असार पन्ध्र अर्थात् धान दिवसका अवसरमा शुक्रबार पोखराका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’को एकल कविता वाचन गरिएको छ। स्थानीय पुछारसिटे अभियानले दही चिउरासँगै कविता कार्यक्रम आयोजना गरेर प्रतीकलाई मञ्चमा उभ्याएको हो। कार्यक्रममा प्रतीकले १० वटा कविता सुनाएका थिए।
कविताको रचना गर्भसहित प्रभावशाली ढंगमा उनले कविता वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले प्रतीकका कवितामा सामाजिक यथार्थ र देशप्रेम झल्किएको बतनाएका थिए। पोखराका नयाँ पुराना लेखकहरुका माझमा जोसिएर मजदुर कविले आफ्ना रचना वाचन गरेका थिए। यसअघि वैशाख १८ गते काठमाडौंमा कन्सेप्ट नेपालले उनको पहिलो एकल वाचन कार्यक्रम आयोजना गर्नुका साथै पहिलो कविता संग्रह भुइँमान्छेकाे कविता लोकापर्णसँगै ५१ हजार रुपैयाँसहित सम्मान गरेको थियो।
पोखराको कार्यक्रममा कवि एवम् उपन्यासकार गनेस पौडेलले प्रतीकका २५ हजार रुपैयाँ बराबरका कविता कृति खरिद गरी सम्मानसमेत गरेका थिए। अभियानका सल्लाहकार इश्वरमणी अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए भने अभियानका संयोजक सञ्जिव पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए। कार्यक्रमको सुरुवातमा कवि इन्द्र रानाको बारेमा कन्सेप्ट नेपाल काठमाडाैँकाे तर्फबाट तयार गरेको वृतचित्र प्रदर्शन गरिएको थियो।
जीवनभरि मजदुरी गर्दै आएका कवि प्रतीक ६० वर्षका भए। उनले कहिले सेती नदीका बालुवा चाले, कहिले घर बनाउने ज्यामी काम गरे, गत पुसदेखि भने पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्दै आएका छन्।
आफ्ना रचनामा मजदुरका कथा व्यथा लेख्दै आएका र जीवनभरि मजदुरी गरेकाले जनस्तरबाट उनले 'मजदुर कवि' उपमा पाएका हुन्। काठमाडौंमा एकल कविता वाचन कार्यक्रम गरेपछि नको र्चा चुलिएको छ। उनको उत्साह बढेको छ। उनले पोखरा र दमौलीबाट पनि सम्मान प्राप्त गरिसकेका छन्।