चाैंथाे जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख ११ गते हुँदै 

चाैंथाे जुम्ला–रारा अल्ट्रा म्याराथन आगामी वैशाख ११ गते हुने भएकाे छ। कर्णालीकाे पर्यटन प्रवर्द्धनकाे लागि जुम्ला रारा–अल्ट्रा म्याराथन आयोजना गरिने भएको हाे। 

जुम्ला सदरमुकाम खलंगा बजारकाे चन्दननाथ मन्दिरबाट सुरू हुने म्याराथन रारातालको छेउ हुटुसम्म ४९ किलोमिटर दूरीमा हुने गरेकाे छ।

आयाेजक संस्था कर्णाली स्पोर्ट्स क्लबले मंगलबार पत्रकार सम्मेलनको गरेर लोकतन्त्र दिवसको अवसरमा जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुने जानकारी दिएको हो।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा टेवा पुग्ने बताए। 

'म्याराथन खलंगादेखि सुरू भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ,' उनले भने, 'याे ४९ किलोमिटर दूरीको म्याराथन हाे भने याे एक सहासिक पर्यटकीय कमद समेत हाे।'

म्याराथनमा विभिन्न विधामा गरेर २८ जना खेलाडीलाई पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ। खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोडबाटै शूल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ। 

विदेशी खेलाडीका लागि ७ हजार र नेपालीका लागि ३ हजार शूल्क तोकिएको छ। अध्यक्ष शाहीका अनुसार संसाभर आयाेजना हुने म्याराथनहरूमा दर्ता शुल्क धेरै हुने भएपनि जुम्ला–रारा अल्ट्रा म्याराथनकाे दर्ता शुल्क निकै सस्ताे छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल धावक हरिबहादुर रोकायाको संरक्षणमा म्याराथन हुन लागेको हो। 

जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने र खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गराई खेल संस्कृतिको विकास र पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गर्न लागिएको धावक रोकायाले बताए।

'हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएका साहसिक खेलकुद प्रतियागिता गर्नेमध्ये जुम्ला पनि एक हाे,' उनले भने, 'खेलकाे माध्यमबाट जुम्ला संसारभर चिनिदैछ। आगामी दिनमा यसकाे निरन्तरता दिन यस्ता खेलकुद प्रतियोगिता भइरहन जरूरी छ।' 

आयाेजक संस्था कर्णाली स्पोर्टस क्लबले यसअघि तीनवटा जुम्ला–रारा अल्ट्रा म्याराथन सम्पन्न गरिसकेकाे छ। हरेक प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा देशभरका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिका लगायत देशका खेलाडीहरू सहभागी भएका थिए। 

यस वर्ष चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनमा झण्डै २ हजार खेलाडी सहभागी गराउने लक्ष्य राखिएको छ।

म्याराथनमा प्रथम हुनेलाई एक लाख रूपैयाँ, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई ७५ हजार नगद, प्रमाणपत्र र मेडल, तृतीय हुनेलाई ५० हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। 

यसैगरी चौथो र पाँचौं हुनेलाई २०/२० हजार, नगद प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक कर्णाली स्पोर्ट्सका अध्यक्ष शाहीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-29 09:13:00

प्रतिकृया दिनुहोस्