आइसीसी लिग– २ प्याकअप: करणको ‘ह्याप्पी भ्यालेन्टाइन’देखि युएईको विशाल स्कोर पूरा गर्दासम्म के–के भयो ?

नेपाल आइसीसी विश्वकप लिग– २ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलामा युएईलाई ९ रनले पराजित गर्दै जिम्बाबेमा हुने विश्वकप छनोटमा प्रवेश गरेको छ। नेपाली राष्ट्रिय टोलीको लागि यो सामान्य उपलव्धी होइन। नेपालले अथक प्रयासकाबीच यो गौरवपूर्ण उपलब्धी हासिल गरेको हो। नेपालले लिगका पछिल्ला खेलमा निकै आक्रमक खेल खेल्यो। नेपाल पछिल्ला १२ खेलमध्ये १ खेलमा मात्रै पराजित भयो। यो नेपाली क्रिकेट जगतको लागि एक सुखद क्षण हो।

अनेकौं उत्तरचढावका बाबुजद पनि नेपाल आज एउटा अर्को इतिहास रच्न सफल भएको छ। नेपाललाई एक दिवसीय मान्यता जोगाउनसमेत गाह्रो हुने भनिएका बेला हासिल भएकाे यो सफलता चानचुने होइन। आज नेपाल विश्वकप छनाोट चरणमा पुगेको मात्रै छैन, केही नयाँ कीर्तिमानी बनाउन पनि सफल भएको  छ।

खेलाडीको कीर्तिमान

नेपाली क्रिकेट जगतले एक सुखद सुरुवात गरेको छ। यो सुखद सुरुवातसँगै नेपाली खेलाडीले आफूलाई विश्वसामु परिचित गर्नसमेत सफल भएका छन।

एक/एक गर्दै नेपाली क्रिकेट खेलाडी नयाँ कीर्तीमान कायम गर्न सफल भएका छन्। नेपालका पहिलो पंक्तिका ब्याटस्म्यान आसिफ शेख एकदिवसीय इतिहासमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडीको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । सोमबार पपुवा न्युगिनीसँगविरुद्धको खेलमा उनले मात्रै २१ बलमा अर्धशतक पूरा गरे। नेपालका लागि यसअघि सन २०१८ मा सोमपाल कामीले बनाएको कीर्तिमान थियो।

त्यस्तै नेपालका लेग स्पिनर सन्दीप लामिछाने सन् २०२३ मा विश्वभरका बलरमध्ये धेरै विकेट लिनेमा पहिलो नम्बरमा पुगेका छन्। उनले विगत ८ खेलमा २२ विकेट लिएका छन्। त्यस्तै उनी विश्वकपमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्ने कीर्तिमानको नजिक पुगेका छन्। उनले अफगानिस्तानका राशिद खानको कीर्तिमान तोड्न मात्र १ विकेट बाँकि छ।

यसैगरी कप्तान रोहितकुमार पौडेलले सम्पन्न सिरिजमा ९ अर्धशतक पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्न सफल भएका छन्।

जोगियो नेपालको एकदिवसीय मान्यता

गत आइतबार त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता जोगिएको छ। नेपालले एकदिवसीय मान्यता सन २०२७ कायम सम्म रहने छ ।

एकदिवसीय क्रिकेटमा छैठौं छिट्टो लक्ष्य पूरा गर्न सफल

सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल र पपुवा न्युगिनीबीचको खेल एकदमै रोमाञ्चक बनेको थियो। जहाँ पपुवा न्युगिनीले नेपाललाई मात्रै ९६ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य नेपालले १ विकेट गुमाएर ७.५ ओभरमै भेट्टायो । यो अन्तर्राष्ट्रिय एकदिसवीय क्रिकेटमा छैठौं सबैभन्दा छिटो जीत हो।

नेपाल एकै ओभरमा २६ रन बनाउन सफल

जारी सिरिजमा नेपाल एक ओभरमा २६ रन प्रहार गर्न सफल भएको छ। नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा एकै ओभरमा २६ रन बनाउन सफल भएको हो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले सानदार ब्याटिङ गर्दै २६ बनाउन सफल भएका थिए।

प्रधानमन्त्रीद्वारा जनही दुई लाख पुरस्कार घाेषणा र क्रिकेट मैदानमा उपस्थिति

गत फागुन २ गतेदेखि ७ गतेसम्म घरेलु मैदानमा आयोजना भएको स्कटल्याण्ट, नामिविया र नेपालबीचको त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले शतप्रतिशत जीत निकालेको थियो। यसरी नेपालले क्लिनस्वीप गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख  नगद पुरस्कार दिने घोषणा गरेका थिए। उनले खेलाडीलाई कार्यालयमै बाेलाएर सम्मानसमेत गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड खेलाडीहरूको हौसला बढाउन अन्तिम म्याच सुरू हुनु अघि त्रिवि क्रिकेट मैदान पुगेका थिए । सरकार प्रमुखको यो उपस्थिति खेलाडीका लागि एक प्रेरक क्षण हो। 

शीर्षस्थानको स्कटल्याण्टमाथि नेपालको जीत

सम्पन्न लिग– २ मा शीर्षस्थानमा रहेको स्कटल्याण्डलाई समेत नेपालले पराजित गर्यो। दुई खेल नखेल्दै लिगको शीर्षस्थानमा रहँदै एकदिवसीय विश्वकपको छनाेट चरणमा पुगेको स्कटल्याण्डलाई हराउनु ठूलो उपलव्धी हो ।स्कटल्याण्डसँगको खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण भूमिका खेलेका थिए। जुन जीतले नेपाली खेलाडीको मनोबल उच्च बनाउने क्रम सुरूवात भएको थियो।

नेपालको वरियतामा सुधार

नेपालले सम्पन्न लिगमा उत्कृष्ट प्रदर्शन गरेसँगै वरियता पनि सुधार गरेको छ।

नेपालको एक खेल बाँकी रहँदै आइसीसीले सार्वजनिक गरेको अंकतालिकामा वरियता सुधार भएको छ। १७औँ स्थानमा रहेको नेपाल १६औं स्थानमा उक्लिएको छ।

करण केसीको 'ह्याप्पी भ्यालेटाइन'

नेपाली राष्ट्रिय क्रिकेट जगतका अलराउण्डर करण केसीलाई ‘भ्यालेन्टाइन डे ब्वाइ’ भनिन्छ। सन २०१८ मा क्यानडामाथि नेपालले अकल्पनीय जित निकाल्दा करण केसीले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसयता उनलाई ‘भ्यालेन्टाइन डे ब्वाइ’को नामले पुकारिन्छ।

यसवर्ष पनि त्यस्तै संयोग जुर्यो। भ्यालेन्टाइन डेको दिन घरेलु मैदानमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय प्रतियोगिता अन्तर्गतको खेलमा उनले नामिवियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरे।

गत फागुन २ (फेब्रुअरी १४) गते नामिबियाविरुद्ध करणले ५ विकेट लिएर नेपाललाई विजयी गराउन महत्वपूर्ण भूमिका खेले।

समर्थकको माया र उत्साह

यस श्रृंखलामा नेपाली समर्थकको पनि उत्साहपूर्ण सहभागिता र समर्थन रह्यो। नेपालीहरु खेलप्रति चासाे राख्दैनन् भन्ने भाष्यलाई गलत सावित गर्दै यसपटक घरेलु दर्शक त्रिवि क्रिकेट मैदानमा उल्लेख्य संख्यामा पुगे । नेपालीहरुको क्रिकेटप्रतिको यो क्रेजले भविष्यमा सकारात्मक प्रभाव पार्ने निश्चित छ।

प्रकाशित मिति: : 2023-03-16 22:00:00

प्रतिकृया दिनुहोस्