कैलालीमा निर्माण सम्पन्न भएको कभर्डहल बन्द

File photo
File photo

कैलालीको जानकी गाउँपालिका–१ दुर्गौलीमा कभर्डहल निर्माण दुई वर्ष अगाडि सम्पन्न भएको थियो।

विशेषगरी ब्याडमिन्टन खेलाडीलाई लक्षित गरेर निर्माण भएको कभर्डहलमा ब्याडमिन्टनका दुई कोड निर्माण भएका छन्। खेलप्रेमीका लागि बस्ने व्यवस्था पनि छ। सबै सुविधा कभर्डहलमा भित्र छ। निर्माण सम्पन्न भएको कभर्डहल अझै पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन।

तत्कालीन गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीको पालामा भएको महत्वपूर्ण काममध्ये त्यो पनि एक हो। केही समयसम्म सञ्चालनमा आएको कभर्डहल यतिबेला पूर्णरुपमा बन्द भएको छ। गाउँपालिकाले करिब रु दुई करोड लगानी गरेको कभर्डहल प्रयोगविहीन भएपछि स्थानीयले गाउँपालिकाको विरोधसमेत गर्न थालेका छन्। 'करोडौँ लगानी भयो, तर त्यसको सदुपयोग हुन सकेन।

'त्यहाँ लगानी भएको पैसा अन्य खेलकुद मैदान व्यवस्थापनमा खर्च भएको भए गाउँपालिकाभित्रका सबै खेलाडीलाई राम्रो हुन्थ्यो होला', स्थानीय समाजसेवी बपलबहादुर रावत भन्छन्, 'अहिले संरचना छ त्यसको काम छैन, सञ्चालन नभएरै जीर्ण हुने अवस्थामा कभर्डहल पुगेको छ, खेलाडीले पनि कभर्डहलको प्रयोग गर्न पाएका छैनन्।'

कभर्डहल निर्माणका लागि गाउँपालिकाले निर्माण कम्पनीसँग रु एक करोड ८४ लाखमा सम्झौता गरेको थियो. निर्माण कम्पनीले कभर्डहल निर्माण गरेबापत गाउँपालिकाबाट रु एक करोड ८० लाख भुक्तानी लिएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र शाहले बताए। उनका अनुसार कभर्डहलको निर्माण कार्य सम्पन्न भएर २०७८ मङ्सिरमा गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।

'निर्माणका लागि गर्नुपर्ने प्रक्रिया हामीले पूरा गरेपछि त्यसलाई सञ्चालनको प्रक्रियामा लैजाने काम जनप्रतिनिधिले गर्नुपर्ने हो', इञ्जिनियर शाहले भने, 'अहिले प्रयोगविहीन भएको कभर्डहल सञ्चालनमा ल्याउनुपर्छ भन्ने मान्यता हाम्रो पनि हो, अब त्यसका लागि जनप्रतिनिधि लाग्नुभएको होला।' कभर्डहललाई गाउँपालिकाले गाउँसभाको समयमा प्रयोगमा ल्याउने गरेको थियो। गाउँसभा तथा कार्यपालिकाको बैठक पनि पहिले त्यहीँ कभर्डहलमा हुनेगरेको भए पनि अहिले सो क्षेत्रमा होटल सञ्चालन भएपछि त्यहाँ हुने सभा तथा बैठक भाडा तिरेर होटल केन्द्रित पनि भएका छन्।

त्यसले गाउँपालिकाको व्ययभार बढाएको छ भने भएको संरचनाको सदुपयोग हुन सकेको छैन। गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कभर्डहलका विषयमा अध्ययन समिति नै बनेको बताए। उनले संरचनालाई कसरी प्रयोगमा ल्याउने भन्नेबारेमा वडा नं ७ का वडाअध्यक्षको संयोजकत्वमा तीन सदस्यीय समितिले अध्ययन गरिरहेको बताए। 'समितिले अध्ययन गरिरहेको छ, त्यो अध्ययनको प्रतिवेदनमा आएको सुझावअनुसार कभर्डहल व्यवस्थापन हुन्छ', अध्यक्ष चौधरी भन्छन्, 'कभर्डहलकैरुपमा सञ्चालन गर्ने कि अन्य कुनै फरकरुपमा कभर्डहललाई प्रयोगमा लैजाने भन्ने छलफल भइरहेको छ, बरु थप बजेट खर्च गरेर भए पनि आउँदो आर्थिक वर्षमा त्यसलाई कार्यान्वयनमा ल्याउने छौँ।'

कभर्डहलको अध्ययनका लागि बनेको समितिका संयोजक कमल महतोले समितिले काम सुरु नगरेको बताए। उनले कभर्डहलको व्यवस्थापनका लागि खेलाडीसँग समन्वय गरेर सञ्चालनमा ल्याउने कि भनेर सोच बनाएर प्रक्रिया अगाडि नबढेको बताएका हुन्। 'समिति बनेको छ, तर समितिले त्यसको अध्ययन सुरु गरेको छैन, अब केही दिनमा सुरु गर्छौं', संयोजक महतो भन्छन्र, 'सकेसम्म खेलाडीसँग समन्वय गरेर त्यसको संरक्षण र सञ्चालनमा रहनेगरी छलफल चलाउछौँ, त्यो छलफलले एउटा निष्कर्ष निकाल्छ होला।'

प्रकाशित मिति: : 2023-05-20 13:03:00

प्रतिकृया दिनुहोस्