प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गरेर परराष्ट्रमन्त्रीले तीव्र पारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई लक्षित गरेर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र पारेका छन्।

जेठ तेस्रो साता हुने सम्भावना रहेको भ्रमणलाई लक्षित गरेर उनले पूर्व परराष्ट्रमन्त्रीहरु, पूर्वराजदूतहरु र पूर्व सचिवहरुसँग छलफल तीव्र पारेका हुन्।

परराष्ट्रमन्त्री साउदले शुक्रबार प्रधानमन्त्री प्रचण्डको भ्रमणका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन्।

परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरु सुजाता कोइराला, रघुवीर महासेठ, डा. प्रकाशचन्द्र लोहनी र डा. भेषबहादुर थापा सहभागी थिए।

पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धबारे छलफल भएको पनि बताए।

परराष्ट्रमन्त्री साउदले यसअघि बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग छलफल गरेका थिए। उक्त छलफलमा पूर्वराजदूतद्वय डा. लोकराज बराल, डा. दिनेश भट्टराई तथा पूर्वसचिवहरु दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराईसँग छलफल गरिएको मन्त्री साउदका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-05-19 16:24:00

प्रतिकृया दिनुहोस्