विद्युत विस्तारमा ऊर्जा मन्त्रीकै दाइ बाधक

ठेक्का लिन्छन्, काम गर्दैनन्

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतका दाइ  वीरबहादुर बस्नेत विद्युतीकरणको बाधक बनेकाे पाइएकाे छ। मन्त्री बस्नेतका दाइले हालसम्म लिएका ठेक्का र काम पूरा गर्न सकेका छैनन्।

आर्थिक वर्ष २०७६/०७७ मा विद्युत कार्यालय जाजरकोटबाट लिएकाे ठेक्का हालसम्म अलपत्र पारेका छन्। कार्यालयबाट १८ महिनाभित्र काम सक्ने गरी मन्त्री बस्नेतका दाइले मुक्ति निर्माण सेवाबाट काम सम्झौता गरेका थिए।

शिवालयदेखि नाहडासम्म विद्युत विस्तारको ठेक्का लिएका बस्नेतले हालसम्म काम सम्पन्न नगरेको कार्यालय स्रोतले जनाएको छ। ठेक्का लिएको लामो समय बितिसक्यो। तर, त्यस क्षेत्रमा पनि आयोजनाको ६५ प्रतिशत काम भएको कार्यालयले जनाएको छ। त्यस क्षेत्रका विद्युतीकरणको बाधक नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका वीरबहादुर रहेकाे स्थानीयकाे आराेप छ।

विद्युतीकरणको ठेक्का लिएर अलपत्र पार्ने मुक्ति निर्माण सेवा उनै बस्नेतको कम्पनी हो। बस्नेत माओवादीनिकट किसान महासंघका केन्द्रीय सदस्य छन्। १२ लाख लागतमा कामको जिम्मा लिएका बस्नेतले ४ वर्ष बित्दासमेत काम गरेका छैनन्।

ग्रामीण क्षेत्रको विद्युतीकरण पहिलो प्राथमिकता रहेको भन्दै उनका भाइ मन्त्री शक्ति बस्नेतले चुनाव जितेका थिए। तर भाइको प्राथमिकता दाइले अलपत्र पार्दा कामले गति लिन सकेको छैन। हाल उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री रहेका शक्तिका आफ्नै दाइले ठेक्का अलपत्र पार्दासमेत उनले कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ।

मन्त्रीका दाइ मात्र हाेइन, जिल्लामा साइबाबा एण्ड तारा कन्स्ट्रक्सन खलंगा–२ ले कुशे गाउँपालिकाको पाँचकाटियादेखि खुर्पासमकोटसम्म विद्युत लाइन विस्तारको ठेक्का लिएको पाँच वर्ष बित्यो। कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का लिएको हो। १८ महिनाभित्र काम सम्पन्न गर्ने भन्दै लिएको ठेक्का हालसम्म सम्पन्न भएको छैन।

सोही कम्पनीले लिएको ठेक्का पाँचकाटियादेखि–किट्नी हुँदै नलगाड नगरपालिकाको दल्लीसम्मको भर्खरै बत्ती बालेको छ। यस्तै दल्ली हुँदै बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा विद्युत लाइन विस्तार गर्ने सो ठेक्का यही कन्ट्रक्सनले लिएको थियो। उक्त ठेक्का लिएको चार वर्ष पुगेको छ। कम्पनीले त्यस क्षेत्रमा आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का लिएको हो।

एउटा ठाउँको बत्ती बाल्न सफल भएपनि अन्य सबै ठेक्का अलपत्र रहेको विद्युत कार्यालय जाजरकोटले जनाएको छ। यस क्षेत्रको विद्युत विस्तारको बाधक हुन्, तेजविक्रम शाह। उनी ठेकेदार मात्रै होइनन्, नेपाली कांग्रेस जाजरकोटका उपसभापति हुन्। उनी भेरी नगर पालिका ३ का वडा सदस्यसमेत हुन्।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मै विजयश्वरी निर्माण सेवाले सुवानाउलीदेखि गर्खाकोटसम्म विद्युत लाइन विस्तार गर्ने ठेक्का लियो। तर ठेक्का लिएको चार वर्ष पुगिसक्दा बल्ल काम सम्पन्न गरेको छ। सुवानाउलीदेखि गर्खाकोटसम्म विद्युत लाइन विस्तार सम्पन्न भएको कार्यालयले जनाएको छ। उक्त कामको जिम्मा नेकपा एमालेका नेता गोपाल बटालाले लिएका थिए। बटाला एमाले जिल्ला कमिटी उपाध्यक्ष हुन्। विजयश्वरी निर्माण सेवा भने श्रीमतीको नाममा दर्ता गरेका छन्।

यस्तै मालिका निर्माण सेवा कार्कीगाउँ–७ ले विद्युतीकरणमा बाधक बनेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा छेडागाड नगरपालिकाको मनघाटदेखि सुइयाडासम्म विद्युत लाइन विस्तारका लागि ठेक्का लियो। १८ महिनाभित्र लाइन प्रसारण गरिसक्नुपर्ने भन्दै ठेक्का लिएको निर्माण सेवाले त्यस क्षेत्रमा अहिलेसम्म विद्युत लाइन विस्तार गरेको छैन।

छेडागाड नगरपालिकाको थलहदेखि जुनिचाँदे गाउँपालिकासम्म विद्युत लाइन विस्तार गर्ने ठेक्का लियो। तर त्यहाँ पनि अहिलेसम्म विद्युत लाइन विस्तार भएको छैन। यसरी विद्युत विस्तारको ठेक्का लिएर अलपत्र पार्ने अर्का व्यक्ति हुन्, नेपाली कांग्रेस नेता शान्तबहादुर बस्नेत। उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य छन्।

नेता नै जिल्लाको विद्युतीकरणमा बाधक बनेका प्रतिनिधि घटना मात्रै हुन्। अधिकांश विद्युतीकरणका आयोजना नेताकै निर्माण कम्पनी बाधक बनेको विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ। विद्युतीकरणको ठेक्का लिएका केही कम्पनीले तोकिएको अवधिसम्म आधामात्रै काम गरेकोनेपाल विद्युत प्राधिकरण जाजकोटका प्रमुख अविशेक कुमार कलवारले जानकारी दिए।

राजनीतिक दलको आडमा अलपत्र परेका ठेक्काहरुको काम सुरु भएको उनको भनाइ छ। जिल्लामा विद्युतीकरणका अधिकांश आयोजनाहरु पाँच वर्षअघि नै ठेक्का प्रक्रियामा गएका हुन्। यस्तै ओम सिता एण्ड सप्लायर्सले काम अलपत्र पारेको छ। सप्लायर्सका सञ्चालक ललितराज भण्डारीले जहरगाउँदेखि पैंकसम्म ठेक्का काम सम्पन्न गरेका छैनन्। आ.व. २०७६/०७७ मा ठेक्का लिएका भण्डारीले आयोजना अलपत्र छ।

कुल १२ लाख लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता छ। हालसम्म भण्डारीले ४० प्रतिशत काम भएको कार्यालयले जनाएको छ। जाजरकोट जिल्लामा २४ प्रतिशत विद्युत पहुँच पुगेको छ। जिल्लामा राष्ट्रिय (केन्द्रीय) विद्युत प्रसारण लाइन पुगेको पाँचवर्ष पुग्यो। राष्ट्रिय प्रसारण लाइन पुगेको ५ वर्षमा बितिसक्दा पनि जिल्लामा भने अहिले पनि २४ प्रतिशत विद्युतीकरण भएको छ। विद्युत प्राधिकरण जाजरकोट वितरण केद्रका अनुसार जिल्लाभर ७ हजार परिवारले विद्युतको पहुँचमा पुगेको छ।

प्रकाशित मिति: : 2023-04-20 06:10:00

प्रतिकृया दिनुहोस्