हिमाकाे स्वास्थ्य शिविरबाट बाहिरका नागरिकसमेत लाभान्वित

हिका गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले पदभार सम्हाल्दै गर्दा गरेकाे घाेषाणामध्ये एक हाे नागरिककाे स्वास्थ्यमा स्थानीय सरकार जिम्मेवार हुनेछ।

साेहीअनुसार सम्पूर्ण नागरिककाे नि:शुल्क स्वास्थ्य बिमाकाे घाेषणा गरेका शाहीले हरेक तीन महिनामा नि:शुल्क स्वास्थ्य शिविर र हरेक महिना आँखा शिविर सञ्चालन गरिरहेका छन्।

यसपालि कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल कास्कीको आर्थिक र प्राविधिक सहयोग गर्‍यो। शिविर हिमा गाउँपालिका १ बड्कीस्थित कालिका माविमा तीन दिनसम्म सञ्चालन भयाे।

उक्त स्वास्थ्य शिविरबाट हिमासहित जुम्लाका अन्य पालिका र कालिकोटका गरी एक हजार ५ सय ६६ जना लाभान्वित भएका छन्।

जम्मा १५ सय ६६ जनामध्ये १२ सय ३५ जना महिला र ३ सय ३१ जना पुरुषले सेवा लिएको कालिका माविका लेखापाल धनराज शाहीले जानकारी दिए। उनका अनुसार ७ सय ३७ जना महिलाले ओपिडी सेवा लिएका छन्।

४ सय ५१ जना महिलाले स्त्रीरोगसम्बन्धी विशेषज्ञबाट उपचार गराउँदा ८ सय २८ जनाले महिला पुरुषले आँखाको उपचार गराएका छन्।

३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने तीन सय ६३ जना महिला पुरुषले दाँतसम्बन्धी रोगकाे उपचार गराएका छन्।

सिंजा, कनकासुन्दरी, पातारासी र तिला तथा कालिकोटका तिलागुफा, पँलाता र महाबै गाउँपालिकाबाट गरी तीन सय जना नागरिकले लाभा लिएकाे तीन दिनसम्म स्वयंसेवककाे रुपमा खटिएका शिक्षक जंगबहादुर शाहीले बताए।

'हामीले शिविर राम्राे भयाे भन्ने मानेका छाैं। उपचार र औषधि सेवनपछि बिरामीको प्रतिक्रिया लिँदा सन्चाे भया भन्ने आएकाे छ,' उनले भने, 'हिमाले जनताको स्वास्थ्यलाई उच्चा प्राथमिकतामा राख्दा जिल्लाका अन्य पालिका र जिल्ला बाहिरका नागरिकले समेत स्वास्थ लाभ लिन पाएका छन्।'

शिविरमा उपचार गराउन आएका सबैलाई पालिकाकै सहयोगमा खानाको व्यवस्था गरिएको पालिका अध्यक्ष शाहीले बताए।

'पालिकाका विपन्न नागरिकको राहत र स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि गाउँमै शिविर सञ्चालन गरिहेका छाैं,' उनले भने, 'हामीलाई हरेक नागरिककाे स्वास्थ्यकाे चिन्ता छ। उपचार नपाएर काेही मर्नु नपाराेस्।'

हिमाका ७ वटै वडाका नागरिकले शिविरबाट राहत महसुस गरेको प्रमुख प्रकाशकीय अधिकृत रण बहादुर बुढाले बताए।

उनले भने, 'स्वास्थ्य चेकजाँच तथा उपचारपछि १५ सय ६६ जनालाई आवश्यक औषधि वितरण गरिएको थियाे।'

प्रकाशित मिति: : 2022-12-21 12:29:00

प्रतिकृया दिनुहोस्