ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
नेपाली सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले पेलेकाे स्वस्थ्य समस्याका कारण मृत्यु भएको अफवाह फैलाइरहेका छन्। बुधबार दिउँसाेदेखि उनकाे मृत्युकाे समाचार भाइरल भइरहेको छ। २१ वर्ष फुटबल मैदानमा दाैडिएका पेले जिउँदैछन् तर गम्भीर बिरामी छन्।
विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेकाे स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ। 'पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,' एल स्पानोलले लेखेको छ।
चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गाैला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो। त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन।
विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन्।
गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ।