सिन्धुपाल्चोककाे पवित्र तपोभूमिमा ‘ने-पेमाछाल प्रवर्धन कार्यक्रम’ आयोजना (फाेटाे/भिडियाे)

५औँ औतारी गोचेन टुल्कु साङ-ङग रिन्पोचेकाे ने-पेमाछालकाे भ्रमणले जुगलवासी हर्षित हुँदै वाङ ग्रहण गरे

सुरेन्द्र राना ‘घुमफिरे’

जुगल, सिन्धुपाल्चोक

नयाँ वर्ष २०८० को अवसरमा सिन्धुपाल्चोकको पवित्र तपोभूमि ‘ने-पेमाछाल प्रवर्धन कार्यक्रम’ आयोजना गरिएको छ। ‘समृद्ध जुगलको आधार पर्यटन’ भन्ने नारासहित नयाँ वर्षकाे शुभारम्भसँगै जुगल गाउँपालिका- ३ स्थित ने-पेमाछालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ।

काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमालश्रृङ्खलामा पर्ने ८ वटा हिमालको आधार शिविरको काखमा अवस्थित ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनसहित धार्मिक कार्यक्रम राखिएको हाे।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका- ३ को ३५०० मिटर उचाइमा अवस्थित ने- पेमाछाल उपत्यका एक ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको सुन्दर स्थान हो। गुरु पद्मसम्भवले ध्यान/तपस्या गरेको यस तपोभूमिमा पवित्र ग्रन्थहरु सुरक्षित साथ लुकाइएको विश्वास गरिन्छ।

बौद्ध धर्मग्रन्थमा संसारका १० उत्कृष्ट भूमिमध्ये ने-पेमाछाल पनि उल्लेख गरिएको छ।

गत सनिबार ने-पेमाछालमा ५औं औतारी गोचेन टुल्कु साङ-ङग रिन्पोचेज्यूको उपस्थितिमा सयौँ स्थानीयवासीले वाङ (आशिर्वाद) ग्रहण गरेका (थापेका) थिए।

ग्रन्थमा उल्लेख गरिएको ने-पेमाछालबारे आफूले अध्ययन गरेको र पहिलो पटक यस पवित्र स्थानमा भ्रमण गर्ने अवसर मिलेकोमा अत्यन्त हर्षित भएको रिन्पोचेज्यूले प्रवचनको क्रममा स्थानीयवासी समक्ष बताएका थिए।

नयाँ वर्षको अवसरमा ने–पेमाछालमा प्रवर्धनात्मक कार्यक्रम आयोजना गरिएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए। ‘यो कार्यक्रमले जुगल हिमाल आरोहण एवम् पदमार्गमा पर्ने तपोभूमि ने-पेमाछालको धार्मिक पर्यटन प्रवर्दधनमा समेत टेवा पुग्ने छ,’ अध्यक्ष स्याङ्बोले भने।

ने–पेमाछालमा लामा गुरु र आनीहरूद्वारा विधिपूर्वक बौद्ध धार्मिक परमपराअनुसार पूजा, जिन्लब, डुप्सी, छेवाङ तथा धार्मिक पर्यटन प्रवर्धनका लागि विविध कार्यक्रम गरिएको थियो।

गाउँपालिका परिवारको ऊर्जाशील सक्रियता तथा सम्मानित व्यक्तिहरुलगायत स्थानीयहरुको उत्साहजनक उपस्तिथिले कार्यक्रम भव्य सफल तथा ऐतिहासिक भएको सिन्धु पर्यटन परिषद्का महासचिव तथा पर्यटन अभियान्ता मिलन तामाङले बिएल नेपाली सेवालाई बताए।

ने-पेमाछाल परिसरमा शनिबार वैशाख २ गते आयोजित विशेष कार्यक्रममा निवर्तमान सभामुख अग्नि सापकोटा, सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पाैडेल र अन्य सम्मानित व्यक्तिहरुसहित जुगल गाउँपालिका अध्यक्ष स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठ, वडा- २ का अध्यक्ष चन्द्रकाजी तामाङ, वडा- ४ का प्रेम तामाङ, वडा- ५ का रवीन्द्र घिमिरे, वडा- ६ का टंक तामाङकाे उपस्थित रहेको थियो। कार्यक्रममा वक्ताहरुले बोल्दै ने-पेमाछाललाई विश्वको उत्कृष्ट धार्मिक तथा पर्यटनस्थल बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

जुगल गाउँपालिकाद्वारा आयोजित प्रवर्दधनात्मक कार्यक्रममा गोल्चे, गुम्बा, पाङताङ, बराम्ची, हागाम, तेम्बाथाङ, दिपु, क्याङसिं, बोल्दे, तेगा लगायतका स्थानीयवासीहरुले उत्साहजनक उपस्थित जनाएका थिए। पालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेसहित कर्मचारीहरु, पत्रकार, रत्नराज्य स्कुलका कर्मचारी र स्थानीयवासीहरुले चनौटेबाट नेशेम खोला दोभान, तेम्बाथाङ, दिपु, छिन्ताङ हुँदै तीन दिनको लामो पैदलयात्रामा ने-पेमाछाल पुगेका थिए।

पर्यटन क्षेत्रमा नयाँ गन्तव्य जुगल हिमाल ट्रेक

सिन्धु पर्यटन परिषद्को पहलमा बिगत ५ वर्षदेखि यस क्षेत्रको पर्यटनसँगै जुगल हिमाल आरोहणको सम्भाव्यता अध्ययन, रुट पहिचान तथा पदममार्ग निर्माण लगायत कार्यमा निरन्तर लागिरहेका छन। २०७५ चैत्र २६ गते पहिलोपटक अभियान्ता मिलन तामाङ, सगरमाथा आरोही माया गुरुङसहित सर्मिला थापा पहिलोपटक ६ हजार १ सय ५१ उचाइ रहेको ग्याल्जेन पिकको सफल आरोहण गरेका थिए। अभियानको प्रविधिक नेतृत्व तुलसिङ गुरुङ्गले गरेका थिए।

उनीहरुको टोलीले काठमाडौं, गुम्बो, तेम्बाथाङ, छेन्दाङ, नेपेमासाल, बुम्बाशेर्पु, आधार क्षेत्र, हाइक्याम्प हुँदै जुगलको शिखर पुग्ने रुट निर्धारण गरेकाे थियो।

यो आरोणको सफलतासँगै काठमाडौंबाट नजिक करिब एक सय ४५ किलोमिटर दुरीमा रहेको जुगल हिमश्रृंखला औपचारिक रुपमा पर्यटन क्षेत्रमा कोशेढुंगा साबित भयो। विभिन्न चरणमा गरिएको अध्ययनले जुगल गाउँपालिका वडा नं. ३ को उत्तरी भेगमा रहेको यस हिमश्रृंखलामा दुई दर्जनभन्दा बढी चुचुरा रहेको बताइएको छ।

३५ सय मिटरको उचाइमा रहेको ने-पेमाछाल उपत्यका धार्मिक तथा पर्यटन दृष्टिले महत्वपुर्ण छ। हिमालको काखमा अवस्थित यो स्थल वरिपरि हिमाल र सुन्दर डाँडाले घेरिएको र छेवैबाट बग्ने ब्रह्मयानी खोला क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको पर्यटन अभियान्ता मिलन तामाङ बताउँछन।

‘काठमाडाैँदेखि छोटो दुरीमा पर्ने भएकाेले कम समय र थोरै खर्चमा ट्रेकिङ र हिमाल आरोहण गर्न चाहनेलाई उत्तम गन्तव्य हो,’ जुगल गाउँपालिका- ४ का अध्यक्ष प्रेम तामाङले भने।

ग्याल्जेन पिक आरोहणको सफलतासँगै विश्वभर पर्यटनको क्षेत्रमा यहाँको चर्चा भएकाे हाे। यो सँगै नयाँ गन्तव्य जुगल हिमाल ट्रेक पनि स्थापित भएको छ। करिब एकहप्ता भित्र गर्न सकिने यो पदमार्गमा सुन्दर शेर्पा र तामाङ वस्ती, हिमाली जनजीवनसहित प्राकृतिक सौन्दर्य र हिमालका सुन्दर दृश्यमा पदयात्रीहरुले भरपुर आनन्द लिन सक्ने अफ-द-बिटन ट्रेक हो।

काठमाडौंबाट नजिक भएर पनि ओझेलमा परेकाले पर्यटकीय क्षेत्रमा आरोहण तथा ट्रेकिङ रुट निर्माण र पूर्वाधार विकासमा जुगल गाउँपालिकाले साथ दिइरहेको छ। त्यस्तै प्रदेश सरकार र संघीय सरकारको पनि उत्तिकै भूमिका रहेको छ। सहासिक सँग सँगै धार्मिक पर्यटनमार्फत् जिल्लालाई चिनाउने अभियानमा युवा पर्यटन अभियान्ता मिलन तामाङ, स्थानीय जनप्रतिनिधि प्रेम तामाङलगायतको टिम दशकौदेखि अरोहत्र खटिरहेका छन।

विक्रम संवत् २०७५ सालमा पहिलोपटक ग्याल्जेन हिमाल आरोहणको बाटो खुलेको हो। भर्खरै मात्र जुगलअन्तर्गतका अन्य हिमालसमेत खुला गर्ने सरकारी निर्णयले स्थानीयवासीमा थप उत्साह र खुसी ल्याएको छ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जुगल हिमालअन्तर्गत ‘जुगल– १’ देखि ‘जुगल– ५’ नामकरण भएका थप पाँच चुचुरा आरोहण खुल्ला गर्ने र ५ वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो। काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका हिमाल आरोहण खुला गर्ने निर्णयले सिन्धुपाल्चोकको पर्यटनमा थप टेवा पुग्ने वडा- ४ का अध्यक्ष प्रेम तामाङ बताउँछन।

यही क्षेत्रमा पर्ने छिन्ताङदेखि तिलमान पास हुँदै लाङताङ निस्किने पदयात्रासमेत खुलाउने पहल भइरहेको छ। यहाँबाट पाँच पोखरी हुँदै ग्रेट हिमालयन ट्रेलको पदमार्ग पनि पछ्याउन सकिन्छ।

भिडियाे हेर्नुहाेस्:

प्रकाशित मिति: : 2023-04-18 19:31:00

प्रतिकृया दिनुहोस्