भेटिएको कथा

BreaknLinks
BreaknLinks

जीवनका भोगाइहरू पनि कस्ता–कस्ता हुँदारहेछन्। कहिलेकाहीँ त लाग्छ, ‘जीवन भोग्नकै लागि मात्र हो।’ यही भएर होला सायद आजका मितिसम्म भोगिँदैछ– जीवनलाई। या भोग्न बाध्य पार्दैछ समय, परिस्थिति वा परिबन्धले। समाजको कठघराभित्र रहेर टोपलिनु, दैनिक क्रियाकलापहरू गर्नु साँच्चिकै कठिन कार्य रहेछ। विगतदेखि वर्तमानसम्म आइपुग्दा भोगेका भोगाइहरूलाई पछाडि फर्केर हेर्दा आफैँलाई अचम्म लाग्ने कस्तो–कस्तो। आफ्ना पदचापहरू बिर्सेर अगाडि बढ्न उद्दत वर्तमान परिवेशभित्रका कलियुगका रावणहरूसँग पैठेजोरी खोज्दै जिन्दगी बिताउनु हाम्रा लागि साँच्चिकै फलामकाे च्यूरा चपाउनु जत्तिकै कठिन कार्य रहेछ।

आज फेरि उसको फोन आएथ्यो, ऊ जसरी आइथी फोनमा त्यसरी नै गइथी। लामो समय समपर्कविहीन भएकी ऊ आउँदा मनभित्र एक किसिमको नौलोपनको महसुस हुन पुगेको छ। ऊ को हो? कहाँबाट कसरी जोडिन आई मेरो जीवनमा? किन बारम्बार फोनमा उसले मेरा विगतका पानाहरू पल्टाउँदै मेरा भोगाइहरू (जुन म आफैँले भुल्नै लागिसकेको छु) एकएक गरी सुनाएर जान्छे। कैयौं पटक उसको परिचय मागेथेँ। उसलाई जान्न लाखौं प्रयास गरेथेँ, तर सफल हुन सकिरहेको थिइनँ र आज पनि सकिनँ। परिचय माग्नलाई सोधिएका हरेक सोधनीको जवाफमा एउटैमात्र वाक्य बोल्छे ऊ ‘म रुपा’।

आज विगतभन्दा भिन्दै तरिकाले प्रस्तुत भएकी छे रुपा। अघिल्ला पलहरू कम बोल्ने ऊ आज निकै बोलेर गइ। मलाई बोल्नै नदिएर गई। ऊ भन्दै थिइ, ‘आज मलाई बोल्न दिनुहोस्, सायद अब धेरै दिन बोल्न पाउँदिन होला। मलाई लाग्छ मेरो बचाइ अब धेरै दिन छैन। डाक्टरका अनुसार त्यस्तै १२–१५ दिन जति बाँचुँला म, यो अवधिमा मैले धेरै बोल्नुछ।’ उसले यसो भनिरहँदा मन एकतमासको भइसकेको छ। ऊ निरन्तर बोल्दैछे। रोकिन मानेकी छैन। उसले बोलेका वाक्यांशहरू सुन्ने सामर्थ्य हराउँदै गइरहेको छ ममा। एकमनले भन्छ फोन काटिदिउँ, अहँ! त्यसो गर्न पनि सक्दिनँ। विचरी १२–१५ दिनपछि यो संसार छोड्ने कुरा गर्दैछे। जान्न मन लाग्छ उसको बारेमा। हुन त यसो गर्न विगतमा पनि धेरै कोसिस गरिएथ्यो। तर, सफल हुन सकिरहेको थिइनँ र पनि आज पुनः उसको बारेमा जानकारी लिन खोज्छु।

‘आखिर को हौ तिमी? किन मलाई आफ्नो परिचय लुकाउँछ्यौ? आखिर के चाहन्छ्यौ मसँग? तिम्रो भनाइअनुसार अब धेरै दिन नबाँच्ने तिमी मलाई आफ्नो परिचय नदिएरै जाने भयौ त? ठिकै छ, तिमीलाई मसँग परिचय लुकाउन मन छ भने लुकाउ। यसमा मेरो कुनै गुनासो रहने छैन।’ मेरो भनाइपछि लामो स्वास फेरेर बोलेकी थिई ऊ। यो सब मेरो भाग्यमा रहेनछ। म को हुँ? कहाँ छु? कुन हालतमा छु? यसको बारेमा जानकारी लिएर आफैँलाई कमजोर बनाउने काम नगर्नु होला। म तपाईंंलाई दुःखी बनाउन चाहँदिन। उसको यो भनाइले मलाई धेरै मर्माहत बनाउँछ। भित्र कता–कता घोचेको महसुस हुन्छ र पनि सम्हालिने प्रयास गर्दै भन्छु। ‘अझै कति लुकाउँछ्यौ। यति त भनिसक्यौ, अब के नै बाँकी छ र। कृपया योभन्दा धेरै नलुकाउ, लुकाउने कोशिस गर्दै नगर’ मेरो लाखौं प्रयासपछि ऊ आफ्नो परिचयको पेटारो फुकाउन तयार हुन्छे।

