'गान्धी गोडसे एक युद्ध'का निर्देशक सन्तोषीलाई धम्की

File photo
File photo

यही जनवरी २६ मा निर्देशक राजकुमार सन्तोषीको फिल्म ‘गान्धी गोडसे एक युद्ध’ रिलिज हुँदैछ।

तर, रिलिज अघि नै फिल्ममाथि खतराको बादल मडारिन सुरु गरिसकेको छ। फिल्म रिलिज नजिकिएपछि फिल्मको प्रमोसनलाई पनि तिब्रता दिइएको छ। तर, त्यही प्रमोसन गर्न निर्माण पक्षलाई तनावको अवस्था छ।

फिल्मलाई लिएर निर्देशक सन्तोषीलाई फिल्म रिलिज रोक्न मात्र नभई ज्यानको पनि असुरक्षा हुने धम्की आएको छ। सन्तोषीले मुम्बई प्रहरी कमिश्नरलाई पत्र लेख्दै आफूलाई धम्की आएको उल्लेख गरेका छन्। सन्तोषीको उजुरीपछि प्रहरीले एफआईआर दर्ता गरेको छ।

यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि विवाद सुरु भएको हो। केही दिनअघि मुम्बईको अँधेरीमा फिल्मको प्रदर्शन राखिएको थियो, जहाँ निकै तनावको अवस्था सिर्जना भएको थियो। प्रदर्शनपछिको पत्रकार सम्मेलनमा मिडियातर्फ बसेका केही अज्ञात व्यक्तिले उठेर विरोध गरेका थिए।उनीहरुले कालो झण्डा देखाउँदै ‘गान्धी जिन्दावाद’को नारा लगाएका थिए।

‘मलाई यो घटनालाई सुरक्षित महसुस भएको छैन। यदी उनीहरूलाई त्यसै छोड्ने हो भने उनीहरुले मेरो परिवारलाई कुनै पनि किसिमको क्षति पुर्‍याउन सक्छन्’, निर्देशक सन्तोषीको पत्रमा उल्लेख छ।

फिल्मको विरोध गर्नेहरूले फिल्ममा महात्मा गान्धीलाई हेपिएको देखाइएको दाबी गरेका छन्। उनीहरूले गान्धीको हत्यारा नाथुराम गोड्सेलाई महिमा गाइएको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2023-01-24 11:58:00

प्रतिकृया दिनुहोस्