कांग्रेसमा पुस्तान्तरण र रुपान्तरण

ओम आचार्य

विराटनगर
BreaknLinks
BreaknLinks

नेपाली कांग्रेसको १४औं महाधिवेशनदेखि कांग्रेसभित्रका संस्थापन इतर समूहले पार्टीमा पुस्तान्तरण र रुपान्तरणको बहस चलाई रहेका छन्। शेखर कोइराला समूहबाट यो विचारको नेतृत्व गरेका छन्।

कांग्रेसमा अहिले देखिएको विचलन र पार्टीमा छविको स्खलन भएकै कारण यो समूहबाट यो विचार प्रकटीकरण भएको हो। पार्टीमा नीति, विधि विधानमा नचलेको, समूहगत भन्दा एकल नेतृत्व हावी भएकै कारणबाट पनि संस्थापन इतर समूहले पुस्तान्तरण र रुपान्तरणको कुरा राखेको हो। अहिले आएर प्रदेशस्तरीय पार्टीभित्रका साथीहरु पुस्तान्तरण र रुपान्तरणको चर्चा परिचर्चा गर्ने अभियान चलाउँदै छन्।

अहिलेको वर्तमान अवस्थामा नेपाली कांग्रेसको इतिहास नै खराब हुने स्थितिको सृजना पार्टीभित्र कमान्ड र लगाम राख्नेहरुबाट भएको ठहर संस्थापन इतरको भनाइ रहेको छ। देशको मौजुदा राजनीतिक अवस्था र नेपाली कांग्रेसको वर्तमान राजनीतिक अवस्थाले पनि यो पुस्तान्तरण र रुपान्तरणको महत्व र अपरिहार्य देखिएको छ।

अहिले प्रतिनिधिसभाको बनौट र त्यसपछि सरकार निर्माण गरिने प्रकृया जसरी अगाडि बडेको छ, त्यसले लोकतन्त्र र सुशानमा प्रतिकुल असर पारेको छ। अहिले सरकार निर्माण र त्यसलाई जीवित बनाइराख्न गठबन्धनको सरकार जे पनि गर्न तयार देखिएको छ। यसो गरिरहँदा चाहे संविधान संशाेधन गर्नु परोस्, चाहे संविधानविपरीत होस्, चाहे न्याय र कानुनविपरीत नै किन नहोस्, त्यो हदसम्म गठबन्धनको सरकार जान तयार छ। गइरहेको पनि छ। एउटा सरकार कानुन बनाउँछ, अर्को सरकार कानुन हटाउँछ। कानुन जनहितको लागि बन्छ या दलगत राजनीतिको हिसाबले। अहिले देशमा यस्तै प्रवृति मौलाउँदै गएको छ। अझ गठबन्धनको सरकार निर्माणले यस्तो प्रवृति मौलाएको देखिन्छ।

सामाजिक मर्यादाविपरीत, गाउँ समाजको अमनचैन, शान्ति भंग गरेको अवस्थामा सामान्य नागरिकमा पनि वर्तमान संविधानको मौलिक हक अधिकार आकर्षित भएर कानुनको घेराभित्र पर्दछ। तर सरकार र सरकारमा रहेकाहरुमाथि संविधानमा भएका धारा-उपधार, मौलिक हक अधिकारको कुनै पनि दण्डित गर्ने प्रणाली आकर्षित भएको देखिँदैन। यसबाट सुशान भन्ने कुरा हराएको छ।

अहिले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको र यसले देशको छवि अन्तर्राष्ट्रियस्तरमै धुमिल बनाएको छ। देशको प्रमुख राजनीतिक दल र सरकारमा समेत उपस्थित भएका दलहरुकाे याे प्रकरणमा संलग्नता देखिनु लज्जास्पद र भ्रष्टाचारको चरम अवस्था हो भन्नुपर्छ। यसले लोकतन्त्र र सुशासनको लागि राम्रो मानिदैन। यस्ता प्रवृतिका व्याक्तिहरु देशका घाउ हुन्। समयमा नै यस्तो घाउको उपचार गरिहाल्नुपर्छ, अन्यथा यो अरुमा पनि यस्तो प्रवृति संक्रमित हुन सक्छ।

हाल सरकारमा नेपाली कांग्रेस पनि उपस्थित रहेको अवस्था छ। नेकपा एमाले र माओवादी गठबन्धनको सरकार रहँदा पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत दिएको थियाे। एमाले सरकारबाट बाहिरिँदा पनि पुन: विश्वासको मत दिँदै सरकारमा प्रवेश गरेको हुँदा अहिले भइरहेको बेथिति, अनियमितताको जिम्मेवारी पनि राजनीतिक नैतिकताको हिसाबले कांग्रेस पनि जवाफदेही हुनुपर्छ।

नेपाली कांग्रेस भनेको विपी हो भन्ने बुझ्नुपर्छ र विपी विचारलाई जीवन्त राख्न सके कांग्रेस जीवित रहने छ। राजनीतिमा विचार, राजनीतिक धारणा र राजनीतिक संस्कारमा जब विचलन आउँछ, तब त्यो राजनीतिक दल क्रमश: जनताबाट टाढा हुन्छ। त्यस्तो दलमा जनबलको स्खलन हुँदै जान्छ। अहिले कांग्रेसमा त्यही अवस्था छ। कांग्रेसमा जनबल क्रमश: हराउँदैछ। सायद डा. शेखर कोइरालाले यही कारण ‘पार्टी जनताबाट टाढा रहेको’ भनी सन्दर्भ उठाएका हुन्।

हो, यही जनबल हराएको अवस्थामा कांग्रेसको संस्थापन इतर समूहले उठाएको पुस्तान्तरण र रुपान्तरण झन आवश्यक देखिएको छ। यो धारणा र विचार पार्टी स्थापित गराउनु नै कांग्रेसको शुद्धि हो।

पुस्तान्तरण र रुपान्तरण

शेखर कोइराला समूहबाट उठाइरहेको पुस्तान्तरण र रुपान्तरणकाे विषयमा बहस हुनु, राजनीतिक चर्चा परिचर्चा हुन जरुरी छ। अहिले प्रदेशस्तरीय बहस पनि सुरु भएको छ। पुस्तान्तरण आफैँमा राम्रो र उर्जावान शब्द हो। यो पुस्तान्तरण परिवारदेखि संघसंस्था र राज परिवारमा पनि हुँदै आएको छ। तर यो क्रम स्वभाविक र प्राकृतिक हिसाबले आउने गरेको छ।

कहिलेकाहीँ द्वन्द्व र संघर्षबाट पनि पुस्तान्तरण भएको छ। प्रदेशस्तरीय बहस पनि यसैको उदाहरण हो। विशेष गरेर पार्टी सभापतिलाई लक्षित गरेर गरिएको यो अभियान प्रष्ट रुपमा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न गरिएको दबाबमूलक कार्यक्रम हो। पार्टी सभापतिको राजीनामासम्म माग्नु एउटा उदाहरण हो। द्वन्द्व र संघर्षबाट आएको पुस्तान्तरणभन्दा स्वभाविक, सहजपूर्वक भएको पुस्तान्तरण स्वच्छ र फराकिलो हुन्छ। अन्यथा सधैँ एउटा घाउ, मतान्तर र तनाव पार्टीमा रहिरहन्छ।

अर्को कुरा युवा पुस्ता शीर्ष नेताहरुकै छायामा बसेर, छायामा रहेर पुस्तान्तरणको मुद्दा उठाइरहेका छन्। क्षमता र प्रतिभाको विकास छायामा रहनेको कतिसम्म हुन्छ र कति स्वस्थ हुन्छ? कांग्रेसभित्र धेरै यस्ता युवाहरुको उपस्थिति छ। जसले कांग्रेसकाे छवि उज्यालो र चम्किलो र उर्जावान बनाउन सक्षम छन्। कांग्रेस त्यस्ता युवालाई पर्खेर बसेको छ।

०००

रुपान्तरण भनेको के हो? यो विषयको व्याख्या र अर्थसहित आउन संस्थापन इतरलाई जरुरी छ। एउटा कुरा रुपान्तरण भनेको के रुप परिवर्तन हो? अहिले कांग्रेसको रुप परिवर्तन गर्न खोजिएको हो? कांग्रेसको रुप भनेको चार तारा, रुख, राष्ट्र राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै हो। के यही रुप परिवर्तन गर्न खोजिएको हो ? यदि त्यस्तो हो भने त्योभन्दा आत्माघाती काम अर्को केही हुनै सक्दैन। पुस्तान्तरणमा लय मिलाउनलाई नै रुपान्तरण भनिएको हो? होइन भने रुपान्तरण कांग्रेसमा सान्दर्भिक छैन।

अहिले वामशक्तिहरु रुपान्तरणमा लागेका छन्। कहिले नेकपा माओवादी र अहिले समाजवादी मोर्चा भन्दै छन्। जनबल नहुँदा र जनताले नपत्याउँदा पार्टीको नाम परिवर्तन गर्ने र नयाँ रुपमा प्रस्तुत हुने अवस्था छ। जनतासमक्ष पार्टीको नाम र पार्टीको चिन्ह लिएर जाँदा गर्वका साथ भन्न नसक्नेहरुले नै पार्टीमा रुपान्तरण गर्ने हो। कांग्रेसमा त्यो अवस्था छैन र यो रुपान्तरण संस्थापन इतरले उठाएको कुरा आफैँमा आत्मघाती छ।

कहिलेकहीँ आफू जन्मेको स्थानबाट अर्को स्थान स्थानन्तरण गर्ने गरिएको छ। कहिले हिन्दुराष्ट्र हटाएपछि पनि देशमा धर्मान्तरणको कुरा आइरहेको छ। कांग्रेस संस्थापन इतरको रुपान्तरणको कुरा पनि यस्तै प्रवृतिको संकेत हो। कांग्रेसमा शुद्धिकरण हुन जरुरी छ। विधि विधानले चल्न जरुरी छ। चार ताराको अर्थ, राष्ट्र राष्ट्रियता, समाजवाद र लोकतन्त्र यही नै अभिष्ट लक्ष्य ठान्नुपर्छ। यसकाे प्राप्ति त रुपान्तरण हैन, पुस्तान्तरण भएमा आफैँ हुन थाल्छ।

प्रकाशित मिति: : 2023-06-24 12:04:00

प्रतिकृया दिनुहोस्