प्रकाश सपुतमाथि जेरीको गम्भीर आरोप– आफ्नो कथा हालेर महिलाको चरित्रमाथि प्रहार गर्‍यौ

लोकदोहारी गायिका बबिता बानियाँ (जेरी)ले प्रकाश विक (सपुत)को ‘सकम्बरी’ गीतले महिलाको चरित्रमाथि प्रहार गरेको टिप्पणी गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत गायक सपुतले आफू र आफूनिकट मानिसहरुको कथा हालेर महिलको चरित्रमाथि प्रहार गरेको आरोप लगाइन्।

‘केही अपवाद नभएका पक्कै होइनन तर हामी जस्तो दशकौँ संघर्ष गरेका र थोरै सफलता जस्तो क्षण प्राप्त गरेका नारीलाई सकम्बरी बनाइयो, गीतमार्फत कतै–कतै आफू र आफूनिकटका जस्ताका कथा हालेर पूरै सफल महिलाको चरित्रप्रतिको प्रहार खेद्जनक छ,’ उनले लेखेकी छिन्। उनले जो रिसाए पनि वा खुसी भए पनि वास्तविकता यही भएको दाबी गरिन्।

उनले लेखेकी छिन्,‘३ बजे राति हिँड्ने सबै महिलाले शरीर बेचेर फर्किएका हुँदैनन्।’

उनले महिलाले आफ्नो पसिना, मेहेनत र क्षमता बेचेर रातो स्कुटर र डाइमण्ड क्षमता राख्न सक्ने भएको बताउँदै सपुतलाई कसैले परामर्श दिए हुने भनेकी छिन्।

त्यस्तै उनले रातिमा काम गर्नुलाई पनि नराम्रो तरिकाले व्याख्य गरेको प्रतिक्रिया दिएकी छिन्।

‘डाक्टर नर्स अस्पतालको ड्युटी कसेर आएका हुन सक्छन्, पत्रकार समाचार लेखेर/पढेर आएका हुन सक्छन्,’ उनले लेखेकी छिन्,‘३ बजे राति हिँड्ने सबै महिलाले शरीर बेचेर फर्किएका हुँदैनन्।’

प्रकाशित मिति: : 2023-04-17 13:23:00

प्रतिकृया दिनुहोस्