नीति तथा कार्यक्रममा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता छ: जनार्दन शर्मा

फाइल तस्विर
फाइल तस्विर

सांसद जनार्दन शर्माले राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम २०८०/८१ मा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता रहेको भन्दै समर्थन गरेका छन्।

आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले भने, ‘आग्रह र पूर्वाग्रहबाट होइन, यथार्थ धरातलमा टेकेर हेर्ने हो भने यो मार्गदर्शक हो। वर्तमानमा नीतिगत संरचनागत कार्यान्वयनको क्षेत्रमा र प्रतिफलको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आएको छ।’

उनले नीति तथा कार्यक्रम सरकारले तयार गरेको भन्दै आशङ्का गर्ने ठाउँ नभएको दाबीसमेत गरे।

‘नीति तथा कार्यक्रममा सबै योजना समावेश हुने कुरा होइन। तर मूलभूत रूपमा यसले राज्यका अगाडि भएका मुख्य चुनौतीहरूको कसरी सामना गर्ने र कसरी अगाडि बढाउने र के लक्ष्य राख्ने भन्ने राखेको छ,’ उनले भने।

प्रकाशित मिति: : 2023-05-21 20:14:00

प्रतिकृया दिनुहोस्