शर्माको एकल चित्रकला प्रदर्शनी

फाइल तस्बिर
फाइल तस्बिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले एकल चित्रकला प्रदर्शनी गरेका छन्। गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार शर्माले ११औँ एकल चित्रकला प्रदर्शनी गरेका हुन्।

गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा गरिएको सो प्रदर्शनीमा शर्माले कोर्नुभएका २७ चित्र राखिएका छन्। यसअघि उनले भारत, जर्मनी, क्यानडा, अफगानिस्तान, डेनमार्क, दक्षिण कोरिया, बङ्गलालगायत देशमा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेका छन्। प्रदर्शनीको कलाप्रेमी तथा चित्रमा रुचि राख्नेहरूले अवलोकन गरेका थिए। 

किसान आर्ट ग्यालरीमा बेला–बेलामा कला, साहित्य तथा संस्कृति संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम हुँदै आएका छन्। कलावती आर्ट काउन्सिल, त्रिवेणी साहित्य प्रतिष्ठान र हामी कलाकार नामक संस्थाको सहयोगमा एकल चित्रकला प्रदर्शनीको आयोजना गरिएको हो।

प्रदर्शनीमा राखिएका ती यस्ता चित्र हुन् जसमाथि पाँच कविले हरेक चित्रमा कविता कोरेका छन्। शर्माका चित्रमा आधारित रहेर साहित्यकार गोविन्दराज विनोदी, गीता त्रिपाठी, सुमन पोखरेल, गोपी सापकोटा र सुदेश सत्यालले कविता कोर्नुभएको छ। 

साझा प्रकाशनले कविता समेटेर ‘इत्थंविध चित्रः इत्थंविध कविता’ सङ्ग्रह प्रकाशन गरेको छ। 'विनोदी सरलाई नभेटेको भए म चित्रकार हुने थिइनँ', शर्माले भने, 'मैले चित्र कोर्थेँ। उहाँले चित्र कोर्नुका साथै कविता पनि लेख्नुहुन्छ। चित्रकारको रचनालाई कविले कसरी हेरेको हुँदोरहेछ भन्ने अनुभव गरौँ न त भनेर अन्यलाई पनि कविता लेख्न लगाएर पुस्तकै तयार गर्यौँ ।' विदेशका विभिन्न ठाउँमा प्रदर्शनी गरेको भए पनि कलामा साहित्य मिसाएर आफ्नै गाउँ–ठाउँमा गरिएको यो प्रदर्शनी उनलाई खास लागेको छ।

कोरोना महामारीका समयमा घरमै थुनिँदा कोरेका धेरै चित्र प्रदर्शनीमा राखिएका शर्माको भनाइ छ। 'यो प्रदर्शनीमा अनुहार देख्न पाउनुहुन्न, मान्छेले काम गरेको भाव देख्न सक्नुहुन्छ', उनले भने। प्रदर्शनीमा जीवन दर्शन, आध्यात्म, प्रकृति, कोरोनाकालमा भएका घटनालाई चित्रमार्फत देखाइएको छ।

प्रकाशित मिति: : 2023-05-12 08:12:00

प्रतिकृया दिनुहोस्