बैशाख १ गतेबाट प्रदर्शनरत आएको सिनेमा ‘जारी’ सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै निर्माताले प्रहरीमा उजुरी दिएका छन्।
निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन्।
हलमा खिचेर ती एकाउन्टबाट सिनेमाका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत निर्माता पोखरेलले माग गरेका छन्।
उपेन्द्र सुब्बा निर्देशित जारीका दृश्यहरु अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हालिएको छ। दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको सिनेमाले अहिले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। सिनेमाका लामा- लामा दृश्य पनि टिकटकमा हालिएको छ।
‘जारी’ ले दुई दिनमा ४ करोड २० लाख बढी कलेक्सन गरिसकेको छ।