‘म अरु कोही नभएर तपाईंंकी सरु हुँ। जसको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षा अध्ययनका लागि बिदाइ गर्नुभएको थियो तपाईंले। हो म त्यही सरु हुँ। म किन, कसरी यो हालतमा आइपुगेँ, यसको बारेमा स्वयं मलाई पनि थाहा छैन। जब तपाईंसँग बिदाइ भएर तपाईंका सपना साकार पार्ने महान लक्ष्य लिएर आफ्ना गर्विला पाइलाहरू अगाडि बढाएकी थिएँ। यहाँ आएपछि म दिनरात मेहनेत गरी पढ्दै थिएँ। दिनरात अध्ययनलाई अगाडि बढाइरहेकी थिएँ। मेरा अगाडि उही सपना थियो, उही कल्पना अनि उही चाहना। म देखाउन चाहन्थेँ हजुरलाई ठूलो मान्छे बनेर, अनि पूरा गर्न चाहन्थेँ हजुरको सपना। अनायास एकदिन म एकाएक बेहोस भएछु, कक्षा कोठामै। साथीहरूले अस्पताल पुर्‍याउनुभएछ। ब्युँझँदा अस्पतालको बेडमा थिएँ। केही क्षणपछि डाक्टर आएर भन्दै हुनुहुन्थ्यो, ‘नानु तिमीलाई ब्रेनट्यूमर भएको छ।’ यो सुन्दा मलाई कस्तो भयो होला? कल्पना गर्नुहोस् त! त्यस दिनको घटनापछि म हराउँदै गएँ आफैँभित्र। भुल्दै गएँ सारा दुनियाँलाई। आफ्ना लक्ष्य अनि चाहनाहरूलाई। यो कुरा मैले पहिले नै तपाईंलाई भन्न धेरै कोशिस गरेँ। तर, कहिल्यै सकिनँ। यसरी मृत्युको पर्खाइमा बसिरहेकी थिएँ। एकदिन रमा आइथी भेट्नलाई। उससँग सुनेथेँ तपाईंको बारेमा, उसले धेरै कुरा गरेकी थिई। यो सुन्दा असाध्यै नरमाइलो लागेथ्यो। तर, के गर्ने मन बुझाउनु नै ठूलो कुरा रहेछ, र त मन बुझाएकी छु, मेरो भाग्य यस्तै रहेछ भनेर। ठीकै छ, अब कति दिन पो बाँचिएला र। त्यस्तै १२–१५ दिन त हो नि। मैले जीवनमा धेरै रहर पूरा गरेँ। एउटा रहर कहिल्यै पूरा भएन, अब त झन् के पो पूरा गर्न पाउँला र!’

उसलाई बीचैमा रोकेर भनेँ, ‘सरु भन के छन् तिम्रा रहरहरू, जिन्दगीभरि साथ दिन नसके पनि बाँकी रहेको तिम्रो एउटा रहर म जसरी भएपनि पूरा गर्ने कोशिस गर्नेछु। जसका लागि म जस्तोसुकै बलिदानी दिन पनि पछाडि पर्नेछैन। भन, सरु के चाहन्छ्यौ मबाट? तिमी यो हालतमा आइपुग्दासमेत किन भनिनौ मसँग।’

‘धेरै कोशिस गरेँ। तर, किन–किन भन्नै सकिनँ। अब म बाँच्ने दिन पनि त्यति छैन, त्यसैले आज भन्दैछु। यो बीचमा सक्नुहुन्छ भने एकपटक भेट्ने प्रयास गर्नुहोला। मलाई लाग्छ, तपाईं विना मेरो प्राण जाँदैन होला। किन-किन हिजोआज लाग्दैछ, ‘तपाईंको काखमा मर्ने मेरो सपना पूरा हुँदैन होला।’ यति भनिरहँदा उसको आवाज मलिन हुँदै गइरहेको थियो। जवरजस्ती हिक्का रोक्ने प्रयासमा थिई ऊ। त्यस्तैमा एकाएक फोन सम्पर्क विच्छेद हुन्छ। यताबाट कलव्याक गर्छु। फोनमा अर्को नौलो मान्छे बोल्छ, ‘उहाँ त जानुभयो।’

उसँगको सम्पर्क विच्छेदपछि मनभित्र विभिन्न कुराहरू खेल्न सुरु गर्छन्। विगत सम्झन्छु, डाक्टर बन्ने सपना मनभरि संगालेर राजधानी छिरेकी विचरी! मृत्यु शैयाबाटै जिन्दगीको हिसाबकिताब खोज्दैछे। उसका कुरा सुनेर म छाँगाबाट खसेजस्तो भएँ। धेरै समय हराएकी मेरी सरुलाई ब्रेनट्यूमर अनि अबको १२–१५ दिनपछि उसको...रे। अहँ! म कल्पना गर्न पनि सक्दिनँ यस्तो कुरा। उसलाई के थाहा, म उसको सामू किन जान सक्दिनँ, किन जान दिँदैन उसको परिवारले मलाई उसको समिपमा। किन रोक्ने प्रयास गरिन्छ– मेरा पदचापहरूलाई? मैले कहिल्यै उसलाई यी कुराहरू भन्न सकिनँ। यथार्थता बताउन सकिनँ, या चाहँदाचाहँदै भन्ने समय कुर्दाकुर्दै त्यो समय कहिल्यै आइदिएन मेरा लागि।

सरु, तिमी सुनौलो भविष्यको खोजी गर्दै राजधानी छिरेपछि तिम्रो परिवारले तिमीबाट मलाई टाढा बनाउन बिछ्याइएको जालमा एकदिन म फसेरै छाडेँ। पत्थरजस्तो मुटु भएको तिम्रो परिवारलाई के थाहा मायाको परिभाषा, माया के हो? यसको महत्व के कति छ? यी यावत कुराहरूलाई बुझ्न त कोमल हृदय हुनु आवस्यक छ हैन र? जुन तिम्रो परिवारका सदस्यहरूबाट कल्पना गर्नु मुर्खता सिवाय अरु केही पनि हुन सक्दैन। सरु, सुन्न चाहन्छ्यौ तिमी उता गएपछि के गर्‍यो तिम्रो परिवारले? हुन त यो सुनाएर तिमीलाई झन् कमजोर बनाउने मनसुवा मेरो होइन। तर, पनि मैले अब भन्नैपर्छ नत्र तिम्रो नजरमा म बेइमान ठहरिन्छु।

सरु, मैले कल्पनासम्म पनि गरेको थिइनँ तिम्रा दाजुहरू यतिसम्म पतित छन् भनेर। एकदिन मध्यरातमा तिम्रा दाजुहरू मेरो घर प्रवेश गरेर मेरै सामुन्ने दिदीको इज्जत लुट्ने प्रयास गरे, म तिम्रो जीवनदेखि टाढा नभएमा दिदीको सतित्व लुट्नुका साथै परिवारलाई एकचिहान बनाइदिने धम्की दिए। सरु, त्यो पल मलाई कस्तो भयो होला? कल्पना गर त। निर्वस्त्र दिदीले अश्रुहरूका बीचबाट आफ्नो सतित्वको भिख मागिरहँदा मलाई कस्तो भयो होला? सुनेको थिएँ ‘मायाका अगाडि कसैको केही पनि लाग्दैन’। तर मैले हारेँ सरु, दिदीको सतित्व बचाउनका निम्ति, परिवारका सदस्यहरूको बाँच्ने चाहना पूरा गर्नका लागि बरु आफैँ जल्न चाहेँ तिम्रो सम्झनामा। त्यसैले मैले तिम्रो जीवनदेखि चाढा भइदिने बचन दिएँ तिम्रो दाजुलाई। हुन त मलाई चाहा छ सरु यो मेरो निर्णयले तिमी साह्रै दुःखीत छ्यौ। तर सरु हिजो जे भए पनि म सक्दिनँ तिमीलाई त्यो हालतमा छोड्न। आफ्नो पारिवारिक खुसीका लागि हिजो तिमीसँग खाएका वाचाहरू लत्याउन सक्दिनँ। त्यसैले जीवनभर तिमीलाई साथ दिन नसके पनि तिम्रो एकमात्र भएको इच्छा पूरा गर्न अवस्य पनि आउनेछु। सरु, मलाई पर्खी बस है!

उपसंहार

कथा अपरिचित, पात्र पनि अपरिचित। भोक्ता नभई वक्ता हुँ म। जान्दिनँ ‘सरु–म’ को हुन्? जान्दिनँ इलाका र हुलिया पनि। नढाँटी भनूँ कथा मेरो नभई भेटिएको हो।

प्रिय पाठक! अनुमति नमागी छाप्नु या छापिनू अपराध हुन्छ? थाहा छैन मलाई। अनभिज्ञ छु म। बस् यत्ति थाहा छ–आजदेखि खुलेर निदाउँछु म।

टीकाबहादुर बस्नेतः tikabasnet@gmail.com

प्रकाशित मिति: : 2023-07-09 20:20:00

प्रतिकृया दिनुहोस्