शरणार्थी प्रकरणमा प्रचण्डलाई विदेशीको इशारामा चल्यो भन्नेहरू नै विदेशीका गुलाम हुन्: सुबोध सिर्पाली (भिडियो)

नेकपा (माओवादी केन्द्र)निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालका अध्यक्ष हुन्, सुबोध सिर्पाली। लामो समयदेखि युवाको हक हितकाे लागि काम गरिरहेका उनले माओवादी केन्द्रकाे केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शीर्ष नेताहरुलाई कारबाही गर्न माग राख्दै उनले अहिले जाेडताेडका साथ आवाज उठाइरहेका छन्। उनै सिर्पालीसँग बिएल नेपाली सेवाले शरणार्थी प्रकरणलगायत विषयमा रहेर कुराकानी गरेकाे छ।

प्रस्तुत छ, ध्रुब बस्यालले गरेकाे कुराकानीकाे अंश :


शरणार्थी प्रकरणमा अहिले ठुला माछा पनि च्यापच्याप्तै समातिएका छन्, इतिहासमै पहिलोपटक यति ठुला मान्छेहरु समात्न कसरी सम्भव भयो जस्तो लाग्छ ?

सरकारले इमानदारपूर्वक काम गरे जुनसुकै सरकारले पनि सहज रुपमा सम्भव छ। खास गरेर यो मुद्दा अहिलेको देखिएको मात्र हो, विगत लामो समयको छलफलपछि भुटानी शरणार्थीको धेरै केसहरु समाधान भइसकेका थियो। अहिले आर्थिक प्रलोभन देखाएर नेपाली नागरिकलाई भुटानी बनाएर करोडौं पैसा असुल्ने बिचौलीयाहरुले खुलेर ठगी गरेकाले नेपाली नागरिकलाई अनागरिक बनाउनु राष्ट्रघाती कदम हो। यसरी आर्थिक रुपमा जाे अमेरिका जाने सपना देखेर नक्कली शरणार्थी बन्नु भयाे उहाँहरुलाई आर्थिक रुपमा ठुलो समस्या हो।

यसअघिका सरकारले शरणार्थी प्रकरण थाहा पाएर पनि कारबाहीको इच्छाशक्ति नभएको भने पक्कै हो। अहिले हाम्रो पार्टीका अध्यक्ष कमरेड ‘प्रचण्ड’ प्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधी जो कसैलाई कारबाही गर्नुपर्छ भन्ने निर्णय गरेकाले अहिलेको सरकारले तीव्र रुपमा अगाडि लग्दैछ। पूर्व गृहमन्त्री र अर्का मन्त्रीको फरारसम्मको अवस्था हेर्दा जसरी यो प्रकृतिको उठान भएको छ निष्कर्षमा पुगेरै टुंगिन्छ।

यसमा प्रधानमन्त्री र गृहमन्त्रीको हात छ कि उहाँहरुले खाली जस लिनकाे लागि दौडधुप गरिरहनु भएको छ ?

तपाईंहरुले देखिराख्नु भएकै छ, काम गर्नेहरुले हल्ला गर्दैन। नारायकाजी भन्दा पहिलेका गृहमन्त्रीहरुले विभिन्न स्टन्ड गरे, हल्ला गरे, गफ दिए तर काम भने गरेनन्। अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजकि सञ्जाल ट्वीटरमा निकै एक्टिभ भइरहने लिडर भए पनि एकदिन पनि यो वा त्यो काम गरेँ भनेर प्रचार गर्नुभएन। वास्तविक परिणाम निकाल्नका निम्ती नागरिकहरुको चाहनाअनुसार देशको आमुल विकास गर्ने र भ्रष्टाचारको न्यूनिकरण र अन्त्यका लागि यो सरकार प्रतिबद्धताका साथ अगाडि बढेको छ। चर्चाका लागि होइन, देशको प्रमुख समस्याको चित्रण गरेर समस्या समाधानका लागि काम गरेकाले चर्चा भएको हो।

केही नेताहरु भन्छन् यो विदेशी दबाबमा भइरहेको काम हो, प्रधानमन्त्रीको नियन्त्रणमा छैन, साँच्चै हाे त ?

यो बेकारकाे कुरा हाे। विदेशीको दबाबमा काम गरेको भन्नेहरु नै विदेशीको गुलामी गर्नेहरु हुन्। विदेशी शक्तिबाट परिचालितहरुले यो खालको मिथ्य आरोप लगाएका मात्र हुन्। कुनै स्वार्थ, हस्तक्षेपबिना प्रधानमन्त्रीले गृहमन्त्रीले पेस गरेको योजनालाई तपाईं अगाडि बढ्नुस् मेरो साथ छ भनेर लाग्नुभएको छ।

त्यसैले गृहमन्त्रीज्यूले नेपाल प्रहरीलाई पनि स्वतन्त्र रुपमा काम कारबाही गर्न दोषी नछुटुन् अपराधी कोही पनि नबचुन् भनेर लाग्नु भएको छ। अहिले काम गर्ने शैली र कामबाट देखिएको परिणामले विदेशीको चलखेलका कारण यो काम हुँदैछ भन्ने आरोप लगाउनेहरु आफू परिन्छ कि भन्ने त्रास लागेकाले यस्ता तर्क गरेका हुन्। सरकार आफ्नाे काम कार्यलाई निरन्तरता दिएको छ।

त्यसो भए यो काम प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायाणकाजी श्रेष्ठले गर्दा सम्भव भएको हाे भन्ने ठानेर उहाँहरुलाई धन्यवाद दिँदा हुन्छ ?

हो, वर्तमान सरकार सरकार जस्तो सरकार आएको छ। त्यसैले निकै धन्यावाद दिनु जरुरी छ। आजको दिनमा गरेको काम हेर्दा सम्भव त यस्तो सरकार आउँछ वा आउँदैन इतिहासले साँच्चै ‘प्रचण्ड’ देशको राजनेता हुन भन्ने समेत पुष्टि गरेको छ।

यदि उहाँ राजनेता नै हाे भने उहाँ र आफ्ना नेताहरु जोडिएका भ्रष्टाचारका काण्डका फाइलहरु पनि खोल्नुहोला त ?

मान्छेले आरोप लगाएका मात्र हुन्, माओवादी कुनै भ्रष्टाचारको काण्डमा मुछिएकाे छैन। यदि छन् भने सबै खुल्छन्, खुलाउन जरुरी छ।

तर, अहिले त प्रधानमन्त्री आफ्ना नेताहरुलाई बचाएर एमाले र काँग्रेसका नेताहरुलाई सक्काउने योजनामा काम गरिरहनु भएको छ भन्ने आरोप छ नि ?

यो आरोप मात्र हो। टोपबहादुर सम्पर्कमै छन् भन्दै लुकाउने एमाले त हाम्रो समाजमै छ। संसदमा मुखभरिको जवाफ दिन्छु भन्ने केपी ओली आफ्नाे पार्टीको सचिव तथा सांसद संरक्षण गर्ने एमालेले हामीलाई त्यो आरोप लगाएर सुहाउँदैन। भने, कांग्रेसले पछि के गर्छ थाहा छैन तर तत्काल पूर्व गृहमन्त्री आरोप लाग्ने बित्तिकै राज्यले चालेको कदममा साथ दिएको छ।

माओवादीलाई लगाउने आरोप आरोप मात्र हो, हाेइन भने भ्रष्टाचार गरेको प्रमाणित गरेर नाम सार्वजनिक गर्नुस् सरकार पार्टीले कुनै कदम नचाले पनि वाइसिएल नेपालले तत्काल कारबाहीकाे दायरामा ल्याउने काम गर्छ।

प्रधानमन्त्रीले अन्य दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता बढाइरहनु भएको छ, कतै उहाँले बार्गेनिङ गरिरहेको त होइन नि ?

यस्तो कदापी होइन, प्रधानमन्त्री ‘प्रचण्ड’ले यो विषयमा स्पष्ट पारिसक्नुभएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा लागेकाहरु तत्काल कानुनको कठघरामा ल्याउनुपर्छ भन्दै हुनुहुन्छ। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको भेट संवैधानिक र तत्काल टुङ्याउने विषयमा छलफल भएको हो। यो प्रकरणमा बार्गेनिङका लागि भेट भएको होइन।

अन्त्यमा,  तपाईंले नेतृत्व गरिरहेको वाइसिएल हिजोको तुलनामा अहिले किन सुतिरहेको छ ?

गलत गलत, यो सुतेको भन्ने कुरामा म सहमत छैन। अहिले वाइसिएल नेपालको भूमिका बद्लिएकाे हो तर वर्तमान काम कुराहरुले अब फेरि पुरानै शैलीमा फर्किन बाध्य बनाउँदैछ।

प्रकाशित मिति: : 2023-05-12 21:30:00

प्रतिकृया दिनुहोस्