ए डिभिजन लिग: किन पाएन एन्फाले ‘टाइटल स्पोन्सर’ ?

आजदेखि ४६औँ संस्करणको सहिद स्मारक ए डिभिजन लिग आयोजना हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिग यसपटकदेखि डबल राउन्ड रोविन फरम्यााटमा हुन लागेको हो।

कूल १४ टोलीको सहभागीता रहने उक्त लिग दशरथ रगंशाला, एन्फा कम्लेक्स र च्यासल फुटबल मैदानमा हुनेछ। नेपालमा डिभिजन लिगको खेललाई फुटबलको मेरूदणड मानिन्छ। यसपटक हुन लागेको ए डिभिजन लिगको खेलको मुख्य ‘टाइटल स्पोन्सर’बिना आयोजना हुँदैछ।

वि.स. २०७६ सालमा आयोजना भएको लिगमा मुख्य ‘टाइटल स्पोन्सर’ पल्सर बनेको थियो भने, २०७७ र ०७८ सालमा आयोजना भएको लिगमा कतार एयरवेज ‘टाइटल स्पोन्सर’ बनेको थियो। तर यसपटक भने बिना ‘टाइटल स्पोन्सर’काे लिग आयोजना हुँदैछ।

प्रतियोगिता सुरू भइसक्दा पनि ‘टाइटल स्पोन्सर’नपाउँदा एन्फा यतिखेर समस्यामा परेको छ। एन्फाले टाइटल स्पोन्सर नपाएका कारण कार्ड डिजाइन, विज्ञापन तथा प्रचारप्रसार सामाग्रीलगायत काम रोकिएको छ।

गत वर्ष लिग सञ्चालनको लागि एन्फाले कतार एयरवेजसँग १ करोड ५० लाखको सम्झौता गरेको थियो भने यसपटक एन्फाले कतार एयरवेजलाई २ करोडको प्रस्ताव राखेको छ। लिगको टाइटल स्पोन्सरबारे एन्फामा छलफल भइरहेको एन्फाका प्रवक्ता सुरेश साहले बताए।

'ए डिभिजन लिगको मुख्य टाइटल स्पोन्सरबारे एन्फामा छलफल भइरहेको छ। हामी अहिले यही प्रक्रियामा छौँ' प्रवक्ता साहले बिएल नेपाली सेवासँग भने, 'लिगको मुख्य टाइटल स्पोन्सरको बारेमा एन्फाले पत्राचार गरिरहेको छ, अबको एक/दुई दिनभित्र मुख्य प्रायोजकको टुंगो लाग्छ।'

विगतको दुई वर्षदेखि कतार एयरवेज लिगको मुख्य प्रायोजक बनेको थियो भने यसपटक पनि मुख्य प्रायोजकको रूपमा सम्भवत कतार एयरवेज नै रहने प्रवक्ता साहले बताए।

यसअघि एन्फाले मुख्य प्रायोजकको लागि दुई करोडको टेन्डर आह्वान गरेको थियो। यही सिलसिलामा कतार एयरवेजसँग एन्फाले छलफल गरिरहेको छ। तर, यसअघि एन्फाले आह्वान गरेको टेन्डरमा कोही इच्छुक देखिएका छैनन्। आजबाट सुरु हुने उक्त प्रतियोगिता लामाे समय आयोजना हुने भएपछि मुख्य प्रायोजक नै नपाएर लिगमा केही समस्या नआउने प्रवक्ता साहको भनाई छ।

दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नवप्रवेशी खुमलटार युथ र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेलमा काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) प्रमुख अतिथिकाे रुपमा रहने छन्।

प्रकाशित मिति: : 2023-03-03 14:11:00

प्रतिकृया दिनुहोस्