लोकतन्त्रको दीर्घजीवनप्रति भरोसा

गोरखापत्र

काठमाडौं

घटना १८ असोज २०५८ को हो। तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन गराउन नसकेको बहानामा अपदस्थ गर्ने निर्णय गरेका थिए। पङ्क्तिकार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत थियो। त्यो दिन सम्पादकसमेत नभएकाले समाचारको अन्तिम निर्णयकर्ताका हैसियतले जिम्मेवार भएर समाचार लेख्नुपर्ने र छनोट गर्नुपर्ने दायित्व पनि थियो।

राजाले निर्वाचित प्रधानमन्त्रीलाई संविधानविपरीत अपदस्थ गरेका कारण प्रजातन्त्रमाथि नै आक्रमण भएकाले प्रेस स्वतन्त्रतासमेत हनन् हुनेमा पङ्क्तिकारलाई कुनै सन्देह थिएन। त्यही भएर सबै सहकर्मीलाई जम्मा गराएर परिस्थितिबारे अवगत गराउँंदै कडा समाचार लेखेर भोलिपल्ट पक्राउ हुनुपरे पनि तयार रहन परामर्श गरियो। यो अवस्थामा नेताहरूसँगको सम्बन्धमा पत्रकारको व्यावसायिकता खोज्नुभन्दा प्रजातन्त्र प्रजातन्त्रवादी नेता र पत्रकारको समान स्वार्थको विषय भएकाले उनीहरूसँंग पनि परामर्श गर्नु कर्तव्य ठानेर नेपाली कांग्रेस र एमालेका अधिकांश शीर्ष नेतासँग सम्पर्क गरेको थिएँ– अब कसरी अगाडि बढ्ने भनेर।

सबैको निष्कर्ष राजाले आफूमध्येको दलबाटै प्रधानमन्त्री बनाउने भएकाले अत्तालिनुपर्ने अवस्था नभएको बताएका थिए। रामचन्द्र पौडेलमात्र एउटा यस्ता नेता हुनुहुन्थ्यो, जसले राजाको उक्त कदमको सबैभन्दा कडा शब्दमा निन्दा गर्नुभयो। 

प्रकाशित मिति: : 2023-03-10 17:52:00

प्रतिकृया दिनुहोस्