सङ्घीयता कार्यान्यन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्छः मन्त्री पाण्डे

File photo
File photo

लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्यान्यनको लागि प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने बताएका छन्।

दिगो विकासको अवधारणाहित सरकारले काम गरिरहेको बताउँदै सरकारका प्रवक्ता समेत रहेका उनले नीति नियमभित्र रही आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी वर्तमान सरकार लाग्ने बताए। 

कानुन दिवसको अवसरमा आज बुटवलमा आयोजित कानुन र सुशासन  विषयक साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टोली सहितको मन्त्रिमण्डल सरकार शुक्रबारसम्म विस्तार हुने बताएका हुन्। उनले जनताका काम गर्न सहज हुने गरी एक मन्त्रालय थप गरिने पनि जानकारी दिए।

नेकपा (एमाले)का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आफ्नो दल कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको बताए। उनले प्रदेश सरकार कानुनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउँदै अधुरा ऐन र कानुन निर्माणमा सहयोग गर्ने जानकारी दिए। 

प्रमुख सचेतक चौधरीले आर्थिक सङ्कटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन बिरुद्ध हुने बताए। वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारीका भष्ट्र रहेको देखिएको बताए। उनले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: : 2023-05-09 13:41:00

प्रतिकृया दिनुहोस्