संकटमा प्रचण्ड

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले

राष्ट्रपति निर्वाचन जति नजिकिँदै छ उति अप्ठेरोमा परिरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनको पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकले सोमबार ‘पुस १० को सहमतिको परिस्थिति फेरिएको’ निष्कर्ष निकाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन सकेन। तर, उसको सन्देश थियो, ‘एमालेलाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन।’

प्रचण्डबाट ‘जुनसुकै बेला पनि धोखा’ हुन सक्ने बुझेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबारै अर्को कार्ड फ्याँके, ‘एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपति उम्मेदवार।’ ओलीको यो कदमले प्रधानमन्त्री दाहाल झनै संकटमा परेका छन्। एमालेको समर्थनमा नेपाल उम्मेदवार बने कसलाई समर्थन गर्ने ? जब कि सत्ता गठबन्धन नतोडे पनि उनी कांग्रेसतिर निकट भएका छन्।

राष्ट्रपतिको निर्वाचन परिणामले नै प्रचण्ड सत्ताको आयु निर्धारण गर्नेछ। पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदाको सहमति कार्यान्वयन नगरेको भन्दै निर्वाचनपछि ओलीले ‘सत्तापलट’को खेल सुरु गर्न सक्छन्। अर्कोतिर नेपालले साथ छाडे बहुमत टिकाइरहन कठिन हुन्छ। कांग्रेसले राष्ट्रपति नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छ। यसकारण दोसाँधमा देखिएका प्रचण्ड। 

प्रकाशित मिति: : 2023-02-22 14:02:00

प्रतिकृया दिनुहोस्