कोहलीको कीर्तिमानी शतकका बाबजुद बैंगलोर बाहिरियो

बिराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिगबाट बाहिरिएको छ। गएराति भएको खेलमा गुजरात टाइटन्ससँग बैंगलोर ६ विकेटले पराजित भयो। बैंगलोरको हारले मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाएको छ।

बैंगलोरस्थित चिन्नास्वामी स्टेडिममा गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो। बैंगलोरले कोहलीको शतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रनको योगफल बनाएको थियो।

कप्तान फाप डु प्लेसिस २८, ग्लेन म्याक्सवेल ११, माहिपल लोमरोर १ र मिखायल ब्रेसवेल २६ रनमा पभेलियन फर्किएका थिए।

कोहलीले १०१ रनको शतकीय इनिङ्स खेले। जारी आईपीएलमा लगातार दोस्रो खेलमा शतक बनाएका कोहलीले ६१ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरे। नुर अहमदले दुई विकेट लिए। मोहम्मद सामी, रासिद खान र यस दयालले १ - १ विकेट लिए।

जवाफमा गुजरातले १९ ओभर १ बलमा २ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो। गुजरातको जितमा शुभम गिल नायक सावित भए। रिद्धिमान साह १२ र विजय शंकर ५३ रनमा आउट भएका थिए। गिलले अन्तिम समयसम्म क्रिजमा रहँदै ५२ बलमा १ सय ४ रनको योगदान गरे। उनको इनिङ्समा ५ चौका र ८ छक्का समावेश थियो। मोहम्मद सिराजले २ विकेट लिए।

गुजरात शीर्ष स्थानमा रहँदै यसअघिनै प्ले अफ पुगिसकेको थियो। बैंगलोरलाई भने प्ले अफमा पुग्न जित आवश्यक थियो। उसको हारले मुम्बई प्ले अफ पुग्ने चौथो टोली बन्यो। अब पहिलो प्ले अफमा भोलि गुजरात र चेन्नाई सुपर किंग्स तथा एलिमिनेटरमा लखनउ सुपर जाइन्टस र मुम्बई भिड्नेछन्।

प्रकाशित मिति: : 2023-05-22 07:53:00

प्रतिकृया दिनुहोस्