लाेकसेवाकाे तयारी गरिरहेका निरजले नागरिकता नपाएपछि आत्महत्या गरे

निरजका भाइ भन्छन्, ‘दाइले भन्थो हेर, भाइ हाम्रो पनि नागरिकता बन्छ। म सरकारी जागिर खान्छु, अनि तिमीलाई सिए बनाउँछु भन्थो। जे गरे पनि मैले मेरो भाइको लागि गर्ने हो भन्थो। अब दाइले मलाई एक्लै छाडेर गयो, सपना मात्र देखाएरगयो। यस्तो दाइ के काम?’

BreaknLinks
BreaknLinks

वडा कार्यालयले नागरिकताको सिफारिस नगरिदिएपछि मोरङकाे धनपालथान गाउँपालिकाका एक युवकले आत्महत्या गरेका छन्। धनपालथान गाउँपालिका-५ का निरज कुमार झाले वडा कार्यालयले नागरिकताको सिफारिस गर्न नमान्दा जेठ ३० गते पासाे लगाएर आत्महत्या गरेका हुन्।

तीन पुस्तादेखि धनपालथान– ४ कर्सियामा बस्दै आएका निरजका बुबा चन्दनले २०६३ सालमा टोलीमै जन्मसिद्धको नागरिकता बनाएका थिए भने आमासँग वंशज नागरिकता छ। तर निरजले भने वडाबाट नागरिकताको सिफारिस नपाएपछि आत्महत्या गरेका हुन्।

लोकसेवा आयोगको तयारी गर्दै गरेका २२ वर्षीय निरज बुबाआमा दुवैको नागरिकता भएपछि आफ्नो नागरिकता बनाउन वडामा सिफारिस लिन गएका थिए। सुरुमा त वडाले भोलि बन्छ भन्दै निरजलाई फर्काइदियो। भाेलिपल्ट पनि कार्यालय धाए तर सिफारिस पाएनन्।

उनी सिफारिस लिन पटक-पटक वडा कार्यालय र पालिका कार्यालय धाइरहे। तर पालिकाले निरजलाई उल्टै ‘तँ भारतीय होस्, उतै जा’ भन्दै तथानाम भन्यो। स्थानीय तहको यस खालकाे रुष्ट व्यवहार र अनागरिक हुनुको पीडा सहन नसकेर निरजले आत्महत्या गरेको परिवारले बताएकाे छ।

वडा कार्यालयले सिफारिस बनाउन इन्कार गर्दै बेइज्जत गरेपछि निरजले आत्महत्या गरेको मृतकका भाइ ऋतिक झा बताउँछन्। ‘दाइले वडामा पटक-पटक नागरिकताको सिफारिस बनाइदिन आग्रह गरेका थिए। सुरुमा गाउँपालिकाले समेत हुन्छ-हुन्छ भनेर झुलायो। अनि पछि तँ इन्डियन हो, तेरो यहाँ केही काम छैन भन्यो’, उनले भने, ‘थाहा छैन, दाइले के सोच्यो अनि फाँसी लगायो।’

निरज सानैदेखि पढाइमा अब्बल भएकाले बुबा चन्दन झाले बैंकबाट ऋण लिएर भएपनि उनलाई स्नातक तहसम्म पढाए। अनेकौँ दुःख कष्ट सहेर जवान बनाएको छोरोलाई गुमाउँदा निरजका बुबाआमा यतिबेला शोकमा छन्। नागरिकता नपाएकै कारण आफ्नाे छाेराले ज्यान गुमाउनु परेकाे उनीहरूकाे दुखेसाे छ।

निरजले आत्महत्या गरेपछि आफू पनि मर्नु न बाँच्नु भएको चन्दन बताउँछन्। ‘छोरा सानु छँदा अनेकौँ दुःख गरेर हुर्काएँ। ऋण काढेर पढाएँ। बस्ने जग्गा छैन। ऐलानीमा बसिरहेका छौँ। छाेरा एउटा आशको किरण थियो, त्यो पनि गयो, मेरो हालत के हुन्छ? अब म के गर्न सक्छु, मर्न मात्र सक्छु’ उनले दुख व्यक्त गर्दै भने।

निरजले वडाले लामो समयसम्म झुलाएर सिफारिस नदिएको र बेइज्जत गरेकाले आत्महत्या गरेको ऋतिक बताउँछन्। ‘मेरो दाइ त्यस्तो कमजोर मान्छे होइन, जो अरुले गाली गर्दैमा आत्महत्या गरोस्। सबैलाई सधैँ अघि बढ्न हौसला दिइरहन्थे। जन्मेको यहीँ, हुकेको, पढेको यहीँ। सबै काम यहीँ गरेको छ। हामी कसरी भारतीय भयौँ? तर जब राज्यले नै तँ भारतीय होस् भनेपछि कसको मन रुँदैन र?’ उनले भने, ‘पहिला सिफारिस बनाइदिन्छौँ भनेर झुलाउने अनि पछि भारतीय भन्न पाइन्छ?’

राज्यले कि नागरिकता दिनुपर्ने या त नेपाली नागरिक नै होइन भनिदिनुपर्ने निरजका भाइ ऋतिक बताउँछन्। ‘हामीलाई राज्यले एउटा आशामा झुलाएर राख्यो, हामीसँग नागरिकता छैन। कि त पहिला नै हामी तिमीहरुलाई नागरिकता दिदैँनाैँ, तिमीहरुका छोराछोरी नपठाउ भनेको भए हुन्थो। नत्र हामीलाई भेदभाव किन? हामी नेपाली नागरिक होइन रे!, भारतीय भन्छ। हामी कसरी भारतीय नागरिक हौँ। जवाफ चाहियो सरकार।’

निरजले आत्महत्या गर्नुअघि नागरिकता बनाएर सरकारी जागिर याेजना बनाएकाे ऋतिकले बताए। ‘दाजुभाइ मिलेर बाआमालाई खुसी बनाएर राख्ने सोच थियो। दाइले भन्थो हेर, भाइ हाम्रो पनि नागरिकता बन्छ। म सरकारी जागिर खान्छु, अनि तिमीलाई सिए बनाउँछु भन्थो। जे गरेपनि मैले मेरो भाइको लागि गर्ने हो भन्थो। अब दाइले मलाई एक्लै छाडेर गयो, सपना मात्र देखाएरगयो। यस्तो दाइ के काम?’, उनले भावुक हुँदै भने।

घटनाबारे के भन्छन् वडाध्यक्ष?

यता, धनपालथान–४ वडाध्यक्ष श्रीराम चौधरी भने वडाबाट मृतक निरजमाथि कुनै पनि खालेका नराम्राे व्यवहार नभएको बताउँछन्।

‘मृतक निरज झा नागरिकता सिफरिस लिन वडा कार्यालय आउनुभएको हो। तर हामीबाट उनीप्रति त्यस्ता तँ भारतीय हो, तेरो यहाँ केही काम छैन भन्ने अभिव्यक्ति भएको छैन’, उनले भने, ‘हामीले सरकारको नीति नियम रहेर काम गरिरहेको छौँ। उहाँसँगै अरुलाई पनि हामीले राज्यले अर्डर दिनसाथ काम गर्छौँ भनेर सम्झाइ पठाएका हौँ। हामीबाट त्यस्तो कुनै अभद्र व्यवहार भएको छैन।’

प्रकाशित मिति: : 2023-06-21 07:33:00

प्रतिकृया दिनुहोस्