बाल्टिमोरमा गोली चल्दा दुईको मृत्यु, दर्जनौँ घाइते

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

अमेरिकाको बाल्टिमोर शहरमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। 

मेरिल्याण्ड राज्यको ब्रुकलिन नजिकैको एक सडकमा आइतबार राति १२ः३० बजेपछि गोली चलेको सूचना प्रहरीलाई प्राप्त भएको कार्यवाहक प्रहरी आयुक्त रिच वोर्लेले पत्रकार सम्मेलनमा जानकारी दिए। 

वोर्लेले भने, 'अधिकारीहरू आएपछि हामीले गोली लागेर घाइते भएका थुप्रै व्यक्तिहरू फेला पारेका थियौं।'

घटनास्थलमा १८ वर्षीया एक महिलाको शव फेला परेको छ भने २० वर्षीय पुरुषको पनि मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। 

घाइतेको इलाका अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए। 

वोर्लेका अनुसार अधिकारीहरूले शङ्कास्पद व्यक्तिको पहिचान गर्न र गोली चलाउनुको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन्। 

'यो एक कडा प्रबृतिको आपराधिक दृश्य हो, हाम्रा जासुसहरू केही समय यहाँ बसेर यसको अनुसन्धान गर्नेछन्' उनले भने। 

बाल्टिमोरका मेयर ब्रान्डन स्कटले घटनास्थलमा पत्रकारसँग कुरा गर्दै गोली काण्डको निन्दा गरेका छन्। उनले भने, 'यो हुँदै हुन नहुने नितान्त त्रासदीपूर्ण घटना हो।'

स्कटले भने, 'यसले हाम्रो सडकमा अवैध बन्दुकको अत्यधिक प्रसारको प्रभाव र सामना गर्ने आवश्यकतालाई फेरि उजागर गरेको छ। 

‘गन भायलेन्स आर्काइभ (जीभीए)’ का अनुसार सन् २०२२ मा ४४ हजार ३५७ जनाको गोली लागी मृत्यु भएको छ, जसमध्ये २४ हजार ९० जनाले आत्महत्या गरेका हुन्। 

जीभीएका अनुसार आइतबारको सामूहिक गोलीकाण्ड यस वर्ष जानकारीमा आएको ३३७ औँ घटना हो। 

अमेरिकामा चार वा सोभन्दा बढी व्यक्ति गोली लागि घाइते वा मारिएका छन् भने यसलाई सामुहिक गोलीकाण्ड मानिन्छ।

प्रकाशित मिति: : 2023-07-02 20:01:00

प्रतिकृया दिनुहोस्