भाउ खाेज्दै जुम्लाकाे स्याउ (भिडियाेसहित)

File Photo
File Photo

जुम्लामा स्याउ पाक्ने माैसम भदाै पहिलाे हप्ता हाे। भदाै, असाेजमा धेरै जसाे किसानकाे स्याउ बिक्री भइसक्छ।

काेही किसानहरु राम्राे भाउ पाइने आशमा मंसिर पुससम्म पनि स्याउ भण्डारण गरी राखिरहेका हुन्छन्। तर, कतिपय किसानले बाध्यताबस स्याउ थन्क्याएर राख्नुपर्ने अवस्था छ। तिनै मध्येका एक हुन्, किसान रामसिंह रावल।

दसैंमा नेपालगन्ज लैजाने भनेर टिपेर काटुननमा प्याक गरिराखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा दुई दिन जति राेकिए। त्यसपछि लगातारकाे वर्षाले ठुलो जनधनको क्षति गर्‍यो। राजमार्ग क्षतविक्षत भयाे। उनले स्याउ बेच्न पाएनन्।

बाटाे बन्द भएपछि जुम्ला बजार ल्याएर राखेका स्याउ बिक्री नहुँदा उनी तनावमा छन्। स्याउ बिक्री नुहँदा उनकाे मन साह्रै खिन्न हुन्छ।

'स्तरीय बाटाे र किसानमैत्री नीति नहुँदा नाेक्सान बेहाेर्नु परेकाे छ,' उनले भने, 'जुम्लीका स्याउकाे बजार कहिल्यै राम्राे नहुने भयाे।'

काठमाडौंमा पुर्याएपछि सस्ताेमा लगिएका स्याउ तीन चार सय रुपैयाँ किलाेमा बिक्री हुने भएपनि जुम्लामा घुइयाकाे भाउमा बेच्नु पर्दा कृषिमा सरकारका नीति असफल भइरहने उनकाे तर्क छ।

प्रायजसाे एयरपोर्टमा स्याउ बेच्न आउने गेठीचाैर गाउँपालिका-३ की उमादेवी अधिकारी स्याउ बिक्री नहुँदा निकै नरमाइलो लाग्ने बताउँछिन्।

'नेपालगन्ज जाने मान्छेहरुले किनिदेलान भन्ने आशले स्याउ बेच्न ल्याउँछु,' उनले भनिन्, 'कहिले प्लेन आउँछ, कहिले आउँदैन। सबै मान्छेले स्याउ किन्दैनन्।'

झण्डै दुई घण्टा हिँडेर बजार पुग्ने उनी स्याउ बिक्री नहुँदा फेरि भारी बाकेर जान निकै कठिन हुने बताउँछिन्। त्यसैले धेरैजसाे समय स्याउ घुइयाकाे भाउमा बेच्नु पर्ने उनकाे बाध्यता छ।

'स्याउ किन्न किसानहरु बगैंचा नपुगेपछि जाेखिम माेलेर घरमा स्याउ राखेका छाैं,' उनले थपिन्, 'न त्यतिबेला स्याउ बिक्याे, न अहिले बिक्छ।'

यस वर्ष जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकाे थियाे। जसमबाट झण्डै १८ हजार मेट्रिक टन स्याउ फलेकाे कृषि विकास कार्यालयकाे तथ्यांक छ।

प्रकाशित मिति: : 2022-12-01 21:20:00

प्रतिकृया दिनुहोस्