भ्रष्टाचारी जुनसुकै पार्टीको जोसुकै भएपनि कारबाही गरिन्छ: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) आफ्नो गृह जिल्ला गोरखा आइपुगेका छन्।

गृहमन्त्री श्रेष्ठ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारणसभाको समुद्घाटन गर्न गोरखा आपुगेका हुन्।

गृह जिल्ला आपुगेका श्रेष्ठले कार्यक्रम सुरु हुनुअघि कार्यकर्ता भेटघाट गर्दै शान्तिपुर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बताए।

उनले सरकार, सदन र सडक तिन वटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे। सामाजिक न्याय सहितको समृद्धिको लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न गृहमन्त्री श्रेष्ठले अपिल गरे।

गृहमन्त्री श्रेष्ठले जोसुकै भएपनि भ्रष्टाचारीलाई नछाड्ने बताएका छन्। जुनसुकै पार्टीको होस् जोसुकै होस् भ्रष्टाचारीलाई कार्वाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोही नेताकार्यकर्ता दोषी देखिए उनीहरुलाई पनि कार्वाही गरिने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समृद्ध मुलुककाे सपना, सामाजिक, आर्थिक रुपान्तरण सहितकाे समृद्ध नेपालका लागि भ्रष्टाचारको जालाे ताेड्ने अभियानमा सरकार दृढ रहेकाे बताए।

उनले पार्टीभित्र गुट बनाउनु अपराध भएको बताए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सम्पुर्ण नेताकार्यकर्ता एकताबद्ध भएको जिकिर गर्दै श्रेष्ठले भने, 'कोही कसैले गुटबन्दी गरेको छ भने त्यो अपराध हो।'

उहाले नेकपा माओवादी केन्द्र बृहत बाम समाजवादी एकताको पक्षमा रहेको पनि बताए। एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौ श्रेष्ठले भने, 'छिट्टै एकीकृत, क्रान्तिकारी शक्ति निर्माण गर्छौँ।'

प्रकाशित मिति: : 2023-05-21 15:04:00

प्रतिकृया दिनुहोस्