‘यौटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्ने नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ को तयारी गर्दै छन्। खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत गरिने उनले जानकारी दिए।

'नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउने छ। यो अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो। आर्थर मिलरद्वारा लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गर्नुभएको हो', निर्देशक बरालले भने।

नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २०औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ। अमेरिकामा सात सयभन्दा बढी पटक मञ्चन भएको यो नाटक विश्वका धेरै देशमा पनि मञ्चन भइसकेको छ।

शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदिभ श्रेष्ठलगायत  कलाकारको अभिनय रहने उक्त नाटक चैत १० गतेदेखि सुरु भएर एक महिनासम्म चल्नेछ।

निर्देशक बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यङ्ग्य गरेको नाटक ‘महाभोज’ मा निर्देशन गरेका थिए। एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन्द पराजुलीले यो नाटक निर्माण गरेका हुन्।

प्रकाशित मिति: : 2023-03-15 16:22:00

प्रतिकृया दिनुहोस्