चर्चित गायक तथा अभिनेता यश कुमारको गीति फिल्म सार्वजनिक भएको छ।
पाँच वर्षपछि यश कुमारको नयाँ गीति फिल्म ‘गल्ली’ काठमाडाैँस्थित राइजिङ मलको क्युएफएक्स हलमा प्रिमियर शोमार्फत् सार्वजनिक गरिएको हो।
भिडियोमा ‘तिमीलाई भेट्न त्यो गल्ली धाउदिनँ, विपनी त के कुरा सपनीमा पनि आउदिनँ’ बाेलकाे व्याग्राउण्ड(पृष्ठ) गीत बज्दा हलमा खचाखच भरिएको दर्शक निकै भावुक हुँदै हेरिरहेका थिए। उक्त गीति फिल्म हेरेपछि हास्य कलाकार जीतु नेपालले गीतसँगै फिल्म हेरेकाे जस्ताे लागेकाे र कथामा बेदना, दर्द रहेकाेले भावुक बनाएकाे प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा महानायक राजेश हमालले थप रमाइलाे रौनक बनाएका थिए। उनले ‘वान्स मोर’ भन्दै म्युजिक भिडियो दोहोर्याउन आग्रह गर्दा दर्शकको तालीले हल गुञ्जियो।
भिडियो हेरेपछि हमालले अनुभव साट्दै भने, ‘दुईचोटी हेर्दा पनि पट्टक्कै बोर लागेन। गायक कुमार मेरा सहकर्मी, सहयात्री र सहकलाकार हुन्। उनी जति रोचक कलाकार हुन् त्यति नै बोलीमा मिठास् छ। कुमारले जब कलाकरिता पस्किन्छ, भावनामा डुबेर मनदेखि पस्किन्छ। हामीले पनि मनदेखि सुनिन्छ मनदेखि हेरिन्छ।’
त्यस्तै पत्रकार प्रकाश सुवेदीले कुमारको गीति फिल्मको खुलेर प्रशंसा गर्दै गल्ली गीति भिडियो गल्ली गल्लीमा घन्कियाेस् भन्दै शुभकामना दिए।
यश कुमारले छोटो मनतव्य दिँदै भने,‘गित सुन्ने जमना गयो, हाल गीत हेर्ने प्रचलन चलेकाेले सम्पूर्ण निर्माण टिमले निकै मिहेनत गरेर श्रोतामाझ गीति फिल्म पस्किएका छाैँ। आशा छ, यो गीतले श्रोताकाे मन छुने छ।’
सन १९७८ मा सर्लाहीमा जन्मिएका यश कुमारले नेपाली चलचित्रहरुमा अभिनय तथा निर्देशनसमेत गरेका छन। उनकाे सिर्जनाले जातीय विभेदविरुद्ध आवाज बाेलेकाे हुन्छ। करिब दुई दशकअगाडि उनले गाएका गीतहरूमध्ये ‘मैले छोएको पानी चल्दैन’ र ‘म आफ्नै आँगनमा इनार बनाउँछु’ले गहिरो पहिचान दिएको थियो। उनका गीतहरुमा जातीय भेदभावको पीडा महशुस हुन्छ।
आफ्नै गीत संगीतमा र रचनामा निपुण उनका रोमान्टिक गीतहरूमा माया प्रिती र विछोडको भावना रहेको हुन्छ। करिब १० मिनेट लामो गीति फिल्म आजै युट्युबमार्फत सार्वजनिक गरिएको छ।