लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

बिएल संवाददाता

दोधारा चाँदनी
File Photo
File Photo

सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथाहरूको सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ।

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशन कार्य भइरहेको बताएका छन्। 'यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धानकार्य अघि बढाउने योजना छ', उपकुलपति जोशीले भने, 'लोककथा सङ्कलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ।'

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताए। 'सौका, भोटे, राउटे, मगर र रानाथारू र डगौराथारूका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्', निर्देशक भट्टले भने, 'हामीले सबै कथा स्थानीय भाषा र नेपाली भाषा दुवैमा प्रकाशन गरिरहेका छौँ।'

उनले रानाथारूको लोककथा रानाथारू भाषामा, मगरका कथा मगर भाषामा प्रकाशन हुने बताए। 'दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन्', उनले भने, 'हाम्रो धर्म, संस्कृति रीतिरिवाज हिजो हाम्रो समाज कस्तो थियो कथाका माध्यमबाट के सन्देश दिन खोजेको त्यसको जानकारी मिल्छ।' उनले सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको जानकारी दिएका छन्।

सुदूरपश्चिमका अग्रज साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन अत्यन्तै सकारात्मक रहेको बताएका छन्। 'लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाई चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति नीहित हुन्छन्', लेखकले भने, 'यसले लोकजीवनलाई बुझ्न सहजता हुन्छ।' सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीव्रता दिएको छ।

बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन

बजेट निकासा नहुँदा डडेल्धुरा अस्पताललाई मेडिकल कलेज सञ्चालन हुनसकेको छैन। सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय भए पनि बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति  अम्मराज जोशीले बताएका छन् । 

'मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ भने प्रदेशभरि विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ।' उपकुलपति जोशीले भने, 'मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा नभइसकेकाले सम्माननीय प्रधानमन्त्रीज्यूमा त्यसतर्फ निर्देशनका लागि अनुरोध गर्दछु।' आइतबार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति जोशीले सभामा उपस्थित कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बजेट निकासाका लागि आग्रह गरे।

उहाँका अनुसार आर्थिक वर्ष २०७९÷८० मा विनियोजित रु ४० करोड हालसम्म निकासा हुन नसकेको हो। मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो। 

मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए। दीक्षान्त समारोहमा सहभागी पधानमन्त्री दाहालले डडेल्धुरामा बन्ने मेडिकल कलेजका सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 'डडेल्धुरा मेडिकल कलेज सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ', प्रधानमन्त्री दाहालले भने, 'गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्नेतर्फ सरकार लाग्ने छ।'

प्रकाशित मिति: : 2023-04-11 06:38:00

प्रतिकृया दिनुहोस्