दक्षिण अफगानिस्तानमा दुर्घटना : नौ जनाको मृत्यु, एकतिस घाइते

बिएल संवाददाता

अफगानिस्तान

अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा नौ यात्रुको मृत्यु हुनुका साथै अन्य ३१ जना घाइते भएका छन्।

प्रान्तीय राजधानी कलात शहरमा यात्रुबाहक बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनसँग ठोक्किँदा बालबालिका र महिलासहित नौ जनाको घटनास्थलमै मृत्यु भएको र ३१ जना घाइते भएका प्रान्तीय प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ।

बुधबार साँझ अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा यात्री बोकेको एउटा मिनीबस खाल्डोमा खस्दा २४ जनाको मृत्यु भएको थियोभने सोही दिन बिहान मध्य बामियान प्रान्तमा भएको सडक दुर्घटनामा महिला र बालबालिकासहित १५ जना यात्री घाइते भएका थिए।

यात्राको क्रममा सडक सुरक्षा उपाय नअपनाइने युद्धग्रस्त अफगानिस्तानमा भीडभाड भएका सडकमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा प्रायः गम्भीर प्रकृतिका दुर्घटना हुने गरेका छन्।

प्रकाशित मिति: : 2023-06-09 06:44:00

प्रतिकृया दिनुहोस्