नेपाली-अमेरिकी सैनिक संवादको चौथों संस्करण काठमाडौंमा समाप्त

बिएल विशेष संवाददाता

वासिङ्टन डीसी, अमेरिका

नेपाल–अमेरिका ल्यान्ड फोर्स टक भनिने नेपाली र अमेरिकी सेनाबीचको संवादको चौथो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । सोमबार सुरू भएको तीनदिने संवाद बुधबार सम्पन्न भएको हो । संवादको  पाँचौ संस्करण सन् २०२४ को मार्चमा अमेरिकामा गर्ने घोषणा गरिएको छ । 

संवाद मानवीय सहायता, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारलगायतका चार एजेण्डामा छलफल गर्दै पूर्ववत् सहयोगलाई निरन्तरता दिने निस्कर्षमा पुगेको बताइएको छ । 

अमेरिकी सुरक्षा राडरमा परेको नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई केही समययता शंकाको दृष्टिले हेर्न थालिएको छ । नेपाल–अमेरिका ल्यान्ड फोर्स टकको चौथो संस्करणलाई पनि एक पक्षले त्यही कोणबाट हेरेको थियो । यद्यपि, संवादमा सहभागी दुबै पक्षले यो संवाद विशुद्ध मानवीय सहायता, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारलगायतका विषयमा केन्द्रित रहेको प्रष्ट्याएका थिए । 

संवादमा २२ सदस्यीय अमेरिकी टोली र १४  सदस्यीय नेपाली टोली सहभागी थिए । अमेरिकी टोलीको नेतृत्व अमेरिकी सेनाको प्यासिफिक कमान्डका डिपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाली सेनाका उपरथी अशोकराज सिग्देलले गरेका थिए । नेपाली टोलीमा भने रक्षा, अर्थ र परराष्ट्रमन्त्रालयका उच्चअधिकारीको प्रतिनिधिमुलक सहभागिता थियो । 

संवादको समापनपछि अमेरिकी टोली नेता मेजर जनरल स्मिथले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका थिए । भेटमा तालिम सफलतापूर्वक सम्पन्न भएको र यसले दुई देशबीचको सुमधुर सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने विषयमा कुराकानी भएको बताइएको छ ।

यसैगरी मेजर जनरल स्मिथले नेपालका रक्षासचिव किरणराज शर्मासँग पनि शिष्टाचार भेट गरेका थिए । उनीहरूबीचको कुराकानीको  विवरण भने दुबै पक्षले बाहिर ल्याउन चाहेनन् । 

प्रकाशित मिति: : 2023-03-30 01:57:00

प्रतिकृया दिनुहोस्