‘स्क्विड गेम’का ओ योङ–सुमाथि यौन हिंसाको आरोप

दक्षिण कोरियाली लोकप्रिय शो ‘स्क्विड गेम’का अभिनेता ओ योङ–सुमाथि यौन हिंसाको आरोप लागेको कोरियाली न्यायिक अधिकारीले बताएका छन्।  

अधिकारीहरूका अनुसार ७८ वर्षीय अभिनेता माथि सन् २०१७ मा एक महिलालाई गलत तरिकाले छोएको आरोप लागेकाे बताएका छन्।  

स्थानीय सञ्चारमाध्यमका अनुसार ओ योङ–सुले यी आरोप अस्वीकार गरेका छन्।

यस वर्ष (२०२२)को सुरुमा दक्षिण कोरियाली अभिनेता ओ योङ–सुले स्क्विड गेमका लागि ‘उत्कृष्ट सहयोगी अभिनेता’ का लागि गोल्डेन ग्लोब अवार्ड प्राप्त गरेका थिए।जुन सम्मान पाउने उनी पहिलो दक्षिण कोरियाली अभिनेता हुन्।

योनहाप समाचार एजेन्सीका अनुसार उक्त युवतीले गत वर्ष डिसेम्बरमा ओविरुद्ध उजुरी दिएकी थिइन् तर उनी विरुद्धको आरोपको छानबिन नगरी २०२२काे अप्रिलमा मुद्दा बन्द गरिएको थियो।

तर ‘पीडितको पुनरावेदनमा’ अभियोजन पक्षले मुद्दा पुनः खोलेको र मुद्दाको अनुसन्धान फेरि सुरु भएको एजेन्सीले उल्लेख गरेका छन्।

द स्क्विड गेम नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको सिरिज हो। यो एक थ्रिलर सिरिज हो जसमा ऋणमा डुबेका थुप्रै प्रतियोगी पैसाका लागि एउटा यस्तो प्रतियोगितामा भाग लिन्छन् जसमा उनीहरुले जीवन र मृत्युबीच लड्नु पर्छ।

प्रकाशित मिति: : 2022-11-27 13:45:00

प्रतिकृया दिनुहोस्