हिमाका दुई स्कुलमा अंग्रेजीमा पढाइ

'हाम्राे स्कुलका लागि आज एउटा खुसीकाे दिन हाे। किनभने स्थानीय सरकारले हाम्राे स्कुलमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेकाे छ। हाम्राे स्कुलमा अंग्रेजी माध्यमबाट पढाइ हुनुपर्छ भन्ने हाम्राे अपेक्षा थियाे। भयाे पनि त्यस्तै।' कालिका आधारभूत विद्यालयमा पाँच कक्षामा अध्ययनरत राेशन सार्कीले खुसी हुँदै अंग्रेजीमा आफ्नाे भनाई राखे।

जुम्लाको हिमा गाउँपालिकाका दुईवटा स्कुलमामा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएकाे छ। शैक्षिक सुधारका लागि अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गरिएकाे गाउँपालिकाले जनाएकाे छ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीकाे घाेषणापत्रमा विश्वव्यापी प्रतिस्पर्धामा उत्रिन अंग्रेजी माध्यमबाट अध्ययन, अध्यापनलाई प्राथमिकता दिने उल्लेख गरिएकाे थियाे।

साेही बमोजिम हिमा गाउँपालिकाको १२औँ गाउँसभाको नीति तथा कार्यक्रममा नमुना परीक्षणका लागि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने नीति अघि सारिएको थियो। उक्त नीति कार्यान्वयन गर्न नमूनाका रुपमा दुईवटा विद्यालयबाट अंग्रेजी माध्यमबाट पढाइ सुरुवात भएका छन्।

१२औँ गाउँसभाको निर्णयलाई कार्यान्वयन गर्नको लागि शैक्षिकसत्र सुरु भएको २१ दिनपछि दुईवटा विद्यालयबाट अंग्रेजी विषयमा पठनपाठनको कार्यको उद्घाटन गरिएकाे थियाे। कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका उपसचिव उमाकान्त अधिकारीले गरेका छन्।

साेही बमोजिम हाललाई दुईवटा विद्यालयमा नमूनाका रुपमा अंग्रेजी माध्यमबाट पठन पाठन संचालन गरिएकाे हिमा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर एकका अध्यक्ष रतन बहादुर शाहीले बताए।

'गाउँपालिका भित्रका २३ वटा सामुदायिक विद्यालय मध्ये दुईवटा आधारभुत विद्यालयबाट अंग्रेजी विषयबाट पढाइ भएको छ,' उनले भने, 'दुई विद्यालयमा सफलता मिले सबै सामुदायिक विद्यालयमा कार्यान्वयन गरिनेछ।'

हिमालाई विश्व समुदायसम्म पुर्याउनलाई अंग्रेजी माध्यम आवश्यक रहेकाे हिमा गाउँपालिका अध्यक्ष शाहीले बताए।

'आज विश्वले माध्यम भाषा अंग्रेजी मानेकाे छ। त्यसैले हिमाका विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने याेजना बनाएका हाैं,' उनले भने, 'हामी यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्नेछौं। विद्यालयमा शैक्षिक अवस्था सुधार गरेर देखाउने लक्ष्य राखिएकाे छ।'

हिमा गाउँपालिका-३ स्थित भैरव आधारभुत विद्यालय जोडिबाडा र वडा नम्बर-१ मा अवस्थित कालिका आधारभुत विद्यालय देयारगाउँबाट नमूनाका रुपमा अंग्रेजी विषयको पठनपाठन गरिएको छ। दुवै विद्यालयमा नर्सरीदेखि कक्षा १ सम्म अंग्रेजी विषयमा पठनपाठन हुनेछ वडाअध्यक्ष शाहीले बताए।

उनका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अंग्रेजी विषयमा कमजोर भएकाले उनीहरुको पढाइमा सुधार गर्न खोजिएको  छ। अहिले अंग्रेजी भाषा बिना केही पनि गर्न सकिने अवस्था छैन। प्रत्येक योजनाबाट दुई प्रतिशत कटौती गरी विद्यालयलाई सहयोग गर्ने याेजना रहेकाे प्रवक्ता शाहीले थपे।

प्रकाशित मिति: : 2023-05-08 15:21:00

प्रतिकृया दिनुहोस्