कोरोना सङ्क्रमण पुष्टिपछि सीमामा कडाइ

दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ। 

भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए। सिमानाका पुलघाटमा भारतबाट फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 

सूचना अधिकारी कार्कीका अनुसार कोरोना पुष्टि भएका उनलाई होम आइसोलेसनमा बस्नेगरी आजै घर पठाइएको छ। भारतमा कोरोना सङ्क्रमण बढ्न थालेको छ। भारतमा मजदुरी गरी घर फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिन थालेको उनले बताए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमामा कडाई गरीएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

नयाँ वर्ष विशु पर्व नजिक आउँदै गरेकाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली पर्व मनाउन घर फर्किने क्रम बढ्दो छ। यसलाई ध्यानमा राख्दै कोरोना परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए।

प्रकाशित मिति: : 2023-04-04 22:20:00

प्रतिकृया दिनुहोस्