चुनाव बहिष्कार गरेका राजनीतिक दलहरुबाट मतदातालाई त्रसित पार्न सक्ने बताए। यी दलहरुबाट ठुलाे चुनौती हुने गरी गतिविधि गर्न सक्ने अवस्था नरहे पनि मतदातालाई रोक्न विस्फोटका घटनाहरु गराउने र त्रसित पार्न सक्ने अवस्था रहेको बताए।

शंकास्पद लागे पक्राउ गर्छौँ : प्रदेश प्रहरी प्रमुख उपाध्याय

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले चुनाव विथोल्न खोज्ने जोकोहीलाई पनि पक्राउ गरिने बताए। उनले लुम्बिनी प्रदेशमा चुनाव विथोल्न खोज्ने केही शक्ति लागेको भन्दै शंकास्पद देखिएमा पक्राउ गर्न निर्देशन दिइसकेको जानकारी दिए।

‘निर्वाचन बहिस्कार गरेका केही पार्टीहरुले जतिबेला जे पनि गर्न सक्छन्,’ उनले भने, ‘त्यस्ता कोही शंकास्पद लागेमा सिधै पक्राउ गरिन्छ।’ उनले निर्वाचन विथोल्ने वा मतदातालाई त्रसित पार्ने गतिविधि हुन नदिन सतर्कताका साथ प्रहरी परिचालन भएको बताए।

लुम्बिनी प्रदेशमा १२ जिल्ला रहेका छन्। जसमा नलवपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्ला भारतसँग सीमा जोडिएका जिल्ला हुन्। यी जिल्लाहरुमा पहाडी जिल्लाभन्दा सुरक्षामा थप जोखिम रहेको उपाध्यायले बताए। ‘प्रदेशका जुनकुनै जिल्लामा पनि सुरक्षाको चुनौती त हुन्छ, तर तराइका जिल्लामा जस्तो पहाडी जिल्लामा अपराधिक गतिविधि गरेर भाग्न त्यति सजिलो छैन।’ उनले भने। 

उपाध्यायले अति संवेदनशील, संवेदलनशील र साधारण मतदान केन्द्रहरु छुट्याइएको र त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले लोकतन्त्रमा मतदाताले आफ्नो अधिकार प्रयोग गर्न पाउने भन्दै डर, धम्की दिने जोकोही प्रहरीको नियन्त्रणमा आउने बताए।

लुम्बिनी प्रदेशमा २६ प्रतिनिधि र ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक हजार छ सय ४९ मतदान स्थल र तीन हजार आठ सय ६१ मतदान केन्द्र रहेका छन्। जसमा १६ लाख ३७ हजार १३१ पुरुष, १६ लाख १२ हजार ४७१ महिला र ४३ जना अन्य गरी कुल ३२ लाख ४९ हजार ६३७ जना मतदाता रहेका छन्।

प्रकाशित मिति: : 2022-11-18 22:20:00

प्रतिकृया दिनुहोस्