फेरियाे दाऊदको धन्धाः मोबाइल चोरेर ‘नेपाल–पाकिस्तान’ पठाउँछन्, मुम्बईमा भवन भत्काउँछन्

The Week

‘अन्डरवर्ल्ड डन’ दाऊद इब्राहिम आजकल आफ्नो दोस्रो विवाहलाई लिएर चर्चामा छन्। तर चर्चामा नआएको अर्को एउटा पाटाे भनेको ‘डी–कम्पनी’को परिवर्तित शैली हो। कुनै बेला फिरौती, जग्गा हडप्ने, मिलापत्र, लागूऔषध र तस्करी गरेर आतंक फैलाउने दाऊदको व्यवसाय फेरिएको छ।

भारतीय केन्द्रीय एजेन्सी स्रोतका अनुसार अहिले डी–कम्पनीले औषधि तस्करी गर्ने, मोबाइल–फोन चोर्ने र भवन भत्काउने ठेक्काजस्ता काम गर्दैआएको छ। यद्यपि, लागुऔषध र सुनचाँदीको तस्करी अझैपनि दाऊद समूहको मुख्य व्यवसाय हो।

एसियामै लुकिछिपी बाँचिरहेका दाऊद ‘ह्वाइट कलर’ व्यवसायमा पनि जमिरहेका छन्। भारतीय संसारको कालोसूचीमा रहेका दाऊद र उनका आफन्तहरू पाकिस्तानको कराची विमानस्थलमा चेक–इन, चेक–आउट बिना यात्रा गर्छन्। एनआईएका एक अधिकारीका अनुसार ‘अन्डरवर्ल्ड डन’ दाऊदले बिस्तारै गलत कामबाट आफूलाई टाढा राख्न थालेको बताएका छन्।

दाऊदको संरक्षणमा रहेको डी–कम्पनीको सञ्चालन भारत बाहिरबाट पनि भइरहेको छ। यही कारण सन् २००१ देखि मुम्बईमा ‘ग्याङ वार’को नामै सुनिएको छैन। दाऊदनिकट व्यक्तिहरूले डी–कम्पनीमार्फत् निर्माण परियोजनातिर पनि लगानीको खोलो बर्सारहेका छन्।

भारतीय सुरक्षा एजेन्सीका अनुसार डि–गिरोहले नक्कली नोटको कारोबार पनि चलाइरहेकै छ। डी–कम्पनीले भारतमा बनाइने क्यान्सरको औषधि चीन र अन्य देशमा तस्करी गर्दैआएको छ।

चीनमा भारतीय औषधिको किनबेचमा प्रतिबन्ध छ। हालै मात्र एक चिनियाँ नागरिकलाई क्यान्सरको भारतीय औषधि किनेको आरोपमा ८ महिनाको जेल सजाय र २ हजार युआन जरिवाना गरिएको छ। ग्वाङडोङ प्रान्तमा भारतीय औषधिसहित दुई जना पक्राउ परेका थिए। चीनले भारतमा बनेका थुप्रै क्यान्सरका औषधिलाई नक्कली औषधि मान्दैआएको छ।

द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार चीनमा क्यान्सर रोगीको औषधिको वार्षिक मूल्य भारतभन्दा १० गुणा बढी छ। यसैकारण डी–कम्पनीले चिनियाँ समाजमा आवश्यकताको फाइदा उठाइरहेको छ।

भारतीय वरिष्ठ पत्रकार विवेक अग्रवालले ३७ वर्षदेखि मुम्बईको अन्डरवर्ल्ड नियाल्दैआएका छन्। उनले दाऊद इब्राहिम र अन्डरवर्ल्डमा मुनभाई, मुनभाई रिटन्र्स, खेल खल्लासलगायत १५ भन्दा बढी पुस्तक र ई–पुस्तकहरू लेखेका छन्।

भारतीय पत्रिका दैनिक भास्करसँग विवेक भन्छन्, ‘डी–कम्पनीका मानिसहरूले कालो धनलाई सम्पत्तिका रुपमा लगानी गरिरहेका छन्। यसबाहेक भवन भत्काउने नयाँ व्यवसाय पनि छ। पुराना भवनहरूमा ठूलो मात्रामा फलाम, पित्तल, काँसा, काठ र अन्य बहुमूल्य वस्तुहरू हुन्छन्।’

दाऊद ग्याङको नजरमा परेका छन्, मुम्बईका पुराना भवन। बम्बै उच्च अदालतले ४८ वटा भवन भत्काउन आदेश दिएको छ। दाऊदनिकट मानिसहरूले धम्की दिएरै भएपनि भवन भत्काउने ठेक्का आफूहरूले पाइरहेका छन्। उनीहरूले भवन भत्काउँदा पैसा पनि पाउँछन् र सामग्री बजारमा बेच्छन्।

सन् २०१५ मा फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सूचीअनुसार दाऊदको कुल सम्पत्ति ६ सय ७० करोड डलर थियो। दाऊद विश्वका शीर्ष ३ धनाढ्य डनको सूचिमा पर्छन्। ‘अन्डरवर्ल्ड डन’ दाऊदको लगभग ४० प्रतिशत कमाइँ भारतभरि फैलिएका धन्धामा आधारित छ। भारतसहित पाकिस्तान, युएई र बेलायतमा पनि थ्रपै सम्पत्ति छ।

भारतीय गुप्तचर स्रोतबाट प्राप्त जानकारीअनुसार डी–कम्पनीले भारतबाट स्मार्टफोन चोरेर नेपाल,पाकिस्तान र बंगलादेश पठाउँछन्। डी–कम्पनीका व्यक्तिहरूले अहिले पनि आईएसआईमा काम गरिरहेका छन्। उनीहरूले भारतमा सक्रिय आतंकवादी संगठनलाई हतियार आपूर्ति गर्दैआएका छन्।

स्रोतका अनुसार ‘दाऊद ग्याङ’ले नेपाल, बङ्गलादेश, म्यान्मार र भारतीय उत्तर–पूर्वी राज्यको बाटो प्रयोग गरेर तस्करी गरिरहेका छन्।

दाऊदले नेपालमा समेत लगनीको ठूलो सेटअप खडा गरेको दैनिक भास्करले जनाएको छ। ‘मुम्बई प्रहरीलाई दिएको बयानमा छोटा राजनका साथी एजाज लकडावालाले अन्डरवर्ल्ड डन दाऊद इब्राहिम गिरोहले विगत केही वर्षदेखि नेपालमा लगानीकाे ठूलो आधार खडा गरेको बताएका थिए। उनले पाकिस्तानी अधिकारीको इसारामा काठमाडौंदेखि भारतसम्म नक्कली नोटको गिरोह चलाइरहेका छन्,’ पत्रिकाले उल्लेख गरेकाे छ।

प्रकाशित मिति: : 2023-01-25 20:22:00

प्रतिकृया दिनुहोस्