‘अमेरिकी सपना’का लागि काँडेतार पन्छ्याउँदै आप्रवासी

बिएल संवाददाता

वासिङ्टन डीसी

आप्रवासीलाई लिएर अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा फेरि एकपटक तनाव उत्पन्न भएको छ।

ठूलो संख्यामा आप्रवासीहरूले सीमामा लगाइएको काँडेतार हटाएर अमेरिका प्रवेश गर्ने प्रयास गरे। अमेरिकी सीमा सुरक्षा बल र प्रहरीले तीमध्ये अधिकांशलाई मेक्सिकोको सीमासम्म लखेटे।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आप्रवासीका लागि सुरु गरेको एप सेवाबाट अमेरिका प्रवेश गर्न खोज्ने अधिकांश मानिस आक्रोशित भएका छन्। यो सेवाको प्रक्रिया निकै लामो र थकाइलाग्दो रहेको उनीहरूको गुनासो छ।

समाचार संस्था रोयटर्सका अनुसार सोमबार मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न खोज्नेअधिकांश भेनेजुएलाका नागरिक थिए। ती मानिसहरूले महिनौँदेखि अमेरिकी अधिकारीहरूसँग शरण मागिरहेका छन्।

आप्रवासीहरूले सीमाक्षेत्रमा खडा गरिएका काँडेतारहरू हटाए। प्रहरीले उनीहरूलाई रोक्न खोज्यो। आप्रवासी र अमेरिकी प्रहरीसँग धक्कामुक्का हुँदा स–साना नानीबाबुहरू पनि घाइते भएका छन्। यसक्रममा केही आप्रवासीले सीमा–प्रहरीमाथि आक्रमण गरेका थिए। लगतै, उनीहरूलाई प्रहरीले त्यहाँबाट लखेटिएकाे थियो।

वास्तवमा, केही समयअघि अमेरिकी गृह मन्त्रालयले आप्रवासन चाहनेहरूका लागि एप सेवा सुरु गरेको थियो। एप यस्तो तरिकाले डिजाइन गरिएको छ कि आप्रवासन चाहनेहरूले धेरै समय बिताउनुपर्ने बाध्यता छ।

‘हामीले यो एपमा विश्वास गर्यौं भने हामीलाई अमेरिका पुग्न धेरै वर्ष लाग्नेछ,’ भीडमा रहेकी १८ वर्षीया क्यामिला पेजले भनिन्, ‘बाइडेनले हामीमाथि दया देखाउनुपर्छ। ताकि हामी आफ्नो परिवारको लागि जीविकोपार्जन गर्न सकौँ। अहिले अमेरिकी सीमा सुरक्षा बल र मेक्सिकोले कुनै प्रतिक्रिया दिएका छैनन्। अमेरिकाले हामीलाई सहयोग गर्न सुरु गरेको एप सेवा प्रक्रिया लम्ब्याउनका लागि मात्र हो।’

अमेरिकी बोर्डर पेट्रोल डिपार्टमेन्टका अनुसार सन् २०२२ मा २२ लाख अमेरिका छिर्न खोजिरहेका मानिसलाई पक्राउ गरी तत्काल मेक्सिकोको सीमाबाटै आ–आफ्नो मुलुक फिर्ता पठाइएको थियो।

प्रकाशित मिति: : 2023-03-14 07:43:00

प्रतिकृया दिनुहोस